Logo

अटोमोवाईल व्यवसायीलाई अर्थमन्त्रीको जवाफ,–‘सरकारलाई तपाईहरुको राजस्व चाहिँदैन, व्यापारघाटा कम गर्न गाडी आयात रोक्नुस’

अटोमोवाईल व्यवसायीलाई अर्थमन्त्रीको जवाफ,–‘सरकारलाई तपाईहरुको राजस्व चाहिँदैन, व्यापारघाटा कम गर्न गाडी आयात रोक्नुस’



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अटो व्यवसायीहरुलाई आफुहरुले राजस्वमा ठूलो योगदान दिएको भन्दै अनावश्यक हल्ला नफैलाउन आग्रह गरेका छन् । पछिल्लो समय नाडासम्बद्ध व्यवसायीहरुले आफुहरुले राजस्वमा २५ प्रतिशत योगदान गर्दै आएको बताईरहँदा अर्थमन्त्री शर्माले गाडी आयातकर्ताहरुले देशमा राजस्वमा योगदान गरेको भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका हुन् ।

laxmi

अर्थमन्त्री शर्माले नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालकै ४५ औं वार्षिक साधारणसभामा बोल्दै अबका दिनमा नाडाको उद्देश्य परिवर्तन गरी निर्यात व्यापारतर्फ जोड दिन आग्रह गरेका हुन् । ‘अटो क्षेत्रले राजस्वमा २५ प्रतिशत योगदान गर्यो भन्ने छ तर यो मानसिकता नराख्नुहोस्,’ कार्यक्रममा उनले भने, ‘नाडाको भूमिका बदलियोस् भन्ने चाहन्छु, अबका दिनमा बाहिरबाट गाडी आयात घटाएर बरु व्यापार घाटा घटाउन सहयोग गर्नुहोस ।’

सरकारले नेपालमै गाडी निर्माणको लागि सक्दो सहयोग गर्ने जानकारी दिँदै त्यसतर्फ लाग्न उनले आग्रह गरे । ‘हामीलाई गाडी आयात गरेर राजस्वमा योगदान चाहिएन अबका दिनमा व्यापारघाटा कम गर्न सहयोग गर्नुहोस,’ उनले भने, ‘प्रतिस्पर्धालाई पनि थप मद्दत गर्नका लागि पनि नेपालमै गाडी उत्पादन आवश्यक छ ।’ नेपालमै गाडी उत्पादनका लागि नीतिगत समस्या भएमा त्यसमा समेत परिवर्तन गर्ने प्रतिवद्धता समेत मन्त्री शर्माले जाहेर गरे ।

आफु अर्थशास्त्र जानेको मान्छे नभएपनि देशलाई कसरी आत्मनिर्भर बनाउनुपर्छ भन्ने विषयमा जानकारी भएको भन्दै त्यसभन्दा बढी जान्नु आवश्यक पनि नभएको उनको भनाई थियो । ‘अबका दिनमा आयातमा प्रतिबन्ध लगाउनुभन्दा पनि स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनेतर्फ केन्द्रित हुनु जरुरी छ,’ उनले भने, ‘नेपालमा सबै कुरा नबनेपनि सम्भावित बस्तुहरु उत्पादन गर्न केन्द्रित हुनुपर्छ ।’

साथै अबका दिनमा पेट्रोलपम्पहरुलाई चार्जिङ स्टेशनले प्रतिस्थापन गर्नुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन उनको आग्रह थियो । साथै अबका दिनमा गाडी आयातबाट राजस्वमा योगदान बढाउनुभन्दा पनि आयात न्यूनीकरण गर्दै व्यापारघाटा कम गर्नतर्फ सबै लाग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL