Logo

इम्बोस्ड नम्बर प्लेट जडानको काम रोकियो, विभाग भन्छ–‘छिट्टै शुरु गर्छौ’

इम्बोस्ड नम्बर प्लेट जडानको काम रोकियो, विभाग भन्छ–‘छिट्टै शुरु गर्छौ’



काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणका लागि अनिवार्य गर्ने भनिएको अत्याधुनिक इम्बोस्ड नम्बर प्लेटको वितरण रोकिएको छ । गएको जेठ महिनासम्म २५ लाख सवारीसाधनमा जडान गर्ने भनिएको उक्त इम्बोस्ड नम्बरप्लेट ३ प्रतिशत सवारीसाधनमा मात्रै जडान गरेर रोकिएको हो ।

laxmi

यातायात व्यवस्था विभागका अनुसार हालसम्म ७ हजार ४ सय ३० सवारीसाधनमा नम्बर प्लेट जडान गरिएको छ । इम्बोस्ड जडानको जिम्मा पाएको डेकाटुर टाईगर इन्कर्पाेरेटको म्याद गत जेठ महिनामा सकिएपछि वितरण तथा छपाई प्रभावित भएको हो । जसका कारण विभागले घोषणा गरेको मितिमा भनेबमोजिम नम्बर प्लेट जडान गर्न नसकिएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि सरकारी सवारीसाधनलाई पहिलो प्राथमिकता राखेको विभागले यसअघि तयार भएका सबै प्लेटहरु जडान गरिसकेको छ । करिव सबै सरकारी सवारीसाधनमा जडान गरिसकेपछि विभागले यसै महिनाको १ गतेदेखि सर्वसाधारणका लागि पनि जडान अनिवार्य गर्ने घोषणा गरेको थियो । तर, कम्पनीको म्याद सकिएको र छपाईमा ढिलाई भएका कारण वितरण कार्य पनि प्रभावित भएको हो । हालसम्म जडान गरिएका इम्बोस्ड नम्बर प्लेटहरु कम्पनीको म्याद नसकिँदै छपाई भएका हुन् ।

अहिले विभागले उक्त कम्पनीको म्याद थप्ने प्रक्रिया अघि बढाएको छ । म्याद थपको सबै प्रक्रिया पुरा भईसकेपनि कम्पनीले हालसम्म बैंक ग्यारेन्टी नल्याएका कारण केही ढिलाई भएको विभागका निर्देशक रामचन्द्र पौडेल बताउँछन् । उनका अनुसार कम्पनीले बैंक ग्यारेन्टी ल्याउने वित्तिकै पुनः नम्बर प्लेट छपाईको काम सुरु हुनेछ र वितरण पनि सँगसँगै हुनेछ ।

उनका अुनसार विसं २०७३ सालमै ५ बर्षभित्र अर्थात गत जेठ १७ गतेभित्र २५ लाख सवारीसाधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि उक्त कम्पनीसँग सम्झौता भएको थियो । तर, बीचमा इम्बोस्ड नम्बर प्लेटमा देवनागरिक अक्षर हुनुपर्ने भन्दै रिट परेपछि सर्वाेच्चले तत्कालका लागि यो कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । गत बर्षको असारमा सर्वाेच्चले जडानको बाटो खुलाईदिएपनि कम्पनीको म्याद जम्मा ११ महिनामात्रै बाँकी थियो ।

यसरी कम म्यादमा धेरै काम गर्न असम्भव भएपछि यातायात व्यवस्था विभागले कम्पनीको म्याद थप्ने निर्णय गरेको थियो । हाल विभागले कम्पनीको म्याद थप्ने प्रक्रिया सबै टुंग्याईसकेको र केही कार्य मात्रै बाँकी रहेको निर्देशक पौडेलले बिजखबरलाई जानकारी दिए ।

सरकारले जडान गर्न लागेको इम्बोस्ड नम्बर प्लेटको मूल्य हाल ठूला सवारी साधनमा जडान गरेको ३ हजार ६ सय रुपैयाँ, मझौला तथा साना चारपांग्रे सवारीसाधनमा जडान गरेको ३ हजार २ सय रुपैयाँ, ३ पांग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ र साना २ पांग्रे सवारीसाधनहरुका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

के हो इम्बोस्ड नम्बर प्लेट, कसरी काम गर्छ ?

यो एक चिप जडान गरिएको अत्याधुनिक नम्बर प्लेट हो । हाल प्रयोगमा आएका नम्बर प्लेटको तुलनामा यो अत्याधुनिक मानिन्छ । सवारीसाधनमा अगाडि र पछाडि दुबैतिर इन्बोस्ड नम्बर प्लेट जडान गरिन्छ । त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’ भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्रयाकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्न सकिन्छ ।

यसका लागि विभिन्न स्थानमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसनका डिभाइस भएको गेटको आवश्यकता पर्दछ । यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको सवारीसाधन हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ । यस्तै सवारीसाधनले कर तिरे नतिरेको समेत यसै आईडेन्टिफिकेसनमार्फत थाहा पाउन सकिन्छ ।

तर, विभागले यस्तो गेटको निर्माण कार्य भने सुरु गरिसकेको छैन । गेट निर्माणका लागि सबै प्रक्रिया पुरा भएपनि सडक विभागको निर्देशन पर्खिरहेको निर्देशक पौडेलले बताए । उनका अनुसार सडक विभागको अनुमति आएपछि नेपालभरका मुख्य राजमार्गहरुमा यस्तो गेट निर्माण गरिने छ । पहिलो चरणमा भने विभागले काठमाडौं भित्रिने र बाहिरिने प्रमुख नाकाहरुमा यो गेट राख्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL