Logo

निरन्तर उकालो लाग्दै सुनको मूल्य : १ महिनामै ६८ सयले बढ्यो, कस्तो छ अन्तरराष्ट्रिय परिदृश्य ?

निरन्तर उकालो लाग्दै सुनको मूल्य : १ महिनामै ६८ सयले बढ्यो, कस्तो छ अन्तरराष्ट्रिय परिदृश्य ?



काठमाडौं । मंसिर महिना बिहेको सिजन हो । यो महिना साविककोभन्दा बढी नै सुन विक्री हुने भएकाले सुन व्यापारीहरुले सिजनको महिना मान्छन् । सिजन लागेसँगै सुनको मूल्य भने अघिल्लो महिनाको तुलनामा निरन्तर उकालो लागिरहेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कार्तिक १५ गतेको तुलनामा मात्रै पनि सुनको मूल्य आजसम्म आईपुग्दा प्रतितोला ६ हजार ८ सय रुपैयाँले बढिसकेको छ ।

laxmi

गत कार्तिक १५ गते नेपाली बजारमा सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको थियो । गत बर्ष यहि अवधिमा सुनको मूल्य बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेर पुनः फर्किँदै कार्तिकमा १ बर्षकै न्युन विन्दुमा पुगेको थियो । अझ पछिल्लो १ हप्ताकै कुरा गर्दा पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढिसकेको छ । मंसिर ७ गते प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज ९९ हजार ९ सय रुपैयाँ छ । यो मूल्य पछिल्लो ६ महिनाकै उच्च हो ।

सम्पत्ति जोड्ने महिना अर्थात कार्तिकमै सुनको मूल्य घट्दा केही व्यापार पनि बढेको सुन व्यापारीहरुले बताएका थिए । तर, पुनः विहेको सिजनमा भने सुनको मूल्य एकाएक बढेर १ लाख नजिक पुग्दा यसको असर व्यापारमा ठूलै मात्रामा परेको महासंघका निवर्तमान अध्यक्ष मोहन सुनार बताउँछन् ।

उनका अनुसार मंसिरमा पोहोरको तुलनामा बिहेको साइत पनि कम र मूल्य पनि बढेका कारण सिजनमै व्यापार घटेको हो । ‘अवश्य पनि हाम्रो व्यापारमा मूल्यले ठूलो असर पारेको छ,’ उनले भने, ‘बिहेकै लागि किन्नेहरुले पनि ५ तोलाको ठाउँमा ३ तोला, १० को ठाउँमा ५ तोला मात्रै किनिरहनुभएको छ ।’ उनका अनुसार तिहार, बिहे, व्रतबन्धलगायतका सिजनमा नेपाली बजारमा प्रतिदिन २० देखि ३० किलोसम्मको सुनको व्यापार हुन्छ । तर, यो बर्षको मंसिरमा पनि त्यस्तो रौनक नभएको उनको भनाई छ ।

आयात न्यून

व्यापारीहरुले पछिल्लो समय नेपाली बजारमा मागअनुसारको सुन आयात गर्न पाउनुपर्ने बताउँदै आएपनि सम्बन्धित निकायहरुले यसमा चासो देखाएका छैनन् । सरकारले कोरोना महामारी सुरु भएपनि यसको दैनिक आयातलाई २० किलोबाट घटाएर १० किलोमा पुर्याएको थियो ।

त्यसपश्चात अर्थतन्त्रमा आएको समस्यालाई मध्यनजर गरी व्यापारघाटा घटाउन सरकारले सुनलगायतका आयातमा कडाई पनि गरेको थियो । तर, नेपाली बजारमा दैनिकजसो सामान्य अवस्थामा पनि १ किलो बढीकै माग हुने भएपनि सोहीअनुसार आपुर्ति भने नभएको महासंघका निवर्तमान अध्यक्ष सुनार बताउँछन् । उनका अनुसार महासंघले आयात कोटा बढाउन लविङ गरिरहेको भएपनि सुनुवाई भएको छैन ।

त्यसो भए कसरी हुन्छ आयातभन्दा बढी खपत ?

नेपालमा सुन व्यवसाय गर्ने करिव २५ हजार व्यापारीहरुले दैनिक केहिी न केही मात्रामा सुनको व्यापार गर्छन् । तर, सिजनमा भने दैनिक ३० देखि ३५ किलोसम्म सुनको व्यापार हुने गरेको तथ्य महासंघसँगै छ । सरकारले न्यून मात्रामा सुन आयात गर्न दिएपनि व्यापारीहरुले दैनिक ३५ किलोसम्म विक्री गर्ने सुन कहाँबाट ल्याउँछन् भन्ने जिज्ञासा सबैलाई हुन्छ ।

सोही प्रश्न हामीले निवर्तमान अध्यक्ष सुनारसँग सोद्धा उनले व्यापारीसँग पहिलेकै स्टक सुन हुने बताए । उनले अफसिजनमा सुनको माग कम हुनेबेला व्यापारीहरुले रहेको सुनका गहना बनाएर डिस्प्ले गर्ने, स्टकमा राख्नेलगायतका काम गर्छन जुन सिजनमा काममा आउँछ । अर्थात अफसिजनमा बढी भएको सुन स्टकमा राखिन्छ । त्यतिमात्रै होइन सुन व्यापारीहरुले विक्री गरेको सुनको २० देखि ५० प्रतिशतसम्म सुन फिर्ता पनि हुन्छ । ग्राहकले सुन विक्रि गर्ने र यसरी बजारमा फिर्ता भएको सुन र व्यापारीसँग स्टकमा रहेको सुन सिजनामा विक्री गर्दा आयातभन्दा बढी विक्री भइरहेको देखिने उनले बताए ।

के छ अन्तरराष्ट्रिय मूल्य ?

अन्तरराष्ट्रिय बजारमा पनि पछिल्लो एक महिनामा सुनको मूल्य प्रति औंस ७ प्रतिशत अर्थात १ सय २३ डलरले बढिसकेको छ । गत महिना अर्थात नोभेम्बर ५ तारिखका दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ६ सय ४० को आशपासमा कारोबार भइरहेको थियो । त्यो मूल्य बढेर आज १८ सय डलर आसपास पुगेको छ । विश्व बजारमा नै सुनको मूल्य बढेपछि नेपालमा यसको मूल्य लगातार उकालो लागिरहेको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL