Logo

उच्च निर्यात हुने खानेतेलमै नेपाललाई तीन महिनामा चार अर्ब घाटा, कति भयो निर्यात ?

उच्च निर्यात हुने खानेतेलमै नेपाललाई तीन महिनामा चार अर्ब घाटा, कति भयो निर्यात ?



काठमाडौं । पछिल्लो समय नेपालको अन्तराष्ट्रिय व्यापारमा मुख्य हिस्सा आगटेको खानेतेलको व्यापारमा नेपालले पछिल्लो ३ महिनामा ४ अर्ब हाराहारीमा व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले सोमबार चालु आवको पछिल्लो ३ महिनामो तथ्यांक सार्वजनिक गर्दै उच्च निर्यात हुने खानेतेलमै व्यापार घाटा व्यहोर्नुपरेको जानकारी दिएको हो ।

नेपालले पछिल्लो ३ महिनामा अर्थात गत साउनदेखि असोज महिनामा मात्रै ३७ अर्ब ३६ करोड ७२ लाख ९ हजार रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ । यो नेपालबाट हुने कुल निर्यात भएको बस्तुको ५७ दशमलव ४४ प्रतिशत हो । यसरी नेपालको निर्यात व्यापारको ५७ प्रतिशत हिस्सा ओगटेको खानेतेलले पनि वैदेशिक व्यापरमा भने ३ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ व्यापारघाटा बेहोरेको छ । नेपालले यस अवधिमा ४१ अर्ब २६ करोड ७० लाख रुपैयाँ बराबरको कच्चा र प्रशोधित खानेतेल आयात गरेको थियो ।

नेपालमा विदेशका विभिन्न राष्ट्रहरुबाट कच्चा खानेतेल आयात गरी नेपालमा प्रशोधन गरी पुनः विदेश निर्यात गर्ने गरेको छ । नेपालमा संचालित विभिन्न २१ उद्योगले यस्तो तेलको प्रशोधन र निर्यात गर्ने गरेको भएपनि यसमा पनि व्यापार घाटामा नै रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालले अर्जेन्टिना, इन्डोनेसिया, ब्राजिल, युक्रेनलगायतका देशहरुबाट कच्चा सोयाविन, पाम, भटमासको तेल आयात गर्ने गरेको छ । भन्सार विभागको तथ्यांक केलाउँदा पछिल्लो ३ महिनामा नेपालले अर्जेन्टिनाबाट मात्रै १३ अर्ब ५२ करोड रुपैयाँ बढीको ८ करोड ७४ लाख ४ हजार लिटर कच्चा भटमासको तेल आयात गरेको छ । यस्तै इन्डोनेसियाबाट ११ अर्ब १२ करोड रुपैयाँ बराबरको कच्चा पाम तेल, ब्राजिलबाट ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कच्चा सोयावीन तेल, युक्रेनबाट ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कच्चा सुर्यमुखी तेललगायत आयात गरेको छ । यस्तै नेपालले पाराग्वे, मलेसिया, रसिया, फिलिपीन्सलगायतका देशहरुबाट पनि कच्चा खानेतेलको आयात गर्नेगरेको तथ्यांकमा उल्लेख छ । नेपालले यी देशहरुबाट तेलजन्य वनस्पतिका बियाँ, कच्चा तेल, प्रशोधित तेल, बनस्पति घ्यु, जनावरजन्य बोसो, नरिवलको तेललगायत आयात गर्ने गरेको छ ।

यसरी आयात गरेको तेलजन्य पदार्थलाई प्रशोधन गरी नेपालले भारत, जर्मनी र जापानमा पठाउने गरेको छ । भन्सार विभागका अनुसार पछिल्लो ३ महिनामा नेपलले विदेशबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारतमा मात्रै ३७ अर्ब ३६ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको तेल निर्यात गरेको छ ।

यस्तै नेपालले यस अवधिमा जापान र जर्मनीमा भने क्रमशः ६ लाख ३८ हजार र ३ लाख २१ हजार रुपैयाँ बराबरको तेल मात्रै निर्यात गरेको हो । नेपालले भारतलाई आफ्नो प्रमुख तेल आयातकर्ताको रुपमा लिएको छ । यसअघिका तथ्यांकहरुमा पनि नेपालले कच्चा खानेतेल आयात गरी प्रशोधन गरी निर्यात गर्दा यो निर्यातीत वस्तुको उच्च स्थानमै पर्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL