Logo

वैदेशिक रोजगार र म्यादी बीमाले धानिदै ‘जीवन बीमा’ व्यवसाय, कहाँनेर चुके बीमा कम्पनी र नियामक ?

वैदेशिक रोजगार र म्यादी बीमाले धानिदै ‘जीवन बीमा’ व्यवसाय, कहाँनेर चुके बीमा कम्पनी र नियामक ?



काठमाडौं । नेपालका हरेक क्षेत्रसम्म बीमाको दायरा विस्तारको अभियानसहित हाल १९ बीमा कम्पनीले जीवन बीमा व्यवसाय संचालन गरिरहेका छन् । तर, बीमा व्यवसाय सुरु भएको लामो समय भइसक्दा पनि हालसम्म सोचेअनुसार यसको प्रगति भने भएको देखिँदैन् । धेरैजसो बीमा कम्पनीहरु शहर केन्द्रित र व्यवसाय केन्द्रित हुँदा दूरदराजका गाउँसम्म र लक्षित वर्गसम्म बीमाको दायरा विस्तार हुन नसकिरहेको अवस्था छ ।

laxmi

नेपाल बीमा प्राधिकरणको हालैको तथ्यांकअनुसार चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म आधा जनसंख्यासम्म पनि यसको पहुँच पुगेको छैन । प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म जम्मा ४३ दशमलव ८९ प्रतिशतसम्म मात्रै यसको पहँुच पुगेको हो । त्यसमध्ये ठूलो हिस्सा म्यादी जीवन बीमा, लघु म्यादी जीवन बीमा र वैदेशिक रोजगार म्यादी जीवन बीमाले ओगटेका छन् ।

अर्थात मंसिर मसान्तसम्म सबै जीवन बीमा कम्पनीहरुले १ करोड ३९ लाख ८६ हजार ५ सय ५ ओटा बीमालेख जारी गरी ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यसमा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेखको संख्या घटाउँदा जम्मा ५१ लाख २० हजार ९ सय ३३ बीमालेख मात्रै बीमा कम्पनीबाट विक्री भएको देखिन्छ । अन्य बीमालेखहरु बीमाबाहेकका अन्य कम्पनीहरुले बेचिदिएको प्राधिकरण बताउँछ ।

प्राधिकरणको तथ्यांकलाई आधार मान्दा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेखको हिस्सा गणना नगर्ने हो भने नेपालमा बीमाको दायरा पनि जम्मा १६ प्रतिशतसम्म मात्रै पुगेको छ । त्यसमा पनि धेरैजसो हिस्सा अन्य कम्पनीले गरिदिएको बीमाले ओगटेको छ । अर्थात धेरैजसो जीवन बीमा कम्पनीहरुले आफ्नै बलबुँताले भन्दा पनि बैंकहरु, सहकारी, लघुवित्तलगायतको सहयोगमा बीमा व्यवसाय गरिरहेका छन् ।

बीमा कम्पनीहरुले बेच्ने म्यादी जीवन बीमालेखहरु धेरैजसो बैंकहरुले बेच्छन् । बैंक वित्तीय संस्थाबाट कसैले कर्जा लिन पर्याे भने संस्थाहरुले उनीहरुको म्यादी जीवन बीमा गरिदिने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । उनका अनुसार म्यादी जीवन बीमा खासगरी बीमा कम्पनीभन्दा पनि अन्य कम्पनीहरुले गरिदिने बीमा हो ।

चालु आर्थिक बर्षको मंसिर मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा म्यादी जीवन बीमाका ४३ लाख ७६ हजार २ सय ६३ बीमालेख जारी हुँदा १२ लाख ४९ हजार ७ सय ६२ बिमालेख वैदेशिक रोजगार बीमाका जारी भएका छन् । अर्थात चालु आवको मंसिर मसान्तसम्म जारी भएका बीमालेखमा करिव ४१ प्रतिशत हिस्सा यी दुई प्रकारका बीमालेखको छ । अझ यसमा लघु म्यादी जीवन बीमाको हिस्सा पनि जोडिन्छ । चालु आवको मंसिर मसान्तसम्म यसमार्फत ४३ लाख ५७ हजार बीमालेख जारी गरिएका छन् ।

यता चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा वैदेशिक रोजगार बीमा व्यवसाय भने १ सय ४ प्रतिशतले बढेको छ । चालु आवको मंसिर मसान्तसम्म वैदेशिक रोजगार बीमा अन्तर्गतका १२ लाख ४९ हजार ७ सय ६३ बीमालेख जारी भएका छन् । यस्तै जीवन बीमा कम्पनीहरुले यस अवधिमा सावधिक जीवन बीमाका १९ लाख ६० हजार बीमालेख जारी गर्दा बालबच्चासम्बन्धी सावधिक जीवन बीमाका ८ लाख ५३ हजार बीमालेख जारी गरेका छन् । यस्तै यसै अवधिमा रुपान्तरित सावधिक जीवन बीमाका ५ लाख १२ हजार बीमालेख जारी हुँदा अग्रिम भुक्तानी सावधिक जीवन बीमाका ४ लाख २४ हजार बीमालेख जारी भएका छन् ।

बीमा कम्पनीहरुले व्यवसायमा सहजता र सुरक्षामात्र खोज्ने तथा नियामक निकायले उद्देश्यअनुरुप कम्पनीहरुलाई हिडाउन नसक्दा नेपालको जीवन बीमा व्यवसाय फराकिलो बन्न नसकेको जानकारहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL