Logo

चीनदेखि अमेरिकासम्म नेपाली कूचोको माग, वार्षिक अर्बौको कूचो निर्यातको सम्भावना

चीनदेखि अमेरिकासम्म नेपाली कूचोको माग, वार्षिक अर्बौको कूचो निर्यातको सम्भावना



काठमाडौं । विश्व बजारमा नेपाली कूचोको निर्यात बढदै गएको छ । चीनदेखि अमेरिकासम्म अम्रिसोको कूचोको माग बढ्दै जाँदा नेपाली मौलिक उत्पादनका रुपमा रहेको अम्रिसोको कूचोको उत्पादन र निर्यातको सम्भावना फराकिलो देखिएको हो । पछिल्लो समय नेपालको निकासी व्यापार आयात गरे प्रशोधन गरिएका वस्तुकेन्द्रित भइरहेको सन्दर्भमा नेपाली मौलिक उत्पादनका रुपमा कूचो निर्यातको सम्भावना नेपालको निर्यात व्यापारका लागि अवसर बन्न सक्ने देखिन्छ ।

नेपालका पहाडी जिल्लाहरुमा प्रशस्तै उत्पादन गर्न सकिने अम्रिसोको सामग्री थप निर्यात गर्न सके नेपालको व्यापारघाटा कम गर्न सहयोग पुग्ने सम्भावना तथ्यांकले पुष्टि गर्छ । गत आर्थिक बर्षभर नेपालबाट अम्रिसो र यसबाट बनेको कुचोमात्रै ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ८३ हजार किलो निर्यात भएको देखिन्छ । अहिले अम्रिसोकोे कुचो भारत, बंगलादेश, चीनदेखि अमेरिकासम्म निर्यात भएको छ ।

पछिल्लो ५ बर्षको तथ्यांकलाई हेर्दा पनि नेपालबाट १ अर्ब ८९ करोड रुपैयाँ बराबरको अम्रिसोका सामग्री विदेश निर्यात भएको देखिन्छ । जसमध्ये आर्थिक बर्ष २०७३÷७४ मा २१ करोड ७४ लाख २८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो भने त्यसको पछिल्लो आर्थिक बर्ष २०७४÷७५ मा भने घटेर ५ करोड २९ लाख ३५ हजार रुपैयाँको मात्रै गएको देखिन्छ । यस्तै आव २०७५÷७६ मा नेपालले ४० करोड ५७ लाख ३८ हजार रुपैयाँको र आव २०७६÷७७ मा ५५ करोड ७४ लाख ७७ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात गरेको देखिन्छ । साथै गत आर्थिक बर्षभर भने नेपालले ६५ करोड ८८ लाख १३ हजार रुपैयाँको निर्यात गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ ।

अम्रिसोको सामग्रीको बजार छिमेकी देश भारतमा मात्रै नभई चीन, पाकिस्तान, बंगलादेश, अमेरिकालगायतका देशहरुमा पनि छ । तर, नेपालले भनेजति उत्पादन गर्न नसक्दा बजारमा पुर्याउन हम्मेहम्मे नै हुनेगरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक कृष्ण बजगाईँ बताउँछन् । उनका अुनसार नेपालका हरेक बाँझा क्षेत्रहरुमा अम्रिसो लगाउने हो भनेपनि नेपालले बार्षिक अर्बौँको अम्रिसो निर्यात गर्ने अवसर छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ४ महिनामा अर्थात साउनदेखि कात्तिकसम्ममा मात्रै नेपालले १८ करोड ३ लाख २१ हजार रुपैयाँ बराबरको ३६ लाख ५६ हजार किलो बढि अम्रिसोको कुचो बेचिसकेको छ । यसरी नेपालबाट विक्री हुने अम्रिसो विदेशका विभिन्न देशमा जानुपूर्व विभिन्न चरण पार गरेको हुन्छ । पूर्वी नेपालका पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, सेर्गे, मोरङको उत्तरी क्षेत्रमा उत्पादित कुचो धरानमा संकलन हुन्छ ।
कृषकबाट कच्चा मालका रूपमा अम्रिसो थोक मूल्यमा खरिद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री हुन्छ । त्यहाँका व्यापारीहरूले थप ब्रान्डिङ, प्याकेजिङ गर्ने र ५० किलोको बन्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने गरेका छन् । अम्रिसोको बोटबाट फूल थुतेर १ हप्ता सुकाएपछि यो विक्रीका लागि तयार हुन्छ । भीर पाखामा समेत लगाउने सकिने अम्रिसो भूक्षय नियन्त्रणका लागि राम्रो वनस्पति मानिन्छ । चालु आर्थिक बर्षको ४ महिनामा नेपालबाट भारत, बंगलादेश, चीनलगायतका देशमा अम्रिसोको कुचो गएको देखिन्छ ।

व्यापार विविधिकरणमा सहयोग

नेपालका रैथाने उत्पादनले पनि विश्वबजारमा पुग्ने अवसर पाउँदा एकातर्फ नेपालको निर्यात व्यापार फस्टाउँछ भने अर्कातर्फ यसले नेपालको उत्पादकत्व बढाउनसमेत सहयोग पुर्याउँछ । यस्तै नेपाल कुनै एक वस्तु र एक देशमा मात्रै निर्यातको व्यापार गर्ने प्रवृत्तिबाटसमेत बाहिर आउन सक्ने विज्ञहरु बताउँछन् ।

हाल नेपालले गर्ने कुल निर्यात व्यापारको ६० देखि ८० प्रतिशत हिस्सा भारतको छ । त्यसमा पनि पछिल्लो समय फस्टाएको खानेतेलको निर्यातले भने निर्यात व्यापारमा झनझन ठूलो संकट ल्याउँदै गएको छ । विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा प्रशोधनसँगै केही भ्यालु एड गरेर विदेशमा निकासी गर्दा नेपालको निर्यातको ६० प्रतिशत हिस्सा खानेतेलले ओगटेको छ । यसरी खानेतेलले मात्रै ठूलो हिस्सा ओगटेको नेपालको निर्यात व्यापारमा भारतले खानेतेलमै केन्द्रित गरेर नयाँ व्यवस्था ल्याएको खण्डमा नेपालबाट खानेतेल निर्यात बन्द हुने र हाल भईरहेको व्यापार ६० प्रतिशतले गिरावट आउने टीईपीसीका अधिकारी बताउँछन् । यसरी एकै वस्तु र देशमा केन्द्रित निर्यातलाई घटाएर मौलिक वस्तु निर्यात विकेन्द्रिकरण गर्न सके निर्यात व्यापार दीर्घकालीन हुन सक्छ । जसमा नेपालका रैथाने उत्पादनहरुलाई विशेष जोड दिन जरुरी रहेको सम्बन्धित बताउँछन् ।

कूचो निर्यातको सम्भावना

विश्वबजारको कुरा गर्दा कुचोको बजार मात्रै बार्षिक करीब ९ अर्ब ७० करोड डलरको पुगेको बताईन्छ । विश्वका सबैभन्दा धेरै कुचो निर्यात गर्ने देश चीन हो भने आयात गर्ने देश अमेरिका हो । सन २०१९ मा चीनले ४ अर्ब ५१ करोड डलर बराबरको कुलो बेच्दा अमेरिकाले मात्रै १ अर्ब ७० करोड रुपैयाँ बराबरको कुचो आयात गरेको देखिन्छ ।

यसलाई सन २०१९ मा सबैभन्दा धेरै विक्री हुने वस्तुको सूचीको ३२४ औं स्थानमा राखिएको छ । यस्तै उक्त बर्ष जर्मनीले १ अर्ब १३ करोड, अमेरिकाले ४२ करोड ३० लाख, इटालीले २४ करोड डलर मूल्य बराबरका कुचोको आयात गरेको तथ्यांकमा उल्लेख छ । कूचोको उच्च आयात गर्ने देशको सूचीमा भने क्रमशः अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र जापान छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL