Logo

पेट्रोलदेखि सुनसम्म : यी हुन् नेपालको कुल व्यापारघाटाको ७० प्रतिशत हिस्सा ओगट्ने मुख्य १० वस्तु

पेट्रोलदेखि सुनसम्म : यी हुन् नेपालको कुल व्यापारघाटाको ७० प्रतिशत हिस्सा ओगट्ने मुख्य १० वस्तु



काठमाडौं । भन्सार विभागले गत आर्थिक बर्षमा अर्थात गत बर्षको साउनदेखि चालु बर्षको असार मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकअनुसार नेपालले १२ महिनामा मात्रै १७ खर्ब २० अर्ब रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको छ ।

laxmi

यो भनेको नेपालले ९ रुपैयाँको वस्तु बेच्दा ९१ रुपैयाँको किन्नुजस्तै हो । अर्थात नेपालको आयात व्यापारको हिस्सा उच्च हुँदा र निर्यात न्यून हुँदा व्यापारघाटाको खाडल प्रतिबर्ष बढ्दो छ । व्यापारघाटा घटाई वैदेशिक मुद्रा संचितिमा दबाव कम गर्ने सरकारको नीति भएपनि १ बर्षको अवधिमै धेरै वस्तु आयात हुँदा व्यापारघाटा उच्च भएको देखिन्छ ।

नेपालको यस्तो व्यापारघाटा हुनुमा धेरै आयात हुने मुख्य १० वस्तु महत्वपुर्ण हुन्छन् । भन्सार विभागका अनुसार धेरै आयात भएका मुख्य १० वस्तुले मात्रै गत बर्ष नेपालले व्यहोरेको व्यापारघाटाको ७०.४९ प्रतिशत ओगटेका छन् । व्यापारघाटामै करिव दुई तिहाई हिस्सा ओगट्ने यी वस्तुहरु आयात भएवापत नेपालले गत बर्षमा ३ खर्ब ३८ अर्ब ९८ करोड रुपैयाँ राजस्व उठाउन सफल भएको छ । यो नेपालले उठाएको कुल भन्सार राजस्वको ७० प्रतिशत हुन आउँछ ।

यस्तै नेपालले गर्ने कुल आयात व्यापारको ६८ प्रतिशत हिस्सा ओगटेका यी १० वस्तुहरु नेपालबाट पनि उत्तिकै मात्रामा निर्यात भएको देखिन्छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट यी १० वस्तुहरु १ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो नेपालको कुल निर्यात व्यापारको ५० प्रतिशत हो । गत बर्ष नेपालमा यी १० वस्तुमात्रै १३ खर्ब १४ अर्ब १० करोड रुपैयाँ बराबरको आयात भएको विभागको तथ्यांकमा उल्लेछ छ ।

१. पेट्रोलियम पदार्थ

धेरै आयात भएको वस्तुको पहिलो स्थानमा रहेको पेट्रोलियम पदार्थ नेपालले गत वर्षमा ३ खर्ब ९३ अर्ब ८२ करोड रुपैयाँ बराबरको आयात गरेको छ । यो कुल आयातको १९ प्रतिशत हुन आउँछ । धेरै आयात हुने वस्तुको पहिलो स्थानमै रहेको पेट्रोलियम पदार्थ आयात गर्दा नेपालले १ बर्षमा ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ नै व्यापारघाटा व्यहोर्नुपरेको छ । यसमार्फत नेपालले एक बर्षमा १ खर्ब ३१ अर्ब २० करोड रुपैयाँ राजस्व उठाएको छ । यस अवधिमा नेपाले १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ बराबरको डिजेल र ७१ अर्ब ३८ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरेको छ । यस्तै ६५ अर्ब ५५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्याँस आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

२. फलाम तथा स्टिल

धेरै आयात भएका वस्तुमध्ये दोस्रो स्थानमा रहेको फलाम तथा स्टिल मात्रै नेपालले १ बर्षको अवधिमा १ खर्ब ६१ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात गरेको छ । यसमार्फत नेपालले १ खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ व्यापारघाटा व्यहोर्नुपरेको छ । १ बर्षमा आयात भएको कुल वस्तुमा फलामको हिस्सा ८.४१ प्रतिशत छ । फलाम आयात गरेवापत नेपालले १ बर्षमा ३० अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाएको छ । नेपालबाट पनि १ बर्षमा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको फलाम निर्यात भएको छ ।

३. औद्योगिक मेशिनरी

नेपालले गत आर्थिक वर्षमा १ खर्ब ४४ अर्ब ३५ करोड रुपैयाँ बराबरका ठुला मेशिनरी उपकरण आयात गरेको छ । कुल आयात व्यापारको ७.५१ प्रतिशत हिस्सा ओगटेको औद्योगिक मेशिनरी आयात गरेवापत नेपालले १७ अर्ब ३७ करोड २३ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ । नेपालले १ बर्षमा ६ करोड २० लाख रुपैयाँ बराबरको औद्योगिक मेशिनरी निर्यात गर्दापनि यसमार्फत नेपालले १ बर्षमा १ खर्ब ४४ अर्ब २८ करोड रुपैयाँ व्यापारघाटा व्यहोर्नुपरेको तथ्यांकमा उल्लेख छ ।

४. विद्युतीय उपकरणहरु

नेपाल सरकारले धेरै आयात भएको र विलासिताका वस्तुको सूचीमा राखेको यी वस्तु मात्रै नेपालले १ बर्षमा १ खर्ब ५१ अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएका छन् । यसमा रेडियो, टेलिभिजन, मोबाईल, कम्प्युटरदेखि अत्यावश्यक वस्तुहरु पनि पर्दछन् । नेपालले १ बर्षमा यस्ता वस्तुको आयात गरी १ खर्ब २२ अर्ब १६ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । नेपालको कुल आयातको व्यापारमा विद्युतीय उपकरणहरुको हिस्स मात्रै ६ प्रतिशत हुन आउँछ । यस्ता वस्तु आयात गरी नेपालले १ बर्षमा २३ अर्ब रुपैयाँ राजस्व आर्जन गरेको छ ।

५. प्रशोधित र कच्चा खानेतेल

नेपालले निर्यातको पनि व्यापार गर्ने खानेतेल गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले पछिल्लो समय कच्चा तेल आयात गरी प्रशोधन गरी विदेशमा पठाउने हुनाले यसको आयात र निर्यातको हिस्सा उस्तै उस्तै छ । यसले नेपालमा भएको कुल आयात व्यापारको ६.२७ प्रतिशत हिस्सा ओगटेको छ । नेपालले पनि यस अवधिमा ९३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको यस्तो वस्तु निर्यात गरेको छ । यसो हुँदा यसमार्फत हुने व्यापारघाटा अन्य वस्तुको तुलनामा न्युन अर्थात ९ अर्ब बराबर मात्रै छ । यसमार्फत नेपालले १ बर्षमा १४ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।

६. सवारीसाधन र पार्टपुर्जा

नेपालमा धेरै आयात हुने वस्तुको छैठौं स्थानमा रहेको सवारीसाधन र यसका पार्टपुर्जा मात्रै १ बर्षमा ९९ अर्ब ४२ करोड २९ लाख रुपैयाँ बराबरको आयात भएको छ । कुल आयातको ५ प्रतिशत हिस्सा ओगट्ने सवारीसाधन र यसका पार्टपुर्जा आयात गरेबापत नेपालले १ बर्षमा ९ अर्ब रुपैयाँ राजस्व आम्दानी गरेको छ । यसमार्फत नेपालले ९९ अर्ब ४२ करोड रुपैयाँ नै व्यापारघाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यस्तो वस्तु नेपालबाट भने एक बर्षको अवधिमा ७० लाख ८० हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

७. खाद्यान्न

कृषि प्रधान देश भएपनि नेपालले खाद्यान्न विदेशबाटै खरिद गरेर खानुपर्ने अवस्था छ । जसकारण खाद्यान्न नेपालमा धेरै आयात हुने वस्तुमध्ये सातौं स्थानमा परेको छ । नेपालले गत आर्थिक बर्षको १२ महिनामा ७४ अर्ब २८ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ । यो नेपालले गरेको कुल आयात व्यापारको ३.८६ प्रतिशत हो । यसमार्फत नेपालले १ बर्षमा ७ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ बराबर व्यापारघाटा व्यहोरेको छ । धान, गहुँ, मकै, कोदो, फापर, जौलगायत वस्तुहरु यसमा पर्दछन् ।

८. प्लास्टिक र यसका सामग्री

नेपालले १ बर्षको अवधिमा ७४ अर्ब २८ करोड ३७ लाख रुपैयाँ बराबरको प्लास्टिक र यसका सामग्री आयात गरेको छ । नेपालले यस्तो वस्तु आयात गरेवापत मात्रै एक बर्षमा ५ अर्ब ७ करोड रुपैयाँ राजस्व उठाएको छ । यसमार्फत नेपालले ७४ अर्ब २८ करोड १६ लाख रुपैयाँ नै व्यापारघाटा व्यहोर्नुपरेको छ । प्लास्टिक र यसका सामग्रीले मात्रै नेपालको कुल आयातको ३.७६ प्रतिशत हिस्सा ओगटेका छन् ।

९. औषधि

नेपालले एक बर्षको अवधिमा ७१ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ बराबरको औषधि र उपचारमुलक उपकरणहरु आयात गरेको छ । यसमार्फत नेपाले १ बर्षका १९ अर्ब २१ करोड १० लाख रुपैयाँ भन्सार राजस्व उठाएको छ । औषधि आयातमार्फत मात्रै नेपालले १ बर्षमा ७० अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यापारघाट व्यहोर्नुपरेको छ । कुल आयातको ३.७४ प्रतिशत हिसा ओगटेको औषधि नेपालबाट पनि यस अवधिमा १ अर्ब ४९ करोड रुपैयाँ बढीको निर्यात भएको छ ।

१०. बहुमूल्य धातु र गरगहना

नेपालले बहुमूल्य धातु र गरगहनालाई पनि विलासिताको वस्तुको सूचीमा राख्दै आयातमा कडाई गर्ने गरेको छ । सुनचाँदी, हिरा, मोति, पत्थरलगायत वस्तुहरु पर्ने यो समुहका वस्तुहरु १ बर्षको अवधिमा ६३ अर्ब १९ करोड २४ लाख रुपैयाँ बराबरका आयात भएका छन् । यसमार्फत नेपालले १ बर्षको अवधिमा ६२ अर्ब २ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । नेपालको कुल आयातको ३.२९ प्रतिशत हिस्सा ओगटेको यो वस्तु आयातमार्फत नेपालले ६ अर्ब ४९ करोड रुपैयाँ राजस्व उठाएको छ । नेपालबाट भने एक बर्षको अवधिमा यस्तो वस्तु १ अर्ब १६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL