Logo

बहुप्रतिक्षित ‘फाइभ जी’ परीक्षण अघि बढ्यो, कहिलेदेखि पाउँछन् नेपालीले चलाउन ?

बहुप्रतिक्षित ‘फाइभ जी’ परीक्षण अघि बढ्यो, कहिलेदेखि पाउँछन् नेपालीले चलाउन ?



काठमाडौं । नेपालमा लामो समयदेखि चर्चामा रहेको फाइभ जी (पाँचौ पुस्ता)को परीक्षण अघि बढेको छ । पछिल्लो समय विश्वव्यापी बन्दै गएको फाइभ जी परीक्षणका लागि आवश्यक उपकरण नेपाल आइपुगेसँगै नेपालमा फाइभ जी सेवा छिट्टै शुरु हुने अम्भावना बढेको छ । फाइभजी परीक्षणको अनुमति पाएको सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमले विभिन्न ४ स्थानमा जडान गर्नेगरी उपकरण नेपाल भित्र्याएको हो ।

laxmi

टेलिकमका अनुसार उपकरण आएर हाल भन्सारमा आइसकेको र भन्सार पासका लागि आवशयक प्रक्रिया पूरा गरेर केही दिनमै सम्बन्धित स्थानमा पुर्याइ जडान गरिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । गत बर्षको कात्तिकमा परीक्षण अनुमति पाएको टेलिकमले नेपालका विभिन्न ४ स्थानबाट फाइभजी परीक्षणको तयारी गरोको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमलाई फाइभ जी परीक्षणको अनुमति दिएपछि नेपाल दूरसंचार प्राधिकरणले यसको कार्यविधिसमेत बनाएको थियो । जसमा कुनै दूरसंचार सेवाप्रदायक कम्पनीले फाइभजी परीक्षणको अनुमति लिएको ३ महिनामा उपकरण आयात गरी परीक्षण नै गरिसक्नुपर्ने उल्लेख छ ।

नेपाल टेलिकमले पनि सोही कार्यविधि अनुसार माघभित्र उपकरण आयात गरी परीक्षण गरिसक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण विश्व बजारमा आइपरेको कन्टेनर अभावको समस्याले भनेबमोजिम समयमै उपकरण आपुर्ति हुन सकेन । जसका कारण तोकिएको समयभन्दा केहि ढिलाई गरी उपकरण आयात भएको र सोहीअनुसार अब जडान हुने प्रवक्ता अधिकारीले बताए । ‘फाइभजी परीक्षणका लागि आवश्यक उपकरण भन्सारसम्म आइपुगिसकेका छन्,’ उनले भने, ‘अब चाँडै हामीले उपकरण सम्बन्धित स्थानमा पुर्याएर जडान गरी परीक्षणको काम अघि बढाउछौं ।’

टेलिकमले फाइभ जी परीक्षणका लागि काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजलाई तोकेको छ । पहिलो चरणमा टेलिकमले उक्त ४ स्थानमा फाइभजीका लागि आवश्यक बीटीएस टावर निर्माण गरी फाइभजी परीक्षण गर्नेछ । मन्त्रालयले अनुमति दिएपछि प्राधिकरणले यसको कार्यविधि बनाएको थियो । जसअनुसार टेलिकमले फाइभजी संचालनका लागि २६ सय मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको थियो ।

यसरी अनुमति र फ्रिक्वेन्सीसमेत उपलब्ध गराएको हालसम्म १० महिना पुगेको छ । यसबीचमा टेलिकमले फाइभजी परीक्षणका लागि आवश्यक उपकरणहरु आयात गर्ने स्वीकृति टेलिकमको फोरजी विस्तार गरिरहेका कम्पनीलाई दिएको थियो । यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभजी परीक्षणका लागि आवश्यक उपकरण ल्याएका हुन् । फोरजीको सम्झौता हुँदा नै फोरजी विस्तार गरिरहेका कम्पनीहरुले निशुल्क फाइभजी परीक्षण गरिदिनुपर्ने उल्लेख छ । सोहीअनुसार नै जेडटीई र हुवावेले उपकरण ल्याएर परीक्षणको काम गर्न लागेका हुन् ।

फाइभजी परीक्षणका लागि आवश्यक कार्यविधि जारी भएको करिव ४ महिनापछि नेपाल टेलिकमले २६ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा फाइभजी परीक्षण अनुमति पाएको थियो । टेलिकमले त्यसअघि नै फोरजी विस्तारलगत्तै देशका प्रमुख ४ शहरमा फाइभजी परीक्षणको काम पनि अघि बढाउने घोषणा गरेको थियो । नेपाल टेलिकमले हाल देशभर तोकिएकामध्ये ९६ प्रतिशत स्थानसम्म फोरजी सेवा पुर्याईसकेको छ

चालु बर्ष ७ ठाउँमा परीक्षणको तयारी

टेलिकमले चालु आर्थिक बर्षमा नेपालभरका विभिन्न ७ स्थानमा फाइभजी परीक्षण गर्ने योजना बनाएको छ । यसअघि नेपालका ४ स्थानमा मात्रै फाइभजीको परीक्षण गर्ने घोषणा गरेको टेलिकमले थप ३ स्थानमा पनि परीक्षणको तयारी गरिरहेको जानकारी दिएको छ ।

हाल नयाँ ३ स्थानको अन्तिम टुंगो नलागेपनि यसै बर्ष ७ स्थानमा परीक्षणको तयारी भईरहेको प्रवक्ता अधिकारीले बिजखबरलाई बताए । हाल भने काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजमा परीक्षण गर्नका लागि मात्रै उपकरण आइपुगेका छन् । अब बाँकी ३ स्थानका लागि आवश्यक उपकरण ल्याउने प्रक्रिया अघि बढाईने र यसै बर्ष सातै स्थानबाट फाइभजी परीक्षण गर्ने उनले बताए । फाइभ जी परीक्षण सफल भएसँगै ग्राहकले सो सुविधा उपभोग गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL