Logo

हिजो रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो, आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

हिजो रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो, आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी नचल्ने



काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए ।

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ । ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरुपमा बन्द गरेको छ । रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए ।

सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This