Logo

नेपालमा ५५ देशबाट भित्रियो २ खर्ब २८ अर्ब वैदेशिक लगानी, भारत पहिलो पछ्याउँदै चीन

नेपालमा ५५ देशबाट भित्रियो २ खर्ब २८ अर्ब वैदेशिक लगानी, भारत पहिलो पछ्याउँदै चीन



काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७७-७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई रु.२२७ अर्ब ९५ करोड कायम रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण प्रतिवेदनमा कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ ।

laxmi

सो अवधिमा चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको छ भने २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु.३३ अर्ब, आयरल्याण्डबाट रु.१६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु.१५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु.१४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ । समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

राष्ट्र बैंकले आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७७-७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७-७८’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनको पूर्ण पाठ

[googleapps domain=”drive” dir=”file/d/12IcHOPsjeSYNSgVsBko-NXt9Vk0cUL3m/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL