Logo

विद्युतीय सवारी : नेपालमा चार्जिङ स्टेशनको निर्माणको चर्चा, विश्व भने ‘व्याट्री स्वापिङ’ स्टेशनको बाटोमा

विद्युतीय सवारी : नेपालमा चार्जिङ स्टेशनको निर्माणको चर्चा, विश्व भने ‘व्याट्री स्वापिङ’ स्टेशनको बाटोमा



काठमाडौं । विश्वसँगै नेपालमा पछिल्लो समय विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दै गएको छ । विश्वका धेरै मुलुकले अहिले धमाधम अवधि नै तोकेर आफ्नो देश तथा शहरमा पेट्रोल–डिजेल सवारी विस्थापन गर्ने घोषणा नै गरिसेकका छन् । बढ्दो प्रदूषण कम गर्न, जलवायु परिवर्तनको असरबाट बच्न र उर्जा बचतका लागि विद्युतीय सवारी अपरिहार्य रहेको विश्वले स्वीकारेको अवस्था छ ।

laxmi

यस्तोमा नेपालले पनि विद्युतीय सवारी सञ्चालनका लागि विभिन्न पहल गरिरहेको छ । सरकारले विद्युतीय सवारी आयात, सवारी करलगायत विभिन्न शूल्कमा छुट पनि दिएको छ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा विद्युतीय सवारीमा कर बढाउँदा सरकारले कडा आलोचना बेहोरेपछि सरकारले पुनः कर घटाएको थियो । यसरी नेपालमा पनि पछिल्लो समय विद्युतीय सवारीको चासो र प्रयोग बढ्दै गएको छ । अझ नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर भएको अवस्था र नेपालको विद्युत उपयोग गर्न सकिने भएकाले पनि नेपालमा विद्युतीय सवारीको विकल्प नभएको बताइन्छ ।

पूर्वाधार अभाव

तर, नेपालमा अहिले पनि विद्युतीय सवारी प्रयोग गर्न चाहनेहरु उपयुक्त पूर्वाधार नहुँदा निराश भएको अवस्था छ । अहिले सरकार र निजी क्षेत्रबाट विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेशन एकदमै सीमित स्थान र संख्यामा रहेको अवस्था छ । देशभर विभिन्न १५ वटा चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन् । यस्तै नेपाल विद्युत् प्राधिकरणले समेत देशभर नै ५० वटा चार्जिङ स्टेशन निर्माणको प्रक्रिया अगाडि बढाएकोे छ । पूर्वाधार पर्याप्त नहुँदा विद्युतीय सवारी चलाएर ढुक्कसँग हिंडन सक्ने अवस्था छैन् । अर्कोतर्फ लामो दूरीमा विद्युतीय सवारी सञ्चालनका लागि पूर्वाधार नै नभएको अवस्था छ । सरकारले पछिल्लो समय विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माणमा चासो देखाएको भने छ ।

नेपाल विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन बनाउने तयारी थालेको छ । प्राधिकरणले विभिन्न निजी र सार्वजनिक संस्थाहरुसंग मिलेर ५ सय स्टेशन बनाउने जनाएको हो । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष देशभरका विभिन्न निजी संस्थाहरुसँग मिलेर ५ सय वटा चार्जिङ स्टेसन निर्माण गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
प्राधिकरणले आवश्यकता अनुसार देशभरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, रेष्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थानसँग सहकार्यका लागि कार्यक्रम तयार गरेको सूचनामा उल्लेख्य गरिएको छ । विद्युत खेर जान थालेपछि प्राधिकरणले खतप बढाउनका लागि सार्वजनिक क्षेत्रमा स्टेसन बनाउन लागिएको जनाएको छ ।

चार्जिङ स्टेशन निर्माणका लागि सहुलियत ऋण

यस्तै विद्युतीय सवारी साधनका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेशन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत व्याजदरमा कर्जा पाइने व्यवस्था गरेको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन होस् र विद्युत् खपत पनि बढोस् भन्ने लक्ष्यका साथ केन्द्रीय बैंकले सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले पुनकर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय सवारीका लागि सहजरूपमा चार्ज हुने प्रणाली स्थापनाका लागि चार्जिङ स्टेशन निर्माणमा विशेष ध्यान दिएको हो । विशेष पुर्नकर्जाका लागि विभिन्न कर्जायोग्य मानिने भन्ने व्यवस्थाअन्तर्गत विशेषगरी विद्युतीय सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाका लागि प्रवाह भएका कर्जालाई त्यसमा समेटिएको छ ।

पछिल्ला दिनमा निजी क्षेत्रले समेत चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकताका साथ काम गरिरहेका छन् । विद्युतीय सवारीसाधनको आयातमा समेत उल्लेख्य वृद्धि भइरहेको छ । व्यवसायीले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारी साधनकै हाराहारीमा विद्युतीय सवारी साधनसमेत आयात गरिरहेका छन् । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नयाँ खरिद हुने सवारी साधन विद्युतीय हुने स्पष्ट पारिसकेको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले चार्जिङ स्टेशन निर्माणका लागि व्यवसायी आकर्षित होउन् भन्ने ध्येयका साथ सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

ब्याट्री स्वापिङ स्टेशनको चर्चा

नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको चर्चा चल्दै गर्दा चीनले भने विद्युतीय सवारीका प्रयोगकर्ताका लागि नयाँ अवधारणा अगाडि ल्याएको छ । चिनियाँ कम्पनी गिलीले सन २०२५ सम्ममा कारको ब्याट्री चेन्ज गर्न सकिने गरि देशभर ५ हजार ‘ब्याट्री स्वापिङ स्टेशन’ निर्माण गर्ने तयारी थालेको छ ।

चिनियाँ अटोमोबाईल कम्पनी ‘गिली’ले चीनभर सन २०२५ सम्म विद्युतीय सवारीसाधनका लागि ब्याट्री चेन्ज गर्न मिल्ने (ब्याट्री स्वापिङ) ५ हजार स्टेशन बनाउने आईतबार एक कार्यक्रममा घोषणा नै गरेको छ । ब्याट्री स्वापीङ स्टेशनमा विद्युतीय कार धनीहरुले आफ्नो कारको ब्याट्री चेन्ज गर्न सक्नेछन् । जसले विद्युतीय सवारी प्रयोकर्तालाई ब्याट्री चार्ज गर्ने समयसम्म कुरेर बस्ने झञ्झट हुनेछैन् ।

चिनियाँ अटो निर्माता निओ ईंकले पनि सन २०२५ सम्ममा विश्वभर ४ हजार ब्याट्री स्वापिङ स्टेशन बनाउने योजना बनाएको छ । चीनले पछिल्लो समय चार्जिङ स्टेशन, ब्याट्री स्वापीङ स्टेशनलगायत विद्युतीय उर्जासँग सम्बन्धीत पूर्वाधारहरुको प्रवद्र्धन गरिरहेको छ ।

यस्तै भारत सरकारले पनि दिल्लीमा ५० वटा ब्याट्री स्वापिङ स्टेशन सञ्चालनका लागि अनुमति दिइसकेको छ । दिल्लीमा सीएनजी वितरणको जिम्मेवारी पाएको इन्द्रप्रस्थ ग्यास लिमिटेड (आईजीएल) ले आफ्ना सीएनजी स्टेशनहरुमा ब्याट्री स्वापिङका लागि पूर्वाधार तयार गरिरहेको छ । भारतकै बेगंलुरु शहरमा भने अहिले २ सय ब्याट्री स्वापिङ स्टेशन सञ्चालनमा रहेको र केह िसमयमै १ हजारवटा स्टेशन सञ्चालनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL