Logo

बुद्ध एयरका जहाजमा एक महिनामै चार समस्या : यात्रा कति जोखिमपूर्ण ? के भन्छ बुद्ध एयर ?

बुद्ध एयरका जहाजमा एक महिनामै चार समस्या : यात्रा कति जोखिमपूर्ण ? के भन्छ बुद्ध एयर ?



काठमाडौं । पछिल्लो समय नेपालकै सबैभन्दा ठूलो आन्तरिक एयरलाइन्स कम्पनी भनेर चिनिने बुद्ध एयरका जहाजमा निरन्तर समस्याहरु देखिएका छन् । असोज महिनाभित्रै बुद्ध एयरका उडानमा ४ पटक समस्या देखापरिसकेका छन् । बुद्ध एयरकै फरक–फरक जहाजमा देखिएका समस्याले पछिल्लो समय यात्रुहरुमा पनि एक किसिमको भय पैदा भएको छ ।

बुद्ध एयरको जहाजमा असोज महिनाकै ११ गते एकैदिन २ जहाजमा फरक–फरक समस्या देखापर्याे । बिहान काठमाडौंबाट विराटनगर उडेको ९ एन एएनआई कलसाइनको एटिआर जहाज बिराटनगर अवतरण नगरी काठमाडौं नै फर्केको थियो । विवाटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा ल्यान्डिङ इन्डिकेटरले काम नगरेपछि करिव २ घण्टासम्म आकाशमै चक्कर लगाइरहेको उक्त जहाज २ घण्टापछि पुनः काठमाडौंकै त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । उक्त विमानामा ७७ जना यात्रु सवार थिए ।

सोही दिन बिहान ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको एटिआर कलसाइन ७२ जहाजमा पनि समस्या आउँदा काठमाडौं टिआईएमै फर्किएर अवतरण गरेको थियो । ९एन एजेओ कलसाईन ७२ एटिआर जहाजको ककपिटमा धूवाँ देखिएपछि क्याप्टेनले पोखरा विमानस्थलको सट्टा काठमाडौंमा अवतरण गराएका थिए । त्यसकै केहीदिन पछि असोज २० गते बुद्ध एयरकै अर्काे यु४ १३३ जहाज पनि काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको थियो । ४६ जना यात्रुसहित सुर्खेत विमानस्थलका लागि उडेको विमान भेरी आसपासका क्षेत्रमा कुहिरो रहेको भन्दै नेपालगंज विमानस्थलमा अवतरण गरिएको थियो ।

पछिल्ला १० दिनमा मात्रै बुद्ध एयरका ३ जहाजमा फरकफरक ३ समस्या देखिएपछि यात्रुहरुले ठुलो तनाव व्यहोर्नुपर्यो । पुनः असोज २२ गते शुक्रबारमात्रै बुद्ध एयरकै ९एन एएनयु कलसाइन जहाज सिमरा विमानस्थलमा टायर फ्ल्याट हुँदा उडानमा ढिलाई हुन पुग्यो । यसरी पछिल्लो १५ दिनको अवधिभित्र मात्रै बुद्ध एयरका ४ जहाजमा ४ समस्या देखिएका छन् । समस्या देखिएको केही समयमै बुद्ध एयरले झारा टार्ने कारण दिँदै समस्या आएको जहाजमा नै यात्रु बोकेर उडाउने काम गर्दै आएको सम्बन्धितहरु बताउँछन् । बुद्ध एयरसँग हाल १५ जहाज छन् । जसमार्फत हाल प्रतिदिन १५० बढी उडान हुन्छन् । दशैंको समयमा बुद्ध एयरलाई यात्रु बोक्न भ्याईनभ्याई भएका कारण पनि सामान्य मर्मतसम्भार गरी समस्या आएका जहाजलाई पुनः उडाइने गरिएको स्रोत बताउँछ ।

२३ बर्ष पुराना जहाज

बुद्ध एयरले हाल नेपाली आकाशमा उडाइरहेका १५ जहाजहरु १० देखि २० बर्ष पुराना छन् । जसमा गत ११ गते विराटनगरबाट फर्केको र पोखराबाट फर्केका २ जहाज २००७ साल र १९९७ सालमा निर्माण भएका जहाज हुन् । बुद्ध एयरले यी २ जहाजलाई नेपालमा क्रमशः २०१९ र २०१० देखि संचालनमा ल्याएको हो । यसरी हेर्दा ककपिटमा धुवाँ देखिएर पोखरा विमानस्थलनमा अवतरण नगरी काठमाडौं विमानस्थलमा अवतरण गरिएको जहाज १४ बर्ष पुरानो जहाज हो भने विराटनगरमा अवतरण गर्नेबेला पांग्रा नखुलेको जहाज २३ बर्ष पहिले निर्माण गरिएको हो ।

यस्तै सुर्खेतमा मौसम खरावी भई अवतरण गर्न नसकी नेपालगंज विमानस्थलमा अवतरण गराईएको एटिआर ४२ ३२० जहाज भने २६ बर्ष पहिले निर्माण गरिएको हो । तर, बुद्ध एयरले यसलाई नेपालमा २००८ सालमा अर्थात १३ बर्ष अघि ल्याई संचालनमा ल्याएको थियो । यस्तै शुक्रबार काठमाडौंबाट सिमरा गई सिमरामा टायर फ्ल्याट भएको बुद्ध एयरको ९एन एएनयु जहाज भने १४ बर्ष अघि निर्माण भएको हो । यसको निर्माकर्ता कम्पनीले उक्त जहाज सन २००७ सालमा निर्माण गरेको थियो । तर, बुद्ध एयरले निर्माण भएको १० बर्षपछि अर्थात सन २०१८ मा खरिद गरि संचालनमा ल्याएको थियो ।

हालसम्म आएका समस्या सामान्य हुन् बुद्ध एयर

बुद्ध एयरका जहाजमा पछिल्लो समय लगातार खराबीका समाचारहरु आइरहँदा कम्पनीले भने हालसम्म आएका समस्याहरु सामान्य नै भएको बताएको छ । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कम्पनीले सिमरा विमानस्थलमा आएको समस्या सामान्य भएको र प्राविधिकले समस्या समाधान गरी पुनः जहाज उडिसकेको जानकारी दिएको छ ।

हाल आईपर्ने समस्याहरु दैनिक आईपर्ने समस्याहरु भएपनि यस्ता समस्यालाई संचारमाध्यमले बढी चासो दिएको बुद्ध एयरका प्रवक्ता रुपेश जोसीले बताए । उनका अनुसार सानासाना समस्यालाई पनि संचार माध्यमले बढी हाइलाइट गरिदिएका छन् । जसका कारण कम्पनीको छवि नै धुमिल हुने देखिन्छ । ‘टायर पन्चर हुनेलगायतका सामान्य समस्याहरु दैनिक आईपर्ने समस्या हुन, झन सिमराको त समस्या नै होईन,’ जोशीले भने, ‘यस्ता समस्या सबैजसो जहाजमा देखापरिरहेका हुन्छन् तर, सामान्य समस्या पनि बढी हाइलाइट भएका हुन् ।’

यस्तै नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रवन्धक पनि बुद्ध एयरका समस्याहरु सामान्य भएको बताउँछन् । गत ११ गते दुबै जहाजका इन्डिकेटरमै समस्या आएकाले टिआईएमा अवतरण गराउनुपरेको उनले बताए । तर, बुद्ध एयरका जहाजमा कुनै खरावी नभएको उनको भनाई छ । जहाज ठिकै भएपनि इन्डिकेटरमा आएको समस्याका कारण निश्चित स्थानमा जहाज अवतरण गर्न नसकी टिआईएमा गराउनुपरेको उनले बताए । यस्तै उनले जहाजको कुनै निश्चित आयु पनि नहुने बताए । उनका अनुसार नेपालमा १५ बर्षभन्दा पुराना जहाजहरु दर्ता गराउन पाईने प्रावधान भने छैन । तर नेपालमै चलिरहेका जहाजहरु यति बर्ष भएपछि चलाउन नपाईने भन्ने कुनै व्यवस्था छैन । जहाजका सबै पार्टपुर्जाहरु प्रत्येक दिनजसो नै परिक्षण हुने भएकाले निश्चित जहाजको आयु भन्दा पनि पार्टपुर्जाको आयुलाई मान्यता दिईने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL