Logo

GBIME

नेपालमा कस्तो छ कृषिको अवस्था ? राष्ट्रिय कृषि गणनाको परिणाम सार्वजनिक गर्ने तयारीमा सरकार

नेपालमा कस्तो छ कृषिको अवस्था ? राष्ट्रिय कृषि गणनाको परिणाम सार्वजनिक गर्ने तयारीमा सरकार



काठमाडौं । मुलुकमा सङ्घीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि उत्पादनमा समेटिएको क्षेत्रफल, पशुपक्षीको सङ्ख्या, सिँचाइ, कृषि सामग्रीको प्रयोग, माछापालनलगायत विवरण सङ्कलन, प्रशोधन तथा प्रकाशन गर्ने कार्य अन्तिम अवस्थामा पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

आगामी माघभित्रमा यसको प्रकाशन गरिने तयारी छ । पहिलोपटक पालिकास्तरदेखि नै कृषकको अवस्था खेतीपाती गरिएका कित्ताको क्षेत्रफल, उत्पादनलगायत विषय सङ्कलन गरिएको हो । देशभरको कृषि क्षेत्रका समग्र विषयवस्तु सङ्कलन गर्ने कार्य नै राष्ट्रिय कृषि गणना हो । विसं २०१८ देखि प्रत्येक १०÷१० वर्षमा कृषि गणना हुँदै आएको छ ।

यस क्रमको यो सातौँ राष्ट्रिय कृषिगणना २०७८ को चैत, वैशाख र जेठमा सञ्चालन गरिएको तथ्याङ्क अधिकृत गणेश फुयाँलले जानकारी दिए । यसपटकको राष्ट्रिय जनगणनाअन्तर्गत पारिवारिक विवरण सङ्कलन गर्दा हरेक परिवारले चलन गरिआएको खेतीपातीको क्षेत्रफल र पशुपक्षीको सङ्ख्या सङ्कलन गरिएको थियो । सोही लगतका आधारमा ७७ जिल्लाका सात सय ५३ गाउँपालिका र नगरपालिकामा वैज्ञानिक छनोट विधिले छानिएका गणनाक्षेत्र (वडा, वडाखण्ड) मा रहेका कृषक परिवारको सूची अध्यावधिक गरी निश्चित मात्रामा कृषक परिवार छानिएका र कृषक परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषिचलनसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिएको छ ।

सो गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भएका कृषिकार्यको विवरण सङ्कलन गरिएको हो । कृषि गणनामा सबै घरपरिवारको गणना नभई सात सय ५३ वटै स्थानीय तहको प्रतिनिधित्व हुने तथा पूर्ण विवरण आउने गरी तथ्याङ्कीय विधिबाट छानिएका करिब तीन लाख ५० हजार कृषक घरपरिवारको गणना गरिएको छ ।

जनणनामा करिब ४१ लाख कृषक परिवारको सूचीकरण भएकामा कृषि गणनामा जनगणनाबाट प्राप्त कृषक परिवारमध्ये करिब छानिएका तीन लाख ५० हजार कृषक परिवार वैज्ञानिक विधिबाट छनोट गरी विस्तृत विवरण सङ्कलन गरिएको कृषि तथा वन तथ्याङ्क शाखाका वरिष्ठ अधिकृत सहनलक्ष्मी ताम्राकारले बताए । कृषक परिवार प्रश्नावलीमार्फत कृषक परिवार, कृषि चलन, कृषि कामदार, कित्ताको विवरण र सिँचाइ, खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, अन्य तरकारी, फलफूल, बीउबिजन विषादि तथा मलखादको प्रयोगका विषयबारे राष्ट्रिय कृषिगणनामा सङ्कलन गरिएको छ ।

गणनाअन्तर्गत पाल्तु पशुपक्षीको उमेरअनुसारको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचना, कृषि औजार, पोखरीको विवरण र माछापालन, मौरीपालन, च्याउ र पुष्पखेती, रेशम खेती, कृषि ऋण, बीमा र अनुदान, कृषिमा वातावरणीय प्रभाव, दैवी प्रकोप, खाद्य पर्याप्तता, महिला र पुरूषका नाममा रहेको कृषि जग्गा तथा परिवारका अन्य आर्थिक क्रियाकलापसम्बन्धी विवरण पनि छन् ।

पारिवारिक, व्यावसायिक र संस्थागतरुपमा उत्पादन हुने खेतीपाती, पशुपक्षीपालन, माछापालनको गणनाले यस क्षेत्रले राष्ट्रिय उत्पादनमा पार्ने प्रभाव तथा योगदानको अध्ययन गर्न सहयोग पुग्ने पशु सेवा विभागकका प्रवक्ता डा।चन्द्र ढकालले जानकारी दिए । व्यावसायिकरुपमा गरिएका तरकारी खेती, फलफूलखेती, ठूलो सङ्ख्यामा गरिएको कुखुरापालन, बाख्रापालन, दूध तथा दूधजन्य उत्पादन बिक्रीका लागि गरिएको गाई भैँसीपालन आदि पर्दछन् । संस्थागत कृषिकार्य भन्नाले सरकारी, अर्धसरकारी वा गैरसरकारी फार्म पर्दछन् । यसमा सहकारी व्यवस्थापनअन्तर्गत सञ्चालित कृषि फार्म पनि पर्दछन् ।

तथ्याङ्क सङ्कलनका लागि छानिएका गणना क्षेत्रमा करिब पाँच हजार गणक, सुपरीवेक्षण तथा सहजीकरणका लागि करिब एक हजार तीनसय सुपरीवेक्षकको व्यवस्था गरिएको थियो । तथ्याङ्क सङ्कलनका क्रममा कागज र कलमसहितको अन्तवार्ता विधि र ट्याबलेटको प्रयोग गरिएको कृषि गणनामा ७७ जिल्लामा अस्थायी प्रदेश तथा जिल्ला कृषि गणना कार्यालयको व्यवस्थापन गरिएको थियो ।

कृषि प्रणालीमा महिलाको सहभागिताको अवस्था, उनीहरुको स्वामित्वमा रहेको कृषि जग्गा, कृषिकार्यसम्बन्धी निर्णयमा उनीहरुको पहुँचबारे अध्ययन तथा कृषिगणनाको नतिजा गापा, नपा, प्रदेशस्तरमा र राष्ट्रियस्तरमा समेत उपलब्ध गराइने हुँदा तीनै तहका सरकारमा योजनातर्जुमा, अनुगमन, मूल्याङ्कन गर्न सहयोग पुग्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
NBL
NCHL