Logo

आन्तरिक रेमिटान्स कारोबारमा रोक, रेमिट कम्पनीलाई विदेश केन्द्रित हुन राष्ट्र बैंकको निर्देशन

आन्तरिक रेमिटान्स कारोबारमा रोक, रेमिट कम्पनीलाई विदेश केन्द्रित हुन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट कारोबारमा रोक लगाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकिकृत निर्देशन २०७९ जारी गर्दै रेमिट कम्पनीहरुलाई देशभित्र रेमिट कारोबार गर्न रोक लगाएको हो ।

laxmi

रेमिट कम्पनीहरुले विप्रेषण नियमावली अन्तरगत लाइसेन्स लिएको उक्त व्यवस्थाअनुरुप विदेशबाट नेपालमा रेमिटान्स भित्र्याउने काम गर्नुपर्ने नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । ‘रेमिट कम्पनीहरुलाई आफ्नो लक्ष्य अनुरुप विदेशबाट नेपालमा रेमिट भित्र्याउन केन्द्रित गराउन आन्तरिक रेमिट कारोबारलाई बन्द गरेका हौं,’ उनले भने, ‘राष्ट्र बैंकको सो व्यवस्थाले गर्दा रेमिट कम्पनी विदेशमा मात्रै केन्द्रित हुन पाउँदा देशमा भित्र्ने रेमिटान्सको आकार अझै बढ्ने छ ।’

यसअघि राष्ट्र बैंकले आन्तरिक रेमिटान्स कारोबारमा हुण्डीको व्यापार बढेको आशंकामा प्रति कारोबार १ लाख रुपैयाँको सीमालाई घटाएर २५ हजार रुपैयाँमा झारेको थियो । तर अहिले आन्तरिक कारोवारका लागि विभिन्न खालका डिजिटल प्लेटफर्म आएको भन्दै राष्ट्र बैंकले त्यस्तो रेमिट कारोबारलाई बन्द गरिदिएको हो । ‘अहिले हरेक स्थानीय तहमा बैंक वित्तीय संस्था पुगिसकेका छन् भने नेपालभित्रै पैसा ट्रान्सफर गर्नका लागि इन्टरनेट बैंकिङदेखि कनेक्ट आईपीएस, विभिन्न वालेटहरु संचालनमा छन्,’ उनले भने, ‘तसर्थ सम्बद्ध रेमिट कम्पनीलाई आफ्नो उद्देश्य अनुरुप काम गर्नका लागि आन्तरिक रेमिटान्स कारोबारमा रोक लगाईएको हो ।’

यसअघि राष्ट्र बैंकले विभिन्न अनुसन्धानका आधारमा आन्तरिक रुपमा रेमिटान्स कम्पनीमार्फत आदनप्रदान गरिने रकम नेपालभित्रै लगानीभन्दा पनि हुण्डीमार्फत बाहिरिने गरेको जानकारी दिएको थियो । पछिल्लो समय त्यसरी अन्तरिकरुपमा रेमिटान्समार्फत पठाइने रकमले अनौपचारिक अर्थतन्त्रलाई बढी सहयोग गरेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL