Logo

सबैभन्दा धेरै भन्सार शुल्क के–केबाट उठाउँछ नेपाल, कति उठछ मासिक ?

सबैभन्दा धेरै भन्सार शुल्क के–केबाट उठाउँछ नेपाल, कति उठछ मासिक ?



काठमाडौं । नेपालमा पछिल्लो समय अर्थतन्त्रका विभिन्न सूचकहरु ओरालो लाग्दा चिन्ता बढदै गएको छ । पछिल्लो समय बढ्दै गएको आयातको व्यापार र भुक्तानी सन्तुलन घाटालाई अर्थविदहरुले अर्थतन्त्रको उँधो गति सुरु भएको बताइरहेका छन् । विदेशी मुद्राको प्रमुख आधार रेमिट्यान्समा आएको गिरावट, बढ्दो आयात व्यापार र भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति घाटाले अर्थतन्त्र भयावह स्थितिमा आइपुगेको विश्लेषण भइरहेको छ ।

laxmi

नेपालको आन्तरिक बजारमा पनि बैंकहरुमा तरलताको चरम अभावका कारण भनेबमोजिम कर्जा प्रवाह नहुनु र विदेशी मुद्रा संचितिमा पनि ह्रास आउनुलाई पति खतराको घण्टीका रुपमा लिन सकिने विज्ञहरुको भनाई छ । आयातकै तथ्यांक हेर्नेहो भनेपनि चालु आर्थिक बर्षको ४ महिना (साउनदेखि कार्तिक)सम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु विदेशबाट आयात गरिएको छ । यो भनेको मासिक १ खर्ब ६५ अर्ब बराबरको आयात हो । यसरी नेपालले महिनौं पिच्छे साढे १ खर्ब बढीको आयात गर्दा नेपालमा यसरी वस्तु आयात गर्न पुग्ने विदेशी मुद्रा संचिति भने जम्मा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने मात्रै छ ।

यसरी आयात ४ महिनामै साढे ६ खर्बको पुग्दा निर्यातको व्यापार भने जम्मा ८२ अर्ब १२ करोड रुपैयाँको छ । यसरी नेपालले वैदेशिक व्यापारमा ४ महिनामा मात्रै ५ खर्ब ६८ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । यसरी न्युन आयातका कारण निर्यातमार्फत आउने विदेशी मुद्रा पनि ज्यादै न्यून देखिन्छ । आयातित वस्तुको हिस्सा धेरै भएपनि यसमार्फत सरकारले १ खर्ब ७२ अर्ब २९ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ । सरकारले विदेशबाट आयात गरिएका वस्तुमार्फत करवापतको राजस्व उठाउन गरेको छ ।

पछिल्लो ४ महिनाको तथ्यांकलाई हेर्दा सरकारले सबैभन्दा धेरै राजश्व सवारीसाधन र यसका पार्टपुर्जामार्फत उठाएको छ । नेपालका विभिन्न भन्सार कार्यालयबाट नेपालले सवारी तथा यसका पार्टपुर्जा आयात गरेवापत मात्रै ४ महिनामा ४३ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ बराबरको कर उठाएको छ । यस अवधिमा नेपालले ४४ अर्ब ५९ करोड ८० लाख रुपैयाँ बराबरको यातायातका सामग्री र पार्टपुर्जा आयात गरेको थियो । नेपालमा विलासीताका वस्तुहरुको आयातलाई निरुत्साहित गर्ने उद्देश्य भएपनि यस्ता वस्तुको आयकर उच्च छ ।

४४ अर्बको वस्तु आयात हुँदा ४३ अर्ब बढी कर संकलन भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । यस्तै धेरै आयकर आर्जन गरिने दोस्रो वस्तुमा भने पेट्रोलियम पदार्थ रहेको छ । नेपालले पछिल्लो ४ महिनामा ८८ अर्ब २४ करोड ६९ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गर्दा ३५ अर्ब ७३ करोड रुपै्रयाँ बराबरको आयकर प्राप्त गरेको छ । यस्तै नेपालले पछिल्लो ४ महिनामा फलाम र फलामजन्य वस्तुहरुको आयातबाट पनि १० अर्ब ४८ करोड रुपैयाँ बढीको कर उठाएको छ । यी वस्तुहरुको आयात चालु आवको ४ महिनामा झण्डै ५५ अर्ब ६२ करोड रुपैयाँ बराबरको भएको देखिन्छ । यसरी सरकारले धेरै आयकर उठाउने अन्य बस्तुहरुमा विद्युतीय सामग्री तथा उपकरण, प्लास्टीक र यसका सरसामानहरु, विद्युतीय सरसामानलगायत वस्तुहरु रहेका छन् । यी धेरै वस्तुहरुबाट नेपालले ४ महिनामा १ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व आर्जन गरेको हो ।

यी हुन् धेरै आयकर आर्जन भएका १० वस्तुहरु

१. सवारीसाधन र पार्टपुर्जा ४३ अर्ब ६६ करोड रुपैयाँ
२. पेट्रोलीयम पदार्थ ३५ अर्ब ६३ करोड रुपैयाँ
३. फलाम तथा स्टिल १० अर्ब ४८ करोड रुपैयाँ
४. विद्युतीय यन्त्र तथा उपकरणहरु ८ अर्ब ६१ करोड रुपैयाँ
५. प्लाष्टिक र सामग्रीहरु ६ अर्ब ३९ करोड रुपैयाँ
६. मेशिनरी सरसामानहरु ५ अर्ब ८३ करोड रुपैयाँ
७. कच्चा तेल ५ अर्ब ३५ करोड रुपैयाँ
८. बहुमूल्य गरगहना ३ अर्ब ३१ करोड रुपैयाँ
९. तयारी पोशाक ३ अर्ब १३ करोड रुपैयाँ
१० सेरामिक्सका वस्तुहरु २ अर्ब ७२ करोड रुपैयाँ

खर्च न्यून

सरकारले आयकरमार्फत १ खर्ब ७२ अर्ब रुपैयाँ उठाउँदा खर्च भने न्यूनजस्तै छ । महालेखा निरिक्षकको कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ४ महिनामा कुल लक्ष्याको १९ प्रतिशत बजेट मात्रै खर्च भएको छ । अर्थात सरकारले चालु आर्थिक बर्षमा १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएपनि सोही अनुसार खर्च गर्न नसक्दा हाल जम्मा ३ खर्ब १८ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । यस्तै पूँजीगत तर्फ खर्चको अवस्था भने दयनीय छ ।

अर्थात हालसम्म लक्ष्यको ५ प्रतिशत मात्रै पूँजीगत खर्च भएको महालेखा निरिक्षकको कार्यालयको तथ्यांकले देखाउँछ । चालु आर्थिक बर्षको १२ महिनामा सरकारले ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पनि प्रति महिना १० प्रतिशत पूँजीगत खर्च गर्ने घोषणा गरेपनि उक्त घोषणा कार्यान्वयन नहुँदा हाल लक्ष्यको जम्मा ५ प्रतिशत अर्थात २२ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ मात्रै पूँजीगत खर्च भएको छ । यसरी सरकारले विकास निर्माणका कार्यमा खर्च गर्न नसक्दा बैंकहरुमा तरलता अभावले भयावह रुप लिएको छ । सरकारले चालु आवको हालसम्म विभिन्न शिर्षकमार्फत ३ अर्ब ८५ अर्ब ४४ करोड रुपैयाँ राजश्व उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL