Logo

चीनले कोभिडमाथिका सबै प्रतिबन्ध हटायो : तीन वर्षपछि सबै नाका खुले, क्वारेन्टाइन र पीसीआर परीक्षण पनि अन्त्य

चीनले कोभिडमाथिका सबै प्रतिबन्ध हटायो : तीन वर्षपछि सबै नाका खुले, क्वारेन्टाइन र पीसीआर परीक्षण पनि अन्त्य



काठमाडौं । चीनमा कोभिड–१९ बाट संक्रमितको संख्या बढिरहकै समयमा चीन सरकारले एउटा ठूलो निर्णय लिएको छ । तीन वर्षपछि चीनले सबै नाका खोल्ने निर्णय गरेको छ । माघ ८ गतेदेखि चीन प्रवेश गर्ने व्यक्ति क्वारेन्टाइनमा पनि बस्नु नपर्ने भएको छ । अधिकारीहरुले मंगलबार सो जानकारी दिएका हुन् ।

शून्य कोभिड नीति अवलम्बन गर्ने चीनको यो निर्णयले सबैलाई अचम्मित पारेको छ । चिनियाँ सरकारका अनुसार काम वा अध्ययन भिसामा स्वदेश आउने वा आफ्ना परिवारका सदस्यलाई भेट्न चाहनेलाई अब खासै समस्या नपर्ने भएको छ । विश्वको दोस्रो ठूलो आर्थिक शक्ति चीनले अब कोभिडसँगै अगाडि बढने निर्णय लिएको छ ।

यस्तो अवस्थामा तीन वर्षपछि लकडाउन हटाउने, नाका खोल्ने र अनिवार्य क्वारेन्टाइन अन्त्य गर्ने निर्णय भएको छ । चिनियाँ विज्ञहरूका अनुसार जीरो कोभिड नीतिका कारण देशको अर्थतन्त्रमा ठूलो नोक्सान पुगेको छ । योसँगै जनतामा आक्रोश पनि बढेको छ । नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङविरुद्ध ठूला प्रदर्शनहरू भएका थिए र उनलाई पद त्याग गर्नुपर्ने मागसमेत गरिएको थियो । यसपछि डिसेम्बरमा जिरो कोभिड नीति खारेज गर्ने निर्णय भएको थियो ।

सन् २०२० मार्चदेखि चीनले आफ्नो सीमा बन्द गरेको थियो । यस्तोमा नाका खोल्नु नै सबैभन्दा ठूलो निर्णय भएको बताइएको छ । अब चीन प्रवेश गर्ने जो कोहीलाई कुनै प्रकारको क्वारेन्टाइन आवश्यक पर्दैन । यसअघिको नियमअनुसार तीन साता क्वारेन्टाइनमा बस्नुपर्ने थियो । भर्खरै पाँच दिनमा घटाइएको छ । सोमबार, राष्ट्रिय स्वास्थ्य आयोगले जनवरी ८ देखि कोभिड लाई वर्ग बी संक्रामक रोगको रूपमा विचार गर्ने निर्णय गरेको हो । अब न पिसिआर परीक्षण न क्वारेन्टाइन आवश्यक पर्नेछ । साथै, पहिले चीन आउने उडानको संख्या सीमित थियो, अब यो सीमा हटाइएको छ ।

चीनमा प्रतिबन्धको अभावमा तीव्र गतिमा फैलिरहेको भाइरसलाई कसरी नियन्त्रण गर्ने भन्ने संघर्षको विषय हो । देशका अस्पताल भरिभराउ छन्, शवको अन्तिम संस्कारमा पनि संघर्ष गर्नुपर्छ । हाल देशमा कति कोभिडका केसहरू आएका छन् र कतिको मृत्यु भइरहेको छ भन्ने कुनै जानकारी छैन । हालै चीनले कोभिड को डाटा जारी गर्न रोकेको छ ।

शुक्रबारसम्म देशमा ४ हजार नयाँ कोभिडका केस आए पनि आधिकारिक तथ्यांकअनुसार कसैको पनि मृत्यु भएको छैन । आइतवार चीनले कोविडको तथ्यांक अब जारी नगरिने निर्णय गरेको थियो । बेलायती फर्म एयरफिनिटीका अनुसार चीनले एक दिनमा १० लाखभन्दा बढी केस र ५ हजारभन्दा बढीको मृत्युको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL