Logo

उर्जा क्षेत्रमा स्वदेशी लगानीकर्ताको आकर्षण उच्च, छ महिनामा ८९ अर्बको लगानी प्रतिवद्धता

उर्जा क्षेत्रमा स्वदेशी लगानीकर्ताको आकर्षण उच्च, छ महिनामा ८९ अर्बको लगानी प्रतिवद्धता



काठमाडौं । बजार र प्रतिफलका हिसाबले अवसरका रुपमा रहेको नेपालको उर्जा क्षेत्रमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । चालू आर्थिक बर्षको ६ महिना अर्थात गत साउनदेखि पुस मसान्तसम्म नेपालमा उर्जा क्षेत्रमा मात्रै ८९ अर्ब रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २७ उर्जामुलक परियोजनामार्फत उक्त स्वदेशी लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा उर्जामुलक क्षेत्रमा आएको लगानी यस अवधिसम्म आएको कुल स्वदेशी लगानीको झण्डै ६४ प्रतिशत हो । अर्थात चालू आवको पहिलो ६ महिनामा नेपालमा कुल १ खर्ब ३९ अर्ब २७ करोड १९ लाख रुपैयाँ बराबरको स्वदेशी लगानी स्वीकृत भएको छ ।

यस अवधिमा नेपालमा प्रस्तावित स्वदेशी लगानीमध्ये सबैभन्दा बढी लगानी प्रस्ताव उर्जा क्षेत्रमा आएपनि अन्य क्षेत्रमा भने छिटफुट आएको विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार चालू आवको साउनदेखि पुस मसान्तसम्म पर्यटन क्षेत्रमा १८ अर्ब ९२ करोड रुपैयाँ लगानी प्रतिवद्धता आउँदा उत्पादनमुलक क्षेत्रमा १५ अर्ब ९० करोड रुपैयाँ बढीको लगानी स्वीकृत भएको छ ।

यस्तै सेवामुलक क्षेत्रमा १४ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा कृषि क्षेत्रमा भने जम्मा ४८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । चालू आवको ६ महिनामा प्रस्ताव गरिएका कुल १ सय ४५ परियोजनामार्फत ९ हजार ८ सय १६ जनाले रोजगारी पाउने बताईएको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा भने नेपालमा उर्जा क्षेत्रमा मात्रै १ खर्ब १ अर्ब ५८ करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको थियो । यस क्षेत्रका २३ परियोजनाबाट आएको उक्त लगानीमार्फत ८ सय ७२ जनाले रोजगारी पाउने बताइएको थियो । तर, यो बर्ष भने उक्त लगानी प्रतिवद्धतामा ह्रास आएको छ । चालू आर्थिक बर्ष समग्र लगानीमै गिरावट आएपछि क्षेत्रगत लगानी पनि घटेको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् ।

पछिल्लो समय महंगी, बैंकको उच्च ब्याजदरलगायतका कुराहरुले लगानीकर्तालाई नै मारमा पारेपछि यो बर्ष समग्र लगानीमै गत आवको तुलनामा झण्डै ५१ अर्बले घटेको छ ।

यसरी समग्र लगानी घट्दा उर्जामुलक क्षेत्रमा पनि यो आर्थिक बर्ष गत आवको सोही अवधिको तुलनामा करिव १० अर्ब रुपैयाँको गिरावट आएको उनले बताए । यता उद्योगी व्यवसायीहरु पनि बैंकको ब्याजदर उच्च भएको भन्दै धेरै क्षेत्रमा लगानी रोकिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL