Logo

शुन्य भन्सारमा २ अर्ब ५२ करोडका हातहतियार आयात, आर्मीका ट्यांक मात्रै ३० ओटा

शुन्य भन्सारमा २ अर्ब ५२ करोडका हातहतियार आयात, आर्मीका ट्यांक मात्रै ३० ओटा



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठसम्म) मा २ अर्ब ५२ करोड रुपैयाँ बढीका हातहतियार आयात गरेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा ३८ लाख ५० हजार ६ सय थान हातहतियार नेपालमा आयात भएको हो।

शुन्य भन्सारको सुविधामा आयात हुने यस्तो हतियारबाट सरकारले भन्सार उठाउँदैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका लागि यस्ता हतियार आयात हुने गरेका छन् ।

भन्सार विभागका अनुसार ११ महिनामा आयात भएका २ अर्ब ५२ करोड ८० लाख बराबरका हतियारमध्ये सबैभन्दा बढी बम र ग्रिनेड आयात भएका छन् । विभागका अनुसार पछिल्लो ११ महिनामा ३६ लाख ७४ हजार थान ५८ करोड ९४ बम र ग्रिनेड ५८ करोड ९४ लाख ३४ हजार रुपैयाँमा आयात भएका हुन् । यस्तै यसै अवधिमा नेपालले १ अर्ब २७ करोड ९६ लाख रुपैयाँ बराबरको १ लाख ७६ हजार थान अन्य हातहतियार आयात गरेको छ ।

यस्तै पछिल्लो ११ महिनामा १ लाख ३९ हजार रुपैयाँ बराबरका ३० थान सर्टगन, ८२ लाख १९ हजार रुपैयाँ बराबरका १ सय थान पेस्तोल र रिभल्भर, १७ थान तोपधारी हतियार र ६५ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको बख्तरबन्द गाडी आयात गरेको छ ।

यी सबै हतियारहरु नेपालले शुन्य भन्सारमा आयात गरेको हो । चालु आर्थिक बर्षको ११ महिनामा नेपालमा १ सय १७ वस्तुहरु यो सुविधाको उपयोग गर्दै आयात भएका छन् । जसमध्ये यो सुविधाको भरपुर उपयोग गर्दै सबैभन्दा बढी लागतका सेनाका बख्तरबन्द गाडी भित्रिएका छन् । शुन्य भन्सारमा धेरै आयात हुने वस्तुको पहिलो स्थानमा पनि बख्तरबन्द गाडीहरु नै छन् ।

पछिल्लो ११ महिनामा कुल ३ अर्ब ५२ करोड रुपैयाँ बराबरका वस्तुहरु यो सुविधामार्फत आयात भएका हुन् । जसमा एयरपोर्टमा चल्ने सवारीसाधन, मानिसका लागि खोप, जनवारका लागि खोप, ग्याँस बुलेटलगायतका वस्तुहरु छन् ।

यस्तै नेपालमा यस अवधिमा शुन्य भन्सारमार्फत नै १०० देखि १५० किलोवाट क्षमताका ३ करोड ६७ लाख रुपैयाँ बराबरका १३ थान विद्युतीय गाडीसमेत आयात भएका छन् । नेपालले यस अवधिमा शुन्य भन्सारमै गाडीहरुको चेसिस, रसायनिक मल, दृष्टिविहिनले बोक्ने लट्ठी, नुनलगायत वस्तु पनि आयात गरेको छ ।

नेपालले चालु आर्थिक बर्षको ११ महिनामा वस्तु आयातमार्फत ४ खर्ब ४६ अर्ब ७९ लाख रुपैयाँ बराबर भन्सार राजस्व असुल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL