Logo

नारायणगढ-बुटवल सडक : म्याद सकिन केही दिन मात्रै बाँकी, प्रगति १८ प्रतिशत मात्रै

नारायणगढ-बुटवल सडक : म्याद सकिन केही दिन मात्रै बाँकी, प्रगति १८ प्रतिशत मात्रै



काठमाडौँ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाको म्याद सकिन केही दिन मात्रै बाँकी छन् । तर सडक विस्तारको प्रगति भने १८ प्रतिशत मात्रै देखिएको छ ।

विसं २०७९ साउन २२ गतेभित्र सडक विस्तारको काम सकाएर सरकारलाई हस्तान्तरण गर्नेगरी २०७५ माघ २४ गते सम्झौता भएको थियो । बायालिस महिनाभित्र निर्माण सक्ने गरी सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’ले करिब दुई महिना ढिलागरी सडक विस्तार थालेको थियो । विभिन्न अवरोध र कोभिड–१९ का कारण काममा ढिलाइ भएको हो ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जिनीयर रमेशकुमार दिष्टी पछिल्लो समय सडक विस्तारको कामले गति लिएको बताउछन् । “रुख कटानमा अवरोध भयो, बिजुलीको खम्बा पनि समयमै फेर्न सकिएन”, उनले भने । उक्त सडकखण्ड सहरी क्षेत्रमा ६ लेन तथा अन्यत्र चार लेनमा विस्तार हुँदैछ । निर्धारित समयमै काम नसकिने दिष्टीको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत ११४ किमी लामो नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ६५ किमी सडक पर्छ । सडकको बीच भागमा बिरुवा रोपण गरिने आयोजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको चार किमी सडक तीन लेनको मात्रै हुनेछ । पूर्वी खण्डमा सडक विस्तारसँगै १२ ठूला तथा २२ साना पक्की पुल निर्माण हुँदैछन् ।

“ठूला ११ र साना नौ पुल निर्माण सम्पन्न भएका छन्”, योजना प्रमुख दिष्टीले भने । सडक विस्तार गर्न पूर्वी खण्डको गैँडाकोटदेखि दाउन्नेसम्म मापदण्डभित्र पर्ने ३६ हजार २६७ रुख कटान गरिएको छ ।केही स्थानमा मात्रै रुख कटानको काम बाँकी रहेकोउनले बताए । विस्तारसँगै गैँडाकोटको पितौजीदेखि देवचुलीको प्रगतिनगरसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा विस्तार सुरु भएको उक्त सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख छ ।

लागतको ८५ प्रतिशत रकम एशियाली विकास बैंक (एडिबी)ले ऋणस्वरुप उपलब्ध गराएको प्रमुख दिष्टीले जानकारी दिए । गैँडाकोट–दाउन्ने सडकखण्ड (६५ किमी) को लागत रु नौ अर्ब १३ करोड १९ लाख तथा दाउन्ने–बुटवल खण्ड (४९ किमी) को लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL