GBIME

पहिरोले नारायणगढ-मुग्लिन र पोखरा-बागलुङ सडक अवरुद्ध, सवारीसाधन बाटोमै अलपत्र


बिजखबर संवाददाता
31 August, 2022 8:56 am

narayanghat muglin road

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

NABIL
lAXMI_BANK

पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए । निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो ।

ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिए । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो । त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुङ्गा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुङ्गा पन्छाएर सडक खुलाइने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका छन् । दिउँसोसम्म सडक खुलाउन सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL