Logo

प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहार, चर्चामा डा. तोसिमा कार्की

प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहार, चर्चामा डा. तोसिमा कार्की



पाटन । प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा तोसिमा कार्की प्रवेश गरेकी छिन् ।

laxmi

उनले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गरेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । प्रदेशसभासदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय भएकी हुन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छिन् ।

घण्टी चिह्नमा चुनाव लडेकी उनी पेसाले पाटन अस्पतालमा चिकित्सक जनरल सर्जन छिन् । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गरेकी थिइन् । मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गरेकी हुन् ।

काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य छिन् । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उनले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरेकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय छिन् ।

निर्वाचनमा विजयी भएपछि उनले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL