Logo

नेपालमा पहिलोपटक चुम्बकीय शक्तिबाट विद्युत् उत्पादन हुँदै, १५ मेगावाट क्षमता साढे ५ अर्ब लगानी

नेपालमा पहिलोपटक चुम्बकीय शक्तिबाट विद्युत् उत्पादन हुँदै, १५ मेगावाट क्षमता साढे ५ अर्ब लगानी



काठमाडौं । सम्भवतः नेपालमा पहिलोपटक चुम्बकीय शक्तिबाट विद्युत् उत्पादन गर्ने तयारी थालिएको छ । नेपालमा ठूलो मात्रामा विद्युतीय उर्जा उत्पादननका लागि नयाँ प्रविधिको उपयोग हुन लागेको हो । बास्तोला अर्गनाईजेशनले भक्तपुरको चाँगुनारायणस्थित वडा नं. ६ मा प्लान्ट स्थापना गरी चुम्बकीय प्रविधिबाट १५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने भएको हो । यसका लागि कम्पनीले ५ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ कुल लगानी लाग्ने जानकारी दिएको छ ।

laxmi

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र बास्तोलाका अनुसार करिव ४ महिना अघि नै उक्त परियोजनाका लागि उद्योग विभागमा प्रतिवद्धता जाहेर गरिएको थियो । यसका लागि विद्युत विकास विभागले २ बर्षअघि नै कम्पनीलाई अनुमतिपत्र प्रदान गरिसकेको भएपनि विभिन्न झमेलाका कारण हालै मात्रै विभागमा लगानी प्रतिवद्धता दिइएको उनले बताए ।

उनले यो परियोजनाका लागि सम्पूर्ण लगानी आफ्नै रहेको र महंगो भएपनि बैंकको ऋण छिटै तिर्न सकिनेसमेत बताए । ‘जलविद्युतकै कुरा गर्दा यसको स्थापना गर्न धेरै समय लाग्छ र लागत पनि त्यहिअनुसार नै लाग्छ,’ उनले भने, ‘तर, हामीले स्थापना गर्न लागेको प्रविधिलाई भवन निर्माण गरेसँगै ३ महिनामै स्थापना गरी विद्युत उत्पादन नै गर्न सकिन्छ, यसो हुँदा मैले भने यो प्रविधिलाई अन्यको तुलनामा सस्तो मान्छु ।’ कम्पनीले ४ रोपनी क्षेत्रफलमा भवन बनाएर ३०० किलोवाटका ५० वटा युनिटबाट १५ मेगावाट विद्युत् उत्पादन गर्न लागेको उनले जानकारी दिए । ‘हाल धेरैले यसका बारेमा बुझ्न चाहनुभएको छ र यस्तो पनि हुन्छ र भन्ने पनि छ,’ उनले भने, ‘तर, हामी बुझाउनुभन्दा पनि काम गरेर देखाउने तयारी गर्दैछौं । ’

त्यहाँ उत्पादित विद्युत् भक्तपुरको सबस्टेसनमा जोड्ने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उद्योग विभागबाट स्विकृती पाएपछि र विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएपछि ३ महिनामै विद्युत उत्पादन गर्न सकिने छ । हाल नेपालमा प्रयोग गर्न लागिएको यस्तो प्रविधि विश्वका १५ देखि २० देशमा संचालनमा रहेको कम्पनीका सीईओ बास्तोला बताउँछन् । कम्पनीले लाइसेन्स पाएपछि विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरणसहित ऊर्जा मन्त्रालयका अधिकारीहरुलाई प्रस्तुतिकरण दिइसकेको छ ।

विद्युत विकास विभागले कम्पनीलाई वैकल्पिक प्रविधिबाट उर्जा उत्पादनका लागि २ बर्षअघि नै लाईसेन्स दिएपनि विद्युत प्राधिकरणले विद्युत खरिदका लागि सम्झौता गर्न मानिरहेको छैन । विद्युत प्राधिकरणसँगको सम्झौता सकिएको ३ महिनामै १५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । यो विद्युत उत्पादनका अन्य प्रविधिभन्दा महंगो भएपनि जडान गर्ने लागत, समय र अन्य स्रोतको आवश्यक नहुने हुनाले सस्तो नै हुने उनको बुझाई छ । कम्पनीले उद्योग विभागमा गत १३ गते परियोजना स्थापनाका लागि प्रतिवद्धता दिएको हो । कुल ५ अर्ब ५८ करोड रुपैयाँ लागत तोकेर १५ जनालाई रोजगारी दिइने प्रतिबद्धतामा छ ।

के हो चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन

सामान्य रुपमा विद्युत उत्पादन गर्नका लागि डाइनामो अर्थात जेनेरेटरको आवश्यकता पर्दछ । यसमा राखिएको चुम्बक र तामाको तारको क्वाईलमध्ये एउटा घुम्दा वा हल्लिदा त्यसबाट विद्युत उत्पादन हुन्छ । हाल नेपालमा सोलार, वायु उर्जा थोरै परिणाममा उत्पादन भएपनि मुख्य रुपमा जलविद्युतबाट विद्यतीय उर्जा उत्पादन गरिदैं आएको अवस्था छ । यसका लागि जेनेरेटरलाई हावा वा पानीको मद्दतले हल्लाउने वा घुमाउने गरिन्छ ।
अर्थात विद्युत उत्पादनका लागि कुनै बाहिरि स्रोतको आवश्यकता पर्दछ । तर, चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन गर्दा कुनै बाहिरी स्रोतको आवश्यकता पर्दैन । यसमा राखिएका चुम्बकले नै जेनेरेटरलाई घुमाउँछ । त्यसका लागि पहिले सामान्य व्याट्रीमार्फत यसलाई स्टार्ट गर्नुपर्छ र सहजै बन्द गर्न सकिन्छ । यसका लागि जेनेरेटलाई चुम्बकले बनेको म्याग्नेटिक ट्रान्सड्युसरसँगा जोडिएको हुन्छ । यस्तो हुँदा जेनेरेटर घुमाउनका लागि कुनै बाह्य स्रोत वा शक्तिको आवश्यक पर्दैन र अनन्तसम्म विद्युत उत्पादन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL