Logo

भारत–पाक युद्धविराम : नेपालीले जम्मा गरे तीन महिनाका लागि पुग्ने ग्यास, अभावको डर अब टर्‍यो

भारत–पाक युद्धविराम : नेपालीले जम्मा गरे तीन महिनाका लागि पुग्ने ग्यास, अभावको डर अब टर्‍यो



काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनाव शनिबारदेखि केही हदसम्म शान्त भएको छ। तनाव चरममा रहँदा नेपालमा समेत आपूर्तिको अभाव हुने चिन्ता बढेको थियो। भारतबाट खाद्यान्नसहित अधिकांश आवश्यक सामग्री आयात गर्ने नेपालमा युद्धको सन्त्रासले जनतामाझ अस्वाभाविक रूपमा ग्यास र खाद्यवस्तु सञ्चय गर्ने होड चलेको थियो।

उक्त डरका कारण धेरै उपभोक्ताले आफ्नो घरमा भएका सबै सिलिन्डरहरूमा ग्यास भराउँदै, तीन महिनासम्म पुग्ने जति ग्यास सञ्चय गरे। नेपालमा खाना पकाउने ग्यासको माग शनिबारसम्म ५० प्रतिशतले वृद्धि भएको नेपाल ग्यास विक्रेता महासंघले जनाएको छ।

काठमाडौं, बालुवाटारस्थित एक ग्यास विक्रेताका अनुसार, सामान्य अवस्थामा दैनिक २०० देखि २५० सिलिन्डर बिक्री हुनेमा शनिबार एकैदिन ६०० भन्दा बढीको माग आयो। ूमाग यति धेरै भयो कि केहीबेर त ग्यास आपूर्ति धान्नै गाह्रो भयो, उनले भने।

नेपाल ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार बजारमा तत्काल ग्यास अभाव हुने अवस्था भने अझै आएको छैन। ‘युद्धका कारण त्रास हुनु स्वाभाविक हो,’ उनले भने, ‘त्यसैले माग अत्यधिक थियो, तर अब अवस्था सामान्य बन्दै गएको छ।’

नेपालमा मासिक ४५ हजारदेखि ५० हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार पछिल्लो तनावका कारण ग्यासको माग अस्वाभाविक रूपमा बढेको थियो। ‘अहिले माग घटेको छ, यदि यो माग अझै दुई दिनजति कायम रहेको भए आपूर्ति नै अवरुद्ध हुने सम्भावना थियो,’ उनले भने ।

घिमिरेका अनुसार त्रासकै कारण कतिपय उपभोक्ताले एकैपटक ५ वटा ग्यास सिलिन्डरसम्म खरिद गरेका थिए। अब अवस्था सामान्य हुँदै गएको छ, उपभोक्ताले पनि डरबाट मुक्त हुनुपर्छ,’ उनले भने।

गत अप्रिल २२ मा जम्मु–कश्मीरको पहल्गाममा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको थियो। पाकिस्तानी आतंकवादी समूह लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले गरेको उक्त हमलामा २५ भारतीय र एक नेपाली नागरिकको ज्यान गएको थियो।

भारतले पाकिस्तानका पूर्व विशेष सेवा समूहका कमान्डर हाशिम मूसालाई योजनाकार ठहर गर्दै ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही थालेपछि स्थिति झनै जटिल बनेको हो। त्यस क्रममा पाकिस्तानतर्फ ४५ जनाभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पछिल्लो समय पाकिस्तानले पनि भारतीय सैन्य अड्डामा जवाफी हमला गरेको छ। यस क्रममा १० देखि १५ जनाको मृत्यु भएको बताइएको छ।

यो तनाव दीर्घकालीन र अल्पकालीन रूपमा नेपालको अर्थतन्त्रमा असर पार्न सक्ने अर्थविद्हरू बताउँछन्। नेपालले आफ्नो कुल अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइभन्दा बढी भारतसँग गर्छ। चामल, गहुँ, दाल, चिनी, तेललगायत खाद्यवस्तुहरू भारतबाट आयात हुने भएकाले युद्धले आपूर्ति श्रृंखलामा बाधा पुर्‍याउन सक्थ्यो।

२०१५ को भारत–नेपाल नाकाबन्दीले देखाएको झैं हालको परिस्थितिले पनि मूल्यवृद्धि र अभाव निम्त्याउने खतरा रहेको थियो। तर शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएपछि नेपालले तत्कालीन संकटबाट राहत पाएको छ।

प्रतिक्रिया दिनुहोस्