Logo

नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या १ करोड ३० लाख नाघ्यो, फेसबुकबाट हुने अपराध पनि बढ्यो

नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या १ करोड ३० लाख नाघ्यो, फेसबुकबाट हुने अपराध पनि बढ्यो



काठमाडौं । नेपालमा पछिल्लो समय इन्टरनेटमा सबैभन्दा बढी सामाजिक संजालमा मानिस व्यस्त हुने गरेका छन् । त्यसमा पनि इन्टरनेटका विभिन्न पक्षसम्बन्धमा जानकारी दिने एलेक्सालाई आधार मान्दा चर्चित सामाजिक संजाल फेसबुक भने धेरै प्रयोगकर्ता भएको मध्ये चौथो स्थानमा पर्दछ ।

नेपालमा फेसबुकका प्रयोगकर्ता मात्रै १ करोड ३० लाख ४० हजार बढी पुगेका छन् विश्वको इन्टरनेट पेनीट्रेसन र यससँग सम्बन्धित तथ्यांक उपलब्ध गराउने इन्टरनेट वर्ल्ड्स स्ट्याटका अनुसार गत जुन महिनासम्म नेपालमा फेसबुक प्रयोगकर्ता उक्त संख्यामा पुगेका हुन् । यस्तै इन्टरनेट पेनिट्रेसनमात्रै २ करोड १९ लाख जनासम्म पुगेको देखिन्छ । फेसबुक नेपालमा धेरै प्रयोगकर्ता भएका साइटहरुको चौथो स्थानमा रहेका छ ।

लगातार बढ्दो इन्टरनेट पेनिट्रेसनका कारण नेपालमा पनि फेसबुकका प्रयोगकर्ता बढीरहेको प्रविधिसम्बन्धी जानकारहरु बताउँछन् । हाल नेपालमै सबैभन्दा प्रचलित सामाजिक संजाल नै फेसबुक भएका कारण यसमा घण्टौंसम्म झुण्डिनेको संख्या पनि उत्तिकै छ । नेपालकै परिवेशमा पनि कुनै स्थान वा नागरिकसम्म इन्टरनेटको पहँुच पुग्ने वित्तिकै फेसबुक खाता खोल्ने काम पहिलो प्राथमिकतामा पर्ने गरेको छ । जसका कारण पनि यसका प्रयोगकर्ता बढिरहेको जानकारहरु बताउँछन् ।

तथ्यांकअनुसार एशियामा मात्रै विश्वका कुल फेसबुक प्रयोगकर्तामध्ये ६५ दशमलव ९ प्रतिशत प्रयोगकर्ता छन् । जसमा सबैभन्दा बढी भारतीय प्रयोगकर्ता छन् । हाल विश्वभर प्रतिदिन १ अर्ब ७३ करोड जना फेसबुकका एक्टिभ प्रयोगकर्ता छन् । यस्तै मासिक भने २ अर्ब ६० करोड प्रयोगकर्ता पुग्ने गरेका छन् । जुन गत बर्षको तुलनामा ११ प्रतिशतले बढि हो । साथै कुल एक्टिभ प्रयोगकर्तामध्ये ५ प्रतिशत अर्थात १३ करोड बढी खाताहरु नक्कली रहेको अनुमान फेसबुकको छ । जसमार्फत अवैध कामहरु बबढी नै हुने गरेका छन् ।

नेपालमा पनि विभिन्न नामका नक्कली फेसबुक खाता खोलेर प्रविधिको दूरुपयोग भइरहेको प्रहरीको तथ्यांकले देखाउँछ । समाजिक संजालको सही तवरले
नियमन हुन नसक्दा धेरै मानिसहरु साइबर सेक्युरिटीसँगै विभिन्न समस्याको फन्दामा परिरहेको देख्न सकिन्छ । हाल छिमेकी देश भारतमा मात्रै फेसबुक चलाउनेको संख्या २६ करोड बढी छ । जुन जनसंख्याका आधारमा विश्वमा सबैभन्दा बढी फेसबुक प्रयोगकर्ता भएको देशमा पर्दछ ।

फेसबुकको अर्को एक रोचक पक्ष भनेको यसका एक्टिभ युजर बढी हुने समय पनि हो । फेसबुकका अनुसार राती १ बजे र दिउँसो ११ बजे सबैभन्दा धेरै प्रयोगकर्ताले फेसबुक प्रयोग गर्ने गरेका छन् । तर, नेपालको परिवेशलाई हेर्दा राति ८ बजेदेखि ९ बजेसम्मको समयलाई धेरै इन्टरनेट प्रयोग वा खपत हुने समयको रुपमा लिन सकिने नेपाल इन्टरनेट एक्सचेन्जले जानकारी दिएको छ ।

एक्सचेन्जका अनुसार नेपालमा बिहान ६ बजेदेखि विस्तारै उकालो लाग्ने इन्टरनेट प्रयोग दिउँसो ११ देखि १ बजेसम्म १६ गिगाबीट्स प्रतिसेकेन्डसम्म खपत हुन्छ । त्यसपछि उकालो लाग्ने गरेको इन्टरनेट खपत राति ८ बजेतिर २१ गिगाबिट्ससम्म पुगेर ओरालो लाग्ने गरेको छ । जसले फेसबुकको प्रयोगलाई पनि दर्शाउँछ ।

फेसबुक परिवारभित्र पर्ने फेसबुकबाहेकका मेसेन्जर, वाट्सएप, इन्स्टाग्रामहरुको प्रयोग पनि उत्तिकै मात्रामा बढीरहेको छ । यी सबैको प्रयोग गत बर्षको तुलनामा १२ प्रतिशतले बढेको देखिन्छ । फेसबुकमार्फत लाखौं पैसा कमाउनेको संख्या पनि हाल उत्तिकै छ । फेसबुकका अनुसार हाल फेसबुकबाट रकम आर्जन गर्ने प्रयोगकर्तामध्ये बार्षिक ६६ प्रतिशतले २९ हजार ९ सय डलर बढी कमाउँछन् भने ७२ प्रतिशले ३० हजार देखि ७५ हजार डलरसम्म कमाउने गर्दछन् । फेसबुकसँग हाल ५२ हजार बढि कामदार छन् ।

नेपालको दूरसंचार नियामक नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा हालसम्म कुल जनसंख्याको ९१ दशमलव ५५ प्रतिशत नेपालीसम्म इन्टरनेटको पहुँच पुगिसकेको छ । जसमध्ये प्रायले आफ्नो आफ्ना फेसबुकको खाता खोलेका छन् भने एकैजनाले ५ ओटासम्म खाता खोल्ने गरेकोसमेत पाइएको छ । इन्टरनेटको पहुँच पुगेसँगै फेसबुक खाता खोल्ने प्रवृत्तिले यसको प्रयोगसँगै चुनौतीसमेत थप्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL