Logo

भारत र चीनमा निर्यात व्यापार खस्किँदो, भारतको बहाना र चीनको प्रतिवन्धका कारण चेपुवामा नेपाल

भारत र चीनमा निर्यात व्यापार खस्किँदो, भारतको बहाना र चीनको प्रतिवन्धका कारण चेपुवामा नेपाल



काठमाडौं । नेपालको वैदेशिक व्यापारका लागि व्यापक सम्भावना भएर पनि छिमेकी देश भारत र चीनमा पछिल्लो समय निर्यात व्यापार खस्किदै गएको छ । केही बर्ष अघिसम्म नेपाली उत्पादनका लािग सहज भएपनि भारत र चीनले पछिल्लो समय नेपालको निर्यात व्यापारलाई नै धरापमा पार्नेगरी विभिन्न नीतिनियम लाद्ने गरेका छन् । नेपाल केन्द्रिन नीतिनियमले नेपालका निर्यात व्यवसायीहरु धरापमा पर्न थालेका छन् ।

चीनतर्फको निर्यात लगातार ओरालो

पछिल्लो ५ बर्षको तथ्यांकलाई हेर्ने हो भने भारत र चीनमा निर्यात व्यापार विस्तारै ओरालो लाग्ने क्रममा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र टीईपीसीका अनुसार आर्थिक बर्ष २०७३-७४ मा १ अर्ब ८० करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु चीनतर्फ निकासी भएको देखिन्छ । तर, त्यसको पछिल्लो बर्ष अर्थात आर्थिक बर्ष २०७४-७५ मा चीनतर्फ हुने निर्यात बढेर २ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको पुगे पनि त्यसपछि भने व्यापार घट्दो छ ।

तथ्यांकअनुसार आर्थिक बर्ष २०७५-७६ मा अघिल्लो बर्षको तुलनामा चीनतर्फको निर्यात घटेर २ अर्ब १० करोड ९७ लाख पुगेको थियो । यस्तै आव २०७६-७७ मा १ अर्ब १९ करोड र गत बर्ष झन त्यो निर्यात घटेर १ अर्ब १ करोड रुपैयाँमा सीमित भएको देखिन्छ । यता चीनतर्फ सामान पठाउन सजिलो मानिने रसुवा र तातोपानी नाकाहरु पछिल्लो २ बर्षदेखि बन्द छन् । यी नाकाबाट पछिल्लो २ बर्षमा नेपालले गर्ने निर्यात व्यापार बन्दप्राय छ । नेपालबाट चीनमा निर्यात हुने गलैंचा, पेन्टिङलगायतका वस्तुको निर्यात उच्च रुपमा घटेको देखिन्छ । नेपालबाट चीनमा हातले बुनेको गलैंचा, पेन्टिङ, फेल्टका सामग्री, जडिवुटी, लेन्स, रुद्राक्षलगायतका वस्तुहरु निर्यात हुने गरेका छन् । यी वस्तुहरु अब चीनले अन्तै देशहरुबाट आयात गर्न सकिने नीति लिएपछि नेपालका वस्तुहरुको निर्यात घटेको उद्योगी व्यवसायीहरु बताउँछन् ।

उत्तरी नाका रसुवा र तातोपानीबाट उल्लेख्यमात्रामा आयात भइरहेपनि चीनले नेपालबाट लैजाने सामानमा भने पुर्ण प्रतिबन्ध लगाएको छ । नेपाल सरकारले धेरैपटक उक्त प्रतिवन्ध हटाउने कोशिश र अनुरोध गरेपनि चीन सरकारले त्यसलाई वेवास्ता गर्दैआएको छ । कहिले बाटोको समस्या, कहिले पुलको मर्मत, कहिले चाडपर्वलगायतका बहाना गरेर आयात पनि रोक्ने गरेको चीनले निर्यातमा त ध्यानै दिँदैन । यस्तो हुँदा नेपालका धेरै निर्यातकर्ताहरु मारमा परेको निर्यात परिसद नेपालका उपाध्यक्ष रेशम पोख्रेल बताउँछन् । उनका अनुसार चीनले नेपालका वस्तुहरु रोकिँदिँदा निर्यात व्यापारमा कमी आएसँगै व्यापारघाटा बढाउन पनि सहयोग पुगेको छ ।

खानेतेलले उक्साएको निर्यात व्यापार

भारततर्फ भने पछिल्लो समय बढेको पाम, सोयाविन र सुर्यमुखी तेलको निर्यातले निर्यात व्यापार राम्रो देखिएपनि अन्य वस्तुहरुको निर्यात घट्दो छ । पछिल्ला २ आर्थिक बर्ष भारतमा नेपालको निर्यात व्यापारमा उल्लेख्य प्रगति भयो । कोरोना कालमै नेपालको निर्यात व्यापार शतप्रतिशत बढीले वृद्धि भयो । यसबेला नेपालको निर्यात व्यापारमा सबैभन्दा ठूलो हिस्सा भने खानेतेलकै थियो । समानान्तर रुपले नपालमै उत्पादन भएर निर्यात हुने वस्तुहरुको तुलनामा तेलको निर्यात एकाएक बढेपछि निर्यात व्यापारमा उत्साह त छायो तर क्षणिक ।

आर्थिक बर्ष २०७५-७६ मा नेपालले कच्चा पाम आयात गरी प्रशोधन गरेर १० अर्ब ३३ करोड ३० लाख रुपैयाँ बराबरको पाम तेल निर्यात गर्याे । त्यो पनि भारतमा मात्रै । भारतमा मात्रै निर्यात हुन थालेपछि त्यसको पछिल्लो बर्ष २०७६-७७ मा पनि नेपालबाट १८ अर्ब ३१ करोड रुपैयाँ बढीको पाम आयल निर्यात भएको देखिन्छ । त्यसको पछिल्लो बर्ष भने नेपालको पाम आयल निर्यातमा भारतको आँखा परेपछि आफ्नो देशमा पाम तेल उत्पादन र आयातमा बढवा दियो र नेपालको व्यापार सुक्यो । जसका कारण आर्थिक बर्ष २०७७-७८ मा नेपालबाट भारतमा हुने पाम आयलको निर्यात घटेर ४ करोड ४२ लाख रुपैयाँमा झर्याे । नेपाली व्यवसायीले भारतमा निर्यात गर्नेगरी ल्याएको लाखौं टन कच्चा पाम तेल नेपालमै खपत गर्नुपर्ने बाध्यता आयो ।

त्यसपश्चात नेपाली तेल व्यवसायीहरु भटमास र सुर्यमुखी तेलको निर्यातमा केन्द्रित भए । भारतले भटमास र सुर्यमुखी तेलको आयात गर्नेभएपछि अर्जेन्टीना, ब्राजिललगायतका देशबाट कच्चा तेल आयात गरेर नेपाली उद्योगीहरुले प्रशोधन गरी भारत पठाउने प्रक्रिया सुरु गरेको पनि ३ आर्थिक बर्ष पुगेको छ । यी ३ आर्थिक बर्षमा मात्रै नेपालले प्रतिवर्ष ३ सय प्रतिशतले यसको निर्यात बढाउँदै आएको छ । आर्थिक बर्ष २०७५÷७६ मा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको सोयावीन तेल भारत निर्यात गरेको नेपालले त्यसको पछिल्लो बर्ष २०७६÷७७ मा १२ अर्ब ६९ करोड रुपैयाँ बराबरको तेल निर्यात गर्याे । यस्तै गत आर्थिक बर्षभरी भारतमा ५३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात गरेको तथ्यांकले देखाउँछ । तर, भारतले अब कच्चा र रिफाईन तेलका लागि लगाउने भन्सार महशुल घटाएर पुनः नेपालको पाम र सोयाविन तेलको व्यापारलाई पनि धरापमा पार्न लागिपरेको छ ।

भदौ २५ गतेसम्म पाम, भटमास र सुर्यमुखी तेलको पैठारीमा ३० प्रतिशत भन्सार महसुल तोकेको भारतले गत असोज २६ देखि उक्त महशुल घटायो । जसअनुसार पाम तेलको २४.७५ प्रतिशतलाई घटाएर ८.२५ प्रतिशत र भटमास र सूर्यमुखीको कच्चा तेलमा २४.७५ बाट ५.५० प्रतिशत कायम हुने गरी संशोधन गरेको थियो । तर, पुनः भारतले मंगलबार मात्रै एक सूचना जारी गर्दै उक्त भन्सार महशुललाई आगामी बर्षभरी मान्य हुने बताएको छ । यसले नेपालबाट हालसम्म भईरहेको पाम, भटमास र सुर्यमुखीको तेलको निर्यात पनि अब ठप्प हुने मोरङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका बताउँछन् । उनका अनुसार भारतले पैठारी हुने तेलको भन्सार महशुल घटाईदिँदा भारतीय बजारमा नेपालको तेल महंगो हुनेछ । त्यस्तो भएमा नेपालको निर्यात घटेर उतै उत्पादित तेलको खपत बढ्ने उनको भनाई छ । यसरी भारतले खानेतेलको निर्यातमा प्रतिवन्धजस्तै लगाएपछि एकाएक सुन्निएको नेपालको निर्यात व्यापार पुनः ओरालो लाग्ने सम्बन्धित व्यवसायीहरु बताउँछन् । अब भारतमा निर्यात गर्नेगरी ल्याएको खानेतेलको कच्चा पदार्थ नेपालमै खपत हुनेगरी तेल उत्पादन गर्नुपर्ने बाध्यता आएको खानेतेल उत्पादकहरु बताउँछन् । यसरी तेलको निर्यात प्रतिवन्ध लाग्ने अवस्थामा पुगेसँग भारततर्फ निर्यात हुने अन्य वस्तुको अवस्था पनि घट्दो छ ।

खाने तेलबाहेकका वस्तुको निर्यात लगातार ओरालो

तेलबाहेकका वस्तुहरुको निर्यात हेर्दा भारतमा गत आर्थिक बर्षभर जम्मा ५२ अर्ब रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको देखिन्छ । यो अघिल्लो आर्थिक बर्ष २०७६÷७७ को तुलनामा ५ अर्ब हाराहारीले कम हो । अघिल्लो बर्ष नेपालले भारतमा ५७ अर्ब ४१ करोड ७७ लाख रुपैयाँ बराबरको खानेतेलबाहेकका वस्तुहरु निर्यात गरेको थियो । यस्तै आर्थिक बर्ष २०७५-७६ मा भने नेपालले भारतमा ६० अर्ब ३८ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको देखिन्छ । यसरी हेर्दा पछिल्ला ३ आर्थिक बर्ष नेपालबाट भारतमा निर्यात हुने वस्तु प्रतिवबर्ष ५ अर्बका दरले घटिरहेको छ । यस्तो घटीरहेको निर्यात व्यापारमा तेलको निर्यात शुन्यमा पुगे नेपालको निर्यात व्यापार पुरानै लयमा फर्किने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ तथ्यांक विश्लेषक कृष्णराज बजगाईँ बताउँछन् ।

यसरी भारतले चीनमा र चीनले भारतमा नेपालको साँठगाँठ बढी नहोस भन्ने चाहानाले पनि नेपालको वैदेशिक व्यापार धरापतर्फ सोझिएको नेपाल फ्रेट परवाडर्स एशोसिएसनका निवर्तमान अध्यक्ष राजन शर्मा बताउँछन् । उनका अनुसार नेपालमा चीनको साँठगाँठ बढ्दै गएपछि भारतले नेपाली व्यवसायीहरुलाई बैठकमै बोलाएर सोधपुज गर्ने गर्दछ । ‘एकचोटी भारतले बैठक नै बोलाएर चीनको साँठगाँठ बढ्नुको कारण पनि सोधिएको थियो,’ उनले भने, ‘हामीले पनि भारतले नेपालप्रति गरिने बेलाबेलाको अश्वभाविक व्यहोराका कारण यस्तो भएको बतायौं ।’ चीनसँग पारवहन सम्झौता, रेलमार्गका कुरा, वैदेशिक व्यापार सहजीकरणलगायतमा नेपालप्रति चीन आकर्षित हुनुको कारणबारे व्यवसायीलाई बेलाबेलामा भारतले प्रश्न खडासमेत गर्ने गरेको छ । छिमेकी दुई देशबीचको रस्साकस्सीको केन्द्रका रुपमा नेपाललाई हेरिएकाले नेपालको निर्यात व्यापारमा बेलाबेलामा अड्चन आईरहने जानकारहरु बताउँछन् ।

नेपाल सरकारको निरीहता

भारत र नेपालबीच सन १९६० मा भएको ट्रेड एण्ड ट्रान्जिट ट्रिटी संशोधन गर्न भारत इच्छुक भएपनि नेपाल भने अनिच्छुक नै देखिन्छ । उक्त सन्धिमा धेरैजसो नेपालविरोधी व्यापार नीतिहरु भएकाले यसलाई संशोधन नगरी नेपालको वैदेशिक व्यापार नफस्टाउने शर्मा बताउँछन् । उनका अुनसार नेपाली व्यापारी तथा व्यवसायीहरुले नेपालको वस्तुहरु निर्यातका लागि हाल भारतीय पक्षबाट भईरहेका विभिन्न बाधा व्यवधानहरुलाई सच्याउनका लागि चिच्याउँदा पनि सरकारले नसुनेको अवस्था छ । उनका अनुसार सरकारले निजी क्षेत्रलाई भेडा बनाएर भारतको गुलामीमै रमाईरहेको छ । हाल नेपालबाट जाने वस्तुहरुको चेकजाँचदेखि बैंकिङ इन्डोर्समेन्टसम्मका कामहरु सबै भारतीय पक्षबाट हुने गरेको छ ।

चीन र भारतले नेपालमा आफ्ना वस्तुहरु मात्रै बढी खपत होउन भन्ने चाहन्छन् । तर, निर्यातमा भने जहिले अनुदारता देखाईरहेको पछिल्लो तथ्यहरुले समेत देखाउँछ । नेपालबाट भारततर्फ जाने अलैँची, अदुवा, जडिबुटीलगायतका वस्तुहरुमा भारतले प्रत्येक बर्षजस्तो विभिन्न बहाना देखाएर अवरोध खडा गर्दै आईरहेको छ । यसले नेपालको निर्यात व्यापारमा ठूलो उल्झन आउने गरेको छ । तर, सरकारले यस्ता वस्तुहरु स्वदेशमै जाँच, प्याकेजिङ र ब्राण्डिङ गर्न नसकेको अवस्था छ । यसरी नेपालमै ब्राण्डिङ गरेर बस्तु पठाउन सकियो भने नेपालको निर्यातले झन ठुलो फड्को मार्ने र निर्यात परिषदका उपाध्यक्ष रेशम पोख्रेलले बताए । नेपालमा भारतले चिनियाँ सामान नआओस आफ्नो मात्रै जाओस र चीनले आफ्नो मात्रै जाओस भन्ने चाहान्छ । तर, निर्यातमा भने दुवै देश अनुदार नै देखिन्छन् । यसरी यी दुवै देशहरुले नेपालमा गरिने व्यापारमाथि गिद्धेनजर लगाएपछि नेपालको वाणिज्य मन्त्रालय नेपालीे वस्तु निर्यातका लागि कठोर बनेको सम्बन्धित व्यवसायी बताउँछन् । क्षेत्रिय व्यापारमा हिस्सा बढाउने गरी विश्व बैंकले आयोजना गरेको कार्यक्रममा समेत नेपालले जान मानिरहेको अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL