Logo

व्याजदर वृद्धिको चेपुवामा सेयर बजार, विज्ञ भन्छन-‘यी ४कारण जसले बजारलाई असर गर्नेछ’

व्याजदर वृद्धिको चेपुवामा सेयर बजार, विज्ञ भन्छन-‘यी ४कारण जसले बजारलाई असर गर्नेछ’



काडमाडौं । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा दिने व्याजमा वृद्धि गर्दै १० प्रतिशतभन्दा बढी दिने सूचना प्रकाशित गरेसँगै त्यसको असर सेयर बजारमा देखिने भएको छ ।

laxmi

कोरोनापछिको लकडाउनका कारण लामो समयसम्म एकल अंकको व्याजदरमा कर्जा पाईरहेका ग्राहकहरुले बैंकको निक्षेपको व्याजदरसँगै कर्जाको व्याज बढेर दोहोरो अंकमा पुग्ने भएको छ । बैंकहरुले नै निक्षेपमा दिईने व्याज दोहोरो अंकमा पुगेपछि सबैजसो बाणिज्य बैंकहको कर्जाको ब्याजदर दोहोरो अंकमा पुग्ने भएको हो ।

पहिलो लकडाउन खुलेपछि उच्च रुपमा बढेको सेयर बजारमा केही समययता गिरावट आउन सुरु गरेको छ । तत्कालीन समयमा लगानीको अन्य अवसर नभएको र बैंकहरुले पनि सेयर खरिदका लागिसमेत ७ प्रतिशत व्याजदरमा कर्जा दिएका कारण बजारमा लगानीको वातावरण बनेको थियो । सोहीअनुरुप नेप्सेले पनि नेपालको पुँजी बजारको इतिहासमा सबैभन्दा उच्च अंक र उच्च कारोबार रेकर्ड बनाउन सफल भएको थियो । तर, पछिल्लो समय बजारमा उच्च प्रभाव पार्ने ब्याजदर बढ्नुका साथै लकडाउन खुकुलो हुँदै लगानीको अन्य वातावरण समेत बनेका कारण सेयर बजारमा नकारात्मक प्रभाव पर्ने सम्बद्ध विज्ञहरु बताउँछन् ।

‘सेयर बजारलाई सहज बनाउने भनेको बैंकको व्याजदर, अन्य क्षेत्रमा लगानीको अवसर नहुनु, राजनीतिक तथा नियामकको सेयर बजारप्रतिको दृष्टिकोण र लगानीकर्ताको मनोविज्ञान हो,’ एक लगानीकर्ताले भने, ‘तर पछिल्लो समय यी चारवटै कुराको वातावरण विग्रिएको छ ।’ जसका कारण आगामी दिनमा सेयर बजारमा नकारात्मक असर पर्न सक्ने ती लगानीकर्ताको भनाई थियो ।

बैंक ब्याजदर

सेयर बजारको वृद्धि र गिरावटमा सबैभन्दा बढी असर पार्ने पक्ष हो बैंक ब्याजदर । कोरोनाका कारण पछिल्लो लामो समय बैंकहरुमा तरलता उच्च हुँदा बैंकहरुले मार्जिन कर्जाकै लागि ७ प्रतिशत ब्याजदरमा कर्जा प्रबाह गरेका थिए । जसका कारण बजारमा सकारात्मक प्रभाव परेको थियो ।

तर, पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) अभाव हुँदा बैंकहरुले लगानी गर्ने क्षमता घटेको छ भने मुद्दती निक्षेपमै १० प्रतिशतभन्दा बढी ब्याज दिन सुरु गरेका छन् । आजैमात्रै निक्षेपको ब्याजदर प्रकाशित गरेका बाणिज्य बैंकहरुले निक्षेपमा दिइने ब्याज २ प्रतिभन्दा बढीले वृद्धि गर्दै १०.०७ प्रतिशतसम्म दिने उल्लेख गरेका छन् । पछिल्लो समय बैंकमा लगानीयोग्य रकमको समेत अभाव भएको सोहीअनुरुप कर्जाको समेत ब्याजदर बढ्ने हुँदा त्यसले सेयर बजारमा नकारात्मक पर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

लगानीको विकल्प

कोरानापछिको लकडाउन खुकुलो भएसँगै सेयर बजारबाट लगानीकर्ताहरु बाहिरिने क्रम बढेको छ । लकडाउनका कारण सेयर बजारमा बाहेक अन्य लगानीको क्षेत्र बन्द हुँदा पुग्दा उद्योगी, व्यवापारीदेखि हरेक क्षेत्रमा कार्यरत कर्मचारीसमेत सेयर बजारमा आकर्षित हुन पुगेका थिए । सो अबधिमा विभिन्न देशबाट सामान आयात गर्ने व्यापारीहरुले आफुसँगै भएको पैसा सेयर बजारमा लगानी गरेका थिए । तर, पछिल्लो समय लकडाउन खुकुलो भएसँगै त्यसरी सेयर बजारमा प्रवेश गरेका व्यापारीहरु पुनः आफ्नै व्यापार व्यवसायमा फर्किन थालेका छन् । लकडाउनको समयमा उद्योगी व्यापारीले सेयर बजारमा लगानी गरेको रकम बजारबाट झिकेर पुनः आफ्नै व्यापार व्यवसायमा लगाउन थालेकाले त्यसको प्रत्यक्ष असर सेयर बजारमा पर्ने सेयर बजारसम्बद्ध विश्लेषकहरु बताउँछन् । लकडाउन खुकुलो हुँदै गएसँगै व्यापारीहरुले मालसामान आयातका लागि एलसी खोल्ने क्रमसमेत बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

वातावरण

सेयर बजारमा अर्को प्रभाव पर्ने विषय हो लगानीको वातावरण । जहाँ लगानीको राम्रो वतावरण हुन्छ सोही क्षेत्रमा लगानीकर्ताहरु आकर्षित हुन पुग्छन् । तर, पछिल्लो समय सरकार अस्थिर हुनु र सोहीअनुरुप सेयर बजारसम्बन्धी नीति नियममा पटक–पटक परिवर्तन गरिदिदा त्यसले सेयर बजारमा गरिने लगानीको वातावरण विग्रर्न पुगेको छ । महिनैपिच्छे सेयर बजारलाई असर गर्ने खालका नीति नियम परिमार्जन हुँदा लगानीकर्ताहरु बजारप्रति विश्वस्त हुननसकेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘सुरुमा राष्ट्र बैंकले आफ्नो नीतिमा परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थाले माईक्रोफाइनान्सको सेयर खरिदमा रोक लगायो भने त्यसपश्चात बैंकहरुलाई सेयर बजारमा अल्पकालिन रोकका साथै हाल आएर मार्जिन प्रकृतिको कर्जामा १२ करोड रुपैयाँको क्याप लगाईदियो,’ एक लगानीकर्ताले भने, ‘सोहीअनुरुप धितोपत्र बोर्डले पनि विभिन्न खालका नीति नियम परिमार्जन गरिदिँदा बजारमा लगानीको वातावरण धुमिलिन पुगेको छ ।’

लगानीकर्ताको मनोविज्ञान

सेयर बजारको वृद्धि तथा गिरावटमा अर्को असर गर्ने कारण हो लगानीकर्ताको मनोविज्ञान । लगानीकर्ताले आफुलाई कसरी सेयर बजारप्रति विश्वस्त बनाएका छन् भन्ने आधारमा सेयर बजार चल्ने गर्दछ । कहिले नियामक निकायले जस्तोसुकै नीतिगत परिवर्तन गरेपनि सेयर बजारको वृद्धि रोकिँदैन भने कहिलेकाहीं सामान्य नीतिगत परिवर्तनले पनि सेयर बजारमा गिरावट आइरहेको छ । पछिल्लो समय अन्य क्षेत्रमा पनि लगानीको अवसर खुलेको तथा सोहीअनुरुप बैंक व्याजदरसमेत बढेका कारण लगानीकर्ताहरु बजारबाट बाहिरिन थालेका छन् ।

केही लगानीकर्ताले प्रफिट बुक गरेर बजारबाट बाहिरिसके पनि कतिपय लगानीकर्ता घट्दो बजारमा पनि आफुलाई धानिरहेका छन् । पछिल्लो समय ब्याजदर वृद्धिकै कारण बजार घट्छ भन्ने हल्लाका कारण पनि लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर परेका छन् । जसका कारण बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम रोकिएको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

पछिल्लो समय सेयर बजारमा भैरहेको चलखेलको विषयमा अध्ययन गर्न सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा समिति नै गठन गरेको छ । जसले धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सेञ्जको प्रमुख कार्यकारी अधिकृतको विषयमा मात्र नभई समग्र पुँजी बजार सुधारको लागि काम गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । विशेषगरी पुँजी बजारमा भैरहेको इन्साईटर ट्रेडिङ, सर्कुलर ट्रेड, पम्प एण्ड डम्पजस्ता विषयमा उक्त समितिले छानविन गरी विस्तृत रुपमा प्रतिवेदन पेश गर्ने छ । जसका कारण त्यसरी सेयर बजारमा कब्जा जमाईरहेका लगानीकर्तालाई असर पर्ने देखिन्छ भने उनीहरु बजारबाट बाहिरिने क्रमसमेत बढेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL