Logo

सरकारले भन्यो, ‘सहकारीमा पैसा नराख्नु, उच्च ब्याजको लोभमा सावाँ पनि गुम्ला’

सरकारले भन्यो, ‘सहकारीमा पैसा नराख्नु, उच्च ब्याजको लोभमा सावाँ पनि गुम्ला’



काठमाडौं । सरकारले जनताहरुलाई सहकारीमा पैसा नराख्न सचेत गराएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै सहकारी भाग्ने तथा समस्यामा पर्ने क्रम बढेपछि सरकारले सार्वजनिक रुपमा विज्ञापन नै गरेर सहकारीमा निक्षेप नराख्न आग्रह गरेको हो ।
सरकारले विज्ञापन बोर्डमार्फत पत्रपत्रिकामा ‘बचत गर्दा ध्यान दिऔं’ शिर्षकको विज्ञापन प्रकाशित गर्दै सहकारीमा बढी ब्याजको लोभमा निक्षेप राख्दा सावाँ समेत गुम्ने खतरा बढेको भन्दै त्यस्ता संस्थामा निक्षेप नराख्न आग्रह गरेको छ । साथै निक्षेपकर्तालाई ब्याजको लोभमा नफस्न आग्रह गर्दै त्यस्ता संस्थाको वित्तीय अवस्था परिक्षण गर्न समेत आग्रह गरेको छ ।

केहि दिन अघि सहकारी विभागले नै एक सूचना जारी गर्दै सुशासनमा नचल्ने र व्यक्तिगत हितमा केन्द्रित सहकारी संस्थाहरुमा बिशेष समस्या देखिएको बताएको थियो । त्यसको २ दिनपछि पुनः विज्ञापन बोर्डले सहकारीमा पैसा राख्नुभन्दा अघि एकपटक सोच्नुपर्ने बताएको छ ।

अर्थात विज्ञापन बोर्डले जारी गरेको विज्ञापनमा समग्र सहकारी क्षेत्रलाई नै अप्ठ्यारो पार्ने भाषा समाबेश भएको बिषयविज्ञहरु बताउँछन् । यहि कुरालाई लिएर प्रभावकारी नियमन बिनै सरकारले हचुवाका भरमा विज्ञापन प्रकाशित गरेको कुरा बिषयविज्ञहरुले उठाएका छन् ।

यता राष्ट्रिय सहकारी महासंघ नेपालका एक बोर्ड सदस्य पनि सरकारले सबै सहकारीलाई अप्ठ्यारो पार्नेगरी विज्ञापन प्रकाशित गरेको बताउँछन् । ‘सरकारले एक, दुई सहकारीले बदमासी गरे भन्दैमा सबैलाई एउटै ड्याङमा राख्न नहुने हो,’ उनले भने, ‘तर सहकारीलाई नै भनेर यसरी तोकेर भने भन्न नहुने हो ।’ उनका अनुसार सरकारको यस्तो विज्ञापनले सहकारी क्षेत्रलाई नै बदनामी गरिदिएको छ ।

यता सहकारी विभागले भने उक्त विज्ञापनभन्दा पनि विभागले जारी गरेको निर्देशन भने सहकारी संस्थाहरुले मान्नुपर्ने जानकारी दिएको छ । विभागले गत साउन ३१ गते सार्वजनिक गरेको निर्देशन अनुसार नै चल्नुपर्नेमा सहकारी संस्था, संचालक ग्राहकको ध्यानाकर्षण गराईएको विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बताए । उनका अनुसार अन्य विज्ञापनमा भएका कुराहरु पनि सबै सहकारीलाई अप्ठ्यारो नपार्ने गरी नै राखिएको छ । त्यसलाई नकारात्मक रुपमा व्याख्या गर्न नहुने पनि उनको तर्क छ ।

पछिल्लो समय बचतकर्ताको करोडौं रुपैयाँ उठाएर कुम्ल्याई भागेका र टाट पल्टेका गौतमश्री, सिभिललगायतका सहकारी संस्थाहरुका कारण समग्र सहकारी क्षेत्रमै समस्या निम्तिएको देखिन्छ । यस्तै संस्थाका कारण अन्य सहकारी संस्थाहरुमा समेत बचत र रकम प्रवाहको खडेरी सुरु भएपछि धेरैजसो सहकारीहरुले व्यवसाय नै छोड्ने संकेत देखिएको एक विज्ञले बताए ।

खासगरी सहकारी विभागले प्रकाशित गरेको निर्देशिका पनि सहकारीका ग्राहकले आफ्नो रकम बचत गर्दा कस्तो सहकारी र सहकारीको पृष्ठभूमी हेर्नुपर्ने, संस्था पारदर्शी रुपमा चलेको हुनुपर्ने र संचालकले आफ्नो स्वार्थ हेर्न नहुनेमा केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्
MBL