Logo

रोकिएको कोरोना बीमा दाबी भुक्तानी आजबाट सुरु, भुक्तानी बाँकी रहेका सबैले पाउँलान ?

रोकिएको कोरोना बीमा दाबी भुक्तानी आजबाट सुरु, भुक्तानी बाँकी रहेका सबैले पाउँलान ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दावी भुक्तानी गर्ने तयारी गरेका छन् । सरकारले पछिल्लो समय १ अर्ब रुपैयाँ कोरोना दावी भुक्तानीका लागि निकासा गरिदिएपछि निर्जीवन बीमा कम्पनीहरुले यसको भुक्तानी प्रक्रिया थालेका हुन् ।

laxmi

लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानी करिव साढे १० अर्ब बढी नै बाँकी थियो । निर्जीबन बीमा कम्पनीहरुले सरकारले आफ्नो भागमा परेको रकम भुक्तानी नगरेका कारण कोरोना बीमा भुक्तानी हुन नसकेको बताईरहँदा सरकारले १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । सोही अनुसार निर्जीबन बीमा कम्पनीको भागमा पर्ने २५ प्रतिशत अर्थात ४५ करोड ५४ लाख रुपैयाँ वितरण गर्न लागिएको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले जानकारी दिए ।

कोरोना बीमा दाबी भुक्तानीको लागि सरकारले निकासा गरेको १ अर्ब रूपैयाँलाई ५५ प्रतिशत मान्दा हुन आउने रकमलाई सतप्रतिशत मानी त्यसको ८ प्रतिशत (१४ करोड ५४ लाख रूपैयाँ) प्राधिकरणले दिने गरी नेपाल बीमा प्राधिकरणले मोडालिटि बनाएको थियो । यस्तै नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत (२१ करोड ८१ लाख रूपैयाँ) र निर्जीवन बीमा कम्पनीहरूले २५ प्रतिशत (४५ करोड ४५ लाख) रूपैयाँ जम्मा गरेर बीमा दावी भुक्तानी गर्ने प्रक्रिया मिलाएपनि नेपाल पुनर्बीमा कम्नपी भने आफ्नो दायित्व सम्पन्न भईसकेको भन्दै पन्छिईसकेको छ ।

२०७७ सालमा कोरोना महामारी विश्वसँगै नेपालमा पनि छिटफुट देखिन थालेपछि बीमा समितिले विश्वमै कहीँ नभएको कोरोना बीमा मापदण्ड जारी गरेको थियो । जसमा प्रतिव्यक्ति ५० हजार र १ लाख रुपैयाँको बीमा गर्न सकिने सुविधा थियो । यसरी बीमा भएपछि त्यसको दावी भुक्तानीका लागि भने जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसमा १ अर्ब रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनीले, १ अर्बदेखि २ अर्बसम्मको पुनर्बीमा कम्पनीमार्फत, २ देखि साढे २ अर्बसम्मको भुक्तानी महाविपत्ती पुलमार्फत, साढे २ अर्बदेखि साढे ३ अर्बसम्म बीमा समितिमार्फत र ३ अर्ब माथिको भुक्तानी नेपाल सरकारले व्यहोर्ने उल्लेख थियो ।

हालसम्म परेको कोरोना दावी भुुक्तानीका लागि बीमा कम्पनीदेखि बीमा समितिले समेत केहि रकम भुक्तानी गरिसकेपनि सरकारको तर्फबाट हुनपर्ने भुक्तानी भने नभएपछि बिमितले समयमै भुक्तानी नपाएका हुन् । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १५ अर्ब ४२ करोड २३ लाख रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ५१ हजार ६८७ वटा दाबी मार्फत ४ अर्ब ९८ करोड रुपैयाँ भुक्तानी भईसकेको छ ।

कुल दाबी रकम १० अर्ब ४४ करोड रुपैयाँ बराबरको १ लाख १३ हजार ३ सय ९० वटा पोलीसीको भुक्तानी अझै बाँकी छ ।
बाँकी रहेको उक्त रकम भुक्तानी गर्नुपर्ने भएपनि १ बर्षभन्दा बढी समय वित्दासम्म भुक्तानी नभएको हो । यसले एकातिर बीमा गरेपछि दावी भुक्तानी पाउने सुविधाबाट बिमित बन्चित भएका छन् भने अर्काेतर्फ बीमाप्रतिको विश्वास नै हराएको समितिको भनाई छ ।

पुनर्बीमा कम्पनीका अध्यक्षले दिए राजीनामा

नेपाल पुनर्बीमा कम्पनीका संचालक समिति अध्यक्ष डा. रवीन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले कोरोना बीमा मापदण्ड आएदेखि नै यो बीमाको सिद्धान्तभन्दा बाहिर रहेको बताउँदै आएका थिए । सोही अनुसार सरकार र बीमा प्राधिकरणबीच कोरोना दावी भुक्तानी सम्बन्धी विवादसमेत भएको थियो । जसमा पुनर्बीमा कम्पनीलाई सरकारलाई सहयोग गर्न बाध्य बनाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL