Logo

धितोपत्र बोर्ड अध्यक्षका लागि फेरि दरखास्त माग, बोर्डले कहिले नेतृत्व पाउने भन्ने अलमल कायमै

धितोपत्र बोर्ड अध्यक्षका लागि फेरि दरखास्त माग, बोर्डले कहिले नेतृत्व पाउने भन्ने अलमल कायमै



काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयले फेरि दरखास्त माग गरेको छ । गत कात्तिक ११ गते अध्यक्षका लागि पहिलोपटक दरखास्त माग गरेको मन्त्रालयले
दुई महिनापछि फेरि नयाँ विज्ञापन गरेको हो ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर नयाँ नियुक्तिको प्रक्रिया शुरु गरेको मन्त्रालयले अध्यक्षका लागि १२ जनाले दरखास्त दिएपनि नयाँ अध्यक्ष छनोट नगरि फेरि विज्ञापन गरेको हो ।

छनोट तथा सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम छनोट गरेर सरकारलाई सिफारिस गर्न नसकेपछि फेरि नयाँ विज्ञापन खोलिएको बताइएको छ । सो अनुसार छनोट समितिले बिहीबार सार्वजनिक सूचना जारी गरेर २९ पुसभित्र आवेदन दिन आह्वान गरेको छ । साथै यसअघि आवेदन दिएकाहरूलाई पनि फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन भनिएको छ ।

यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL