Logo

विश्व बजारमा घटेको पेट्रोलियमको मूल्य बढाएर बेच्दा पनि किन निगम अर्बौ घाटामा ?

विश्व बजारमा घटेको पेट्रोलियमको मूल्य बढाएर बेच्दा पनि किन निगम अर्बौ घाटामा ?



काठमाडौं । पछिल्लो ४ महिनामा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारल २० डलरले घटेको छ । तर, नेपालमा भने सोही अवधिमा पेट्रोेलियम पदार्थको मूल्य करिव ३० प्रतिशतसम्मले बढिसकेको छ ।

laxmi

यसरी विश्वबजारमा मूल्य घटेको पेट्रोलियम पदार्थ नेपालमा मूल्य बढाएरै बेच्दा पनि नेपाल आयल निगम लगातार घाटामा रहेको सुन्दा जो कोहीलाई पनि अच्चम्म लाग्छ । नेपाल आयल निगमले प्रक्षेपण गरेअनुसार चालु बर्षको अन्त्यसम्म निगमलाई ५५ अर्ब बढीको नोक्सानी व्यहोर्नुपर्नेछ ।

कोरोना महामारीपश्चात व्यापार चक्रका कारण झिनो अंकले उकालो लागिरहेको कच्चा पेट्रोलियमको मूल्य रुस र युक्रेनको युद्धपश्चात उच्च दरमा बढ्यो । हुन त नेपालमा रुस र युक्रेनको युद्ध अघिपनि पेट्रोलियमको मूल्य बढिरहेकै थियो । तर, युद्धपश्चात भने नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटिरहँदा पनि बढाएरै बेचिरहेको देखिन्छ ।

पछिल्लो पटक गत मार्च ८ तारिख वा फागुन २४ गते विश्व बजारमा कच्चा तेलको मूल्य हालसम्मकै उच्च १ सय २७ डलर प्रतिव्यारल पुगेको थियो । त्यसपछि सोही दिनदेखि पुनः कच्चा तेलको मूल्य ओरालो लाग्दै हालसम्म त्यस अवधिको तुलनामा २५ डलरसम्मले ओरालो लागिसकेको छ । तर, नेपालमा पेट्रोलको मूल्य मात्रै त्यसयता प्रतिलिटर ३१ रुपैयाँले बढ्दा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३९ र खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर २ सय २५ रुपैयाँले बढिसकेको छ । यसरी अन्तरराष्ट्रिय बजारमा मूल्य घट्दा घट्दै नेपालमा लगातार बढिरहँदा पनि नेपाल आयल निगमले अझै घाटा व्यहोरिरहेको छ ।

आलोचकहरुले निगमको यस्तो प्रवृत्तिलाई ‘निजीकरण गर्ने दाउ’को संज्ञा दिएका छन् । अर्थात नेपाल सरकार र भारत सरकारकै मिलेमतोमा नेपाल आयल निगमलाई निरन्तर घाटामा गएको देखाउने र अन्तिममा कुनै ठुलो व्यापारिक घरानालाई घाटा भएको भनिएको रकम पुर्ति गराई जिम्मा लगाउने नियत देखिएको जानकार बताउँछन् । निगम निकट एक स्रोतका अनुसार निगमको व्यवस्थापकिय पक्षले नै इन्डियन आयल कर्पाेरेसनलाई बढी पैसा तिरेको जस्तो देखाई कम पैसा तिरिरहेको छ । अर्थात निगले भारतीय आयल निगमबाट प्रत्येक महिनाको १ र १५ तारिखका दिन तेलको नयाँ खरिदमूल्य पठाउँछ ।

जसअनुसार तेलको मूल्य हालसम्मकै उच्च भएको गत मार्चमा आईओसीले नेपाल आयल निगमलाई पठाएको मूल्यअनुसार पेट्रोलको खरिदमूल्य प्रतिलिटर १८२ रुपैयाँ, डिजेलको १६९ रुपैयाँ र खाना पकाउने ग्याँसको खरिद मूल्य प्रतिसिलिण्डर २२ सय ४० रुपैयाँ पुगेको बताएको थियो । भारतले नेपाललाई तेलको मूल्य पठाउँदा मार्च १६ थियो त्यसबेला विश्व बजारमा कच्चा पेट्रोलियमको मूल्य प्रतिव्यारल १ सय १० डलर थियो । तर, नेपालमा भने पेट्रोल र डिजेलेको मूल्य प्रतिलिटर क्रमशः १ सय ५० र १ सय ३३ रुपैयाँ थियो भने खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १ हजार ५ सय ७५ रुपैयाँ थियो ।

तर, भारतबाट एक्कासी मूल्य बढेर आएको बताउँदै नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ५÷५ रुपैयाँले बढाएर क्रमशः १ सय ५५ र १ सय ३८ रुपैयाँ पुर्याएको थियो । त्यसपश्चात पुनः आईओसीले अप्रिल एकमा नयाँ मूल्यसूची पठायो । जसमा पेट्रोल र डिजेलको मूल्य स्थिर भएपनि खाना पकाउने ग्याँसको मूल्य भने घटेको थियो ।

पछिल्लो ४ महिनामा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटबढ् हुँदै अन्त्यमा घटेको भएपनि नेपाली उपभोक्ताले भने त्यसको अनुभव गर्न पाएनन् । विश्वका धेरै देशहरुमा प्रशोधित पेट्रोलियम पदार्थको माग उच्च भईदिँदा प्रशोधनकर्ताहरुले यसको प्रिमियम बढाईराखे र प्रशोधित तेल किन्ने राष्ट्रहरुले बढेको मूल्यमा पेट्रोलियम किनिराख्नुपर्ने अवस्था आयो । कच्चा तेल किनेर प्रशोधन गरी बेच्ने विक्रेताहरुले आफ्नो प्रिमियम नघटाएकाले नेपालका लागि यस्तो समस्या निम्तिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय बताउँछन् ।

पछिल्लो समय विश्वभरका मिडियाहरुले अब विश्व नै मन्दीतिर जाँदैछ भन्ने हल्ला फैलाउँदा भने तेलको माग कम भई मूल्य पनि घटिरहेकाले अब भने मूल्य घट्ने आश गर्न सकिने उनको भनाई छ । ‘कोरोना महामारी प्रभाव र रुस, युक्रेन युद्धका कारणहरु देखाउँदै अन्तरराष्ट्रिय संचारमाध्यमहरुले विश्व नै मन्दीतिर जाने संकेत दिएका छन्,’ उनले भने, ‘अब विश्वबजारमा प्रशोधित तेलको माग र मूल्य नै घटिरहेकाले नेपालले पनि सस्तोमा पाउला कि ?’

यता उपभोक्ता अधिकारवादीहरु भने निगमले पारदर्शी तरिकाले व्यापार नगरेको आरोप लगाउँछन् । अधिकारकर्मी माधव तिमिल्सिना नेपाल आयल निगमले पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेपनि बढेको देखाउँदै पेट्रोलियमको मूल्य उपभोक्ताबाट असुलीरहेको बताए । निगमले दावी गरेका व्यवस्थापकीय लगायतका खर्चहरु नै हालसम्म नबुझिएको उनले बताए । ‘आयल निगमले विश्व बजारमा तेलको मूल्य घटिरहँदा पनि अन्तरराष्ट्रिय कारणको बहाना बनाउँदै बढाइरहेको छ,’ उनले भने, ‘नेपाल आयल निगमले गर्ने व्यापारीक कारोबार नै पारदर्शी नभएपछि निगमले भनेको मूल्यमै शंका गर्ने स्थान रहन्छ ।’

सोमबार विश्व बजारमा कच्चा तेल प्रतिव्यारल १ सय ३ डलर प्रतिव्यारलमा कारोबार भईरहेपनि नेपालमा भने प्रशोधित पेट्रोलियमको मूल्य उच्च छ । अर्थात हाल नेपालमा पेट्रोल प्रतिलिटर १ सय ८१ रुपैयाँ, डिजेल, १ सय ७२ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा विक्री भईरहेको छ । यसमार्फत पनि आयल निगमले आफुले घाटा व्यहोरिरहेको बताउँदै आएको छ ।

नेपाल सरकारले केही कर कटौती गरेर पेट्रोलियमको उपभोक्ता मूल्य घटाएपनि स्रोतमै कर नहट्दा निगमले झन धेरै पेट्रोलियम पदार्थमा घाटा व्यहोर्नुपरेको प्रवक्ता उपाध्यायले बिजखबरलाई बताए । उनका अनुसार हाल सरकारले कर कटौती गरेपछि निगमले पेट्रोल विक्री गरेवापत प्रतिलिटर ३०, डिजेलबाट ४५ र खाना पकाउने ग्याँसबाट प्रतिसिलिण्डर ५ सय ६१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । यसो हुँदा चालु आवको अन्तिमसम्म निगमको घाटा ५५ अर्बसम्म पुग्ने उपाध्याले बताए ।

उनका अनुसार नेपाल आयल निगमले हालसम्म तेल खरिद गरेको पैसा ३० अर्ब समेत आईओसीलाई बुझाउन सकेको छैन । जसको शोधभर्ना अर्थमन्त्रालयले गर्ने बताइएको छ । यसरी उपभोक्ताले महंगो मुल्य हालेर तेल खरिद गरिरहँदा र निगमको घाटा चुलिरहँदा निगमको अस्तित्वमै प्रश्न खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL