Logo

पाँच अर्बको इम्बोस्ड नम्बर प्लेट जडान योजना साढे ५ बर्षदेखि अलमलमा, पूरा होला २० महिनामा २५ लाख सवारीमा जडान गर्ने लक्ष्य ?

पाँच अर्बको इम्बोस्ड नम्बर प्लेट जडान योजना साढे ५ बर्षदेखि अलमलमा, पूरा होला २० महिनामा २५ लाख सवारीमा जडान गर्ने लक्ष्य ?



काठमाडौं । नेपालमा लामो समयदेखि चर्चा र विवादमा रहेको इम्बोस्ड नम्बर प्लेट जडान सुस्त देखिएको छ । पछिल्लो साढे ५ बर्षमा यातायात व्यवस्था विभागले जम्मा १५ हजार मात्रै इम्बोस्ड नम्बर प्लेट वितरण गरेको छ । गएको जेठ महिनासम्म २५ लाख सवारीसाधनमा जडान गरिसक्नुपर्ने सर्त राखिएको उक्त परियोजनामा भनेअनुसार काम नहुँदा हालसम्म जम्मा १५ हजारओटा मात्रै छापिएको हो । विभागले चालु बर्षको पछिल्ले ८ महिनामा पनि जम्मा ११ हजार ओटा मात्रै अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट छापेर वितरण गरेको छ ।

laxmi

सरकारले विसं २०७३ जेठ १७ गते अमेरिकी र बंगलादेशको जोइन्ट भेन्चर कम्पनी डेकाटुर टाईगरसँग ५ बर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेगरी सम्झौता गरेको थियो । तर, सम्झौता भएको ५ बर्षमा विभिन्न अड्चनका कारण कम्पनीले ४ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकेको थियो । यसबीचमा कम्पनीबिरुद्ध सर्वाेच्चमा इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने भन्दै रिट परेपछि लामो समय सर्वाेच्चबाट आदेश नआउँदा थप ढिलाई भएको थियो । गत बर्ष मात्रै सर्वाेच्चले अंग्रेजी भाषा नै प्रयोग गर्न सकिनेगरी आदेश दिएपछि कम्पनीले गत बर्षको साउनदेखि काम यसको अघि बढाएको थियो ।

यातायात व्यवस्था विभागका अनुसार हालसम्म अर्थात म्याद सकिएर थप भएको ८ महिना वितिसक्दा पनि जम्मा १५ हजार सवारीसाधनमा मात्रै यसको जडान भएको छ । म्याद सकिनुअघि अर्थात गत जेठ अघि कम्पनीले विभिन्न चरणमा गरेर ४ हजार बढि नम्बर प्लेट छापेर वितरण गरिसकेको थियो । तर, पछिल्लो समय विनाअवरोध पनि कम्पनीले भनेबमोजिम नम्बर प्लेट छापेर वितरण गर्न सकेको देखिँदैन । कम्पनीको म्याद गत जेठ महिनामा सकिएपछि यातायात व्यवस्था विभागले पुनः २८ महिनाका लागि म्याद थप गर्दै कम्पनीलाई नै इम्बोस्ड नम्बर प्लेट छाप्ने जिम्मा दिएको थियो । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कम्पनीलाई ५० प्रतिशत समय म्याद थप्न पाइने व्यवस्थाअनुसार म्याद थपिएको थियो । यस अवधिमा कम्पनीले जसरी पनि २५ लाख सवारीसाधनमा प्लेट जडान गरिसक्नुपर्ने बताइएको छ । तर, कम्पनीलाई दिईएको म्यादको साढे ८ महिना वितिसक्दा जम्मा १५ हजार ओटा इम्बोस्ड नम्बर प्लेट जडानले विभागको सुस्तता दर्शाउँछ । कम्पनीले यस अवधिमा ३ सिफ्टमा काम गराएर भएपनि नम्बर प्लेट छाप्ने प्रतिवद्धता त दिएको छ । तर, भनेबमोजिम भने वितरण भएको छैन ।

गत हप्ताको बिहीबारसम्म कम्पनीले १५ हजार ओटा नम्बर प्लेट विभागलाई दिएर विभागले वितरणका लागि नेपालभरका कार्यालयहरुमा पठाएको छ । कम्पनीले हालसम्म कुल १५ हजार ओटा नम्बर प्लेट उपलब्ध गराएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालले बताए । उनका अनुसार विभागले पनि कम्पनीले उपलब्ध गराएबमोजिम इम्बोस्ड नम्बर प्लेट देशभरका प्रदेश कार्यालयहरुमा पठाएर सोहीअनुसार वितरण गर्ने गरिएको छ ।

कम्पनीसँग सम्झौता भएकै समयमा सरकारले डेकाटुर टाइगर कम्पनीलाई ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । यस्तै सम्झौतामा काम नभएपनि उक्त कम्पनीले कुल रकमको ९५ प्रतिशत अर्थात ४ अर्ब ५४ करोड २ लाख रुपैयाँ लिन पाउनेसमेत उल्लेख छ । कम्पनीले विस २०७४ साल भदौदेखि सम्झौताअनुरुप सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । लगभग ६ महिनासम्म कम्पनीले प्रिन्ट मेशिन राखेर निजी तथा सरकारी गरी ३ हजार ९ सय ४६ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेको थियो । तर, इम्बोस्ड नम्बर प्लेट नेपालीमा हुनुपर्ने भन्दै सर्वाेच्चमा रिट परेपछि जडान गर्ने काम स्थगित भएको थियो ।

करिव २ बर्षसम्म विचाराधीन रहेको मुद्दा सर्वाेच्चले सल्टाएपछि मात्रै विभागले गत बर्षको साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट वितरण गर्नेगरी सूचना निकालेको थियो । त्यसपछि पनि दोस्रो चरणको लकडाउनलगायतका बाधाका कारण इम्बोस्ड नम्बर प्लेट वितरणमा अन्यौलता हुँदै आएको विभागले जानकारी दिएको छ । यातायात व्यवस्था विभागले गत बर्षको मंसिर १ गतेदेखि नै सबै सवारीसाधनमा जडान गर्नुपर्ने बताएको थियो । जसका लागि सेवाग्राहीले विभागको वेबसाईटमार्फत फारम भरेर आफ्नो पालो अनुसार विभागमा उपस्थित हुनुपर्ने बताइएको थियो ।

सेवाग्राहीले बुझाएको डकुमेन्टअनुसार विभागको डाटा मिलेमा विभागले सेवाग्राहीलाई यातायात कार्यालयले दिएको नम्बरको इम्बोस्ड नम्बर प्लेटमा पर्सनल डाटा राख्नेछ र दिनेछ । तर, विभागले नम्बर प्लेटको मूल्य नै बढि राखिदिएपछि पछिल्लो समय स्वयं सवारीसाधनहरु यो लिन चाहेको जस्तो देखिँदैन । त्यसैका लागि भन्दै विभागले गत साउन, कार्तिक, र माघ महिनादेखि अनिवार्य गर्ने भनेपनि गर्न सकेको देखिँदैन । तर, हाल भने नयाँ दर्ता हुने र ब्लुबुक नविकरण गर्नेका लागि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ ।

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि सवारीसाधनलाई वर्गीकरण गरी मूल्य तोेकेको छ । विभागले २ पाँग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ तोकेको छ भने ३ पाँग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै ४ पाँग्रे साना सवारीसाधनका धनीहरुले भने इम्बोस्ड नम्बर प्लेट जडान गरेवापत ३ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने हुन्छ । यस्तै ठुला सवारीसाधनका धनीहरुका लागि भने ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

विभागले उल्लेखित राजस्व बुझाउने स्थानहरुको पनि टुँगो लगाएको छ । विभागका अनुसार २ पाँग्रे सवारीसाधनको धनीहरुले तोकिएको राजस्व यातायात व्यवस्था कार्यालय गुर्जुधारामा रहेको ग्लोबल आईएमई बैंकको शाखामा विभिन्न कागजातसहित बुझाउनुपर्नेछ । यस्तै अन्य सवारीसाधनको हकमा भने ललितपुरको एकान्तकुना र यातायात व्यवस्था कार्यालयमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL