Logo

नेशनल हाइड्रोको आम्दानी बीमा दाबीको भरमा : हिउँदमा पानी छैन, वर्षा लाग्यो बाढीले बगाउँछ

नेशनल हाइड्रोको आम्दानी बीमा दाबीको भरमा : हिउँदमा पानी छैन, वर्षा लाग्यो बाढीले बगाउँछ



काठमाडौं । पछिल्लो समय बजारमा बढी चर्चा भएको जलविद्युत कम्पनी हो नेशनल हाइड्रो । संचालनमा आएको २० वर्षसम्म लगानीकर्तालाई कुनै प्रतिफल नदिएको सो कम्पनीले गत आर्थिक २०७७।७८ को मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने बताएसँगै लगानीकर्ताको चासो बढेको थियो ।

laxmi

नेशनल हाइड्रोले साढे ४ मेगावाटको तल्लो इन्द्रावतीको लाइसेन्स पाएसँगै ६१ करोड ७१ लाख रुपैयाँ राईटब्याक हुने र त्यसबाट लगानीकर्तालाई २० प्रतिशतभन्दा बढी लाभांस वितरण गरिने घोषणा नै गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार पाण्डेले नै २०७७।७८ मा लगानीकर्ताले २० प्रतिशतभन्दा बढी लाभांश पाउने बताएका थिए । तर, यसैहप्ता वित्तीय विवरण प्रकाशित गरेको नेशनलले २ करोड २१ लाख घाटा भएको वित्तीय विवरण प्रकाशित गरेसँगै त्यसले नयाँ मोड लिएको छ ।

हाल तल्लो इन्द्रावतीको लाइसेन्स पाएसँगै कम्पनीले नगद नभई कागजी रुपमा आम्दानी देखिने सोका लागि गोईङ कन्सर्नको सुनिश्चितता प्राप्त गरेसँगै कम्पनीको आम्दानी हुने सीईओ पाण्डे बताउँछन् । हाल कम्पनीले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिएको र अडिट रिपोर्ट आउँदासम्म उक्त रकम प्राप्त गरेमा सेयरधनीलाई आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाटै लाभांस वितवरण गर्न सकिने उनको तर्क थियो । तर, उक्त प्रतिवद्धता कम्पनीको अडिट गर्ने बेलासम्ममा आउँछ वा आउँदैन सुनिश्चितता नभएको उनले जानकारी दिए ।

पछिल्लो समय विद्युत उत्पादनभन्दा पनि बीमा दावीबाट आफ्नो आम्दानी देखाउँदै आएको नेशनले हाइड्रोले पछिल्लो १ वर्षको अवधिमा मात्रै ९ करोड ९९ लाख रुपैयाँ बीमा दावी गरेको छ । जसमध्ये १ करोड २४ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ भने ८ करोड ७५ लाख रुपैयाँ दावी गरेको कम्पनीले जानकारी दिएको छ ।

पछिल्लो समय कम्पनीले विद्युत उत्पादन गरेर नाफा आर्जन गर्नुभन्दा पनि पहिरो तथा बाढीले क्षति पुर्याएका कारण गर्ने बीमा दावी भुक्तानीबाट राम्रो आम्दानी गर्दै आएको देखिन्छ । कम्पनीकै तथ्याङ्कअनुसार गत आवमा विद्युत विक्रीबाट २ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको देखाएको छ । तर, बाढी तथा पहिरोका कारण भएको क्षतिबाट १० करोड दावी गरेको छ ।

वर्षात अर्थात पानी हुने समयमा बाढीले बगाउने र हिँउदमा पानी नभएको कारण आयोजनानै नचल्ने कारणले गर्दा पछिल्लो समय उक्त आयोजनानै संकटमा पर्न थालेको छ । गत आवको वर्षातको समयमा ५२ दिन आयोजना संचालन हुन नसरी विद्युत उत्पादन नहुँदा आम्दानीमा ३ करोड ७९ लाख कमी आएको समेत कम्पनीले जानकरी दिएको छ ।

मेलम्ची र इन्द्रावतीमा आउने बाढीले उक्त आयोजनालाई सधैजसो क्षति पुर्याउने र हिँउदमा पानी नहुने हुँदा सो आयोजाको कमाई नै क्षतिपूर्तिबपत गरिने बीमा दावी रकममा निर्भर हुन थालेको वित्तीय विवरणले नै देखाउँछ । साथै अहिले पनि मेलम्चीमा आएको बाढीका कारण ट्रान्समिसन लाईनमा क्षति पुर्याएका कारण मर्मतकै क्रममा रहेको छ । जसले गर्दा अहिलेको वर्षामा पनि आयोजनाबाट विद्युत उत्पादन हुन सक्ने अवस्था छैन भने हिँउदमा पानी नहुँदा एकदमै न्यून मात्रामा विद्युत उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL