Logo

देशभर सवारी लाइसेन्सको आवेदन अवरुद्ध, ओटीपी कोड नआउँदा हजारौंले दिन पाएनन् आवेदन

देशभर सवारी लाइसेन्सको आवेदन अवरुद्ध, ओटीपी कोड नआउँदा हजारौंले दिन पाएनन् आवेदन



काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दिनेबेलामा ओटीपी कोड नआउँदा सेवाग्राही मर्कामा परेका छन् । नयाँ प्रणालीमार्फत लाइसेन्सको आवेदन लिने गरेको विभागले आवेदन दिँदा ओटीपी कोर्ड सेवाग्राहीको मोबाईलमा पुगेपछि मात्रै भेरिफाइ हुने व्यवस्था मिलाएको छ । तर, आज बिहानैदेखि सेवाग्राहीहरुले आवेदन भर्दा ओटीपी कोड नपाउँदा समस्या सिर्जना भएको हो ।

हालसम्म पनि ओटीपीको समस्या समाधान नहुँदा विभागमा १५ हजार बढी ओटीपी कोड पेन्डिङमा रहेको विभागका निर्देशक सन्तोष पोख्रेल बताउँछन् । उनका अनुसार हिजोदेखि नै ओटीपी आउने प्रणालीमा समस्या आएपछि समाधानका लागि विभाग लागिपरेको छ । तर, हालसम्म समाधान भईसकेको छैन ।
आज ओटीपी कोर्ड सेवाग्राहीको मोबाइलमा नपुग्दा देशभर लाइसेन्सको फारम कसैले भर्न पाएका छैनन् । विभागका निर्दशक पोख्रेलका अनुसार सेवाग्राहीलाई सास्ती भएपछि ओटीपी आउने व्यवस्था नै परिवर्तन गर्ने कि भन्ने प्रश्न पनि उब्जिएको छ ।

नेपाल टेलिकमको सेवामार्फत लाइसेन्सको फारम भर्ने सेवाग्राहीसम्म भेरिफिकेसनका लागि ओटीपी कोड पुग्छ । तर, टेलिकमको सेवामा समस्या आएका कारण सेवाग्राहीले ओटीपी कोड प्राप्त गर्न नसकेको र अनलाइन आवेदन भर्न अप्ठ्यारो भएको निर्देशक पोख्रेल बताउँछन् । ‘हामीले रातीदेखि नै यसको समस्या समाधानका लागि टेलिकमसँग बुझ्ने र जानकारी लिने काम गरिरहेका छौं,’ उनले भने, ‘तर, हालसम्म समस्या समाधान भएको छैन, सेवाग्राहीलाई धेरै दुख भएपछि ओटीपी नै हटाउने की भन्ने अवस्थामा पुगिसक्यौं ।’

यता नेपाल टेलिकमले भने टेलिकमको सेवामा यस्तो समस्या नआएको बताएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले टेलिकममार्फत जाने ओटीपी अन्य कम्पनीहरुका लागि गइरहेकाले यस्तो समस्या नभएको बताए । यातायात व्यवस्था विभागले नयाँ सफ्टवेयर प्रणालीमार्फत लाइसेन्सको अनलाइन आवेदन लिने व्यवस्था मिलाएको छ । जसअन्तर्गत फारम भर्ने सेवाग्राहीको मोबाईलमा ओटीपी कोड आई फारममा भेरिफाई नभएसम्म कार्यालय भिजिटको मिति दिईँदैन । तर, विहान सातै बजेदेखि फारम भर्न पर्खिएका सेवाग्राहरुहरुले ओटीपी कोड नपाउँदा फारम भर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL