Logo

कच्चा तेलको मूल्यमा अक्टोबरयताकै उच्च वृद्धि, नेपालमा फेरि बढला पेट्रोल–डिजेलको मूल्य ?

कच्चा तेलको मूल्यमा अक्टोबरयताकै उच्च वृद्धि, नेपालमा फेरि बढला पेट्रोल–डिजेलको मूल्य ?



काठमाडौं । अन्तराष्ट्रिय बजारमा आज (सोमबार) प्रारम्भिक व्यापारमा कच्चा तेलको मूल्यमा हल्का गिरावट आएको छ । तर, गत साता मूल्य आठ प्रतिशतले बढेको थियो जुन यो अक्टोबरयता तेलको मूल्यमा भएको सबैभन्दा ठूलो साप्ताहिक वृद्धि हो । चीनमा फेरि एकपटक माग बढ्ने अनुमानसँगै तेलको मूल्यमा उछाल आएको हो । त्यहाँ कोरोनासँग सम्बन्धित अधिकांश प्रतिबन्धहरू हटाइएको छ ।

अमेरिकी सरकारले आगामी वर्ष विश्वमा पेट्रोलियम पदार्थको खपत रेकर्ड स्तरमा पुग्न सक्ने प्रक्षेपण गरेको छ । योसँगै डलर पनि सात महिनायताकै न्यून विन्दुमा पुगेको छ । यसअघि चीनले तीन वर्षपछि नाका खोलेको खबर आएको थियो । यी सबै कारणले गर्दा एक हप्तादेखि कच्चा तेलको मूल्यमा वृद्धि देखिएको छ ।

चीन विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो । यससँगै अमेरिकी फेड रिजर्भको मनोवृत्ति पनि ब्याजदरमा नरम हुन थालेको छ । यी कारणहरूले गर्दा कच्चा तेलको मूल्यमा उछाल आएको छ ।

हालै कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ७५ डलरमा झरेको थियो । जसका कारण छिट्टै पेट्रोल र डिजेलको मूल्य घट्ने अनुमान गरिएको थियो । तर, अन्तर्राष्ट्रिय स्तरमा एकपटक फेरि कच्चा तेलको मूल्य बढ्न थालेको छ

युक्रेन युद्ध सुरु भएपछि गत वर्ष मार्चमा प्रति ब्यारेल १ सय ३९ डलर पुगेको थियो, जुन सन् २००८ यताकै उच्च स्तर थियो । त्यस पछि यो ७५ डलरको आसपास आयो तर, गत हप्ता तेलको मूल्यमा उछाल आयो । डिसेम्बरमा चीनको आयात चार प्रतिशतले बढेको छ ।

ब्रेन्ट क्रुड र यूएस वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड (डब्लुटीआइ) को मूल्यमा सोमबार प्रारम्भिक व्यापारमा थोरै गिरावट देखिएको छ । ब्रेन्ट फ्युचर १२ सेन्टले झरेर ८५.१६ डलर प्रति ब्यारेलमा छ भने डब्ल्यूटीआई पनि १३ सेन्टले घटेर ७९.७३ डलरमा झरेको छ ।

नेपालमा के छ मूल्य ?

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर उतारचढाव आइरहेपनि नेपालमा भने त्यसको तात्कालिक असर देखिने गरेको छैन् । भारतसँग प्रशोधित इन्धन खरीद गर्ने भएकाले नेपालमा इन्धनको मूल्य भारतीय आयल निगमले हरेक १५ दिनमा दिने मूल्यअनुसार तय हुने गरेको छ ।
यद्यपि ६ महिनाभन्दा लामो समयमपछि नयाँ सरकार गठन भएसँगै एक हप्तअघि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अघिल्लो आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ घटाएको छ ।

निगमद्वारा जारी विज्ञप्तिमा अब पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो । त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको भने मूल्य यथावत एक हजार ८ सय रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL