Logo

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको पक्षमा निजी क्षेत्र, भन्छन-‘राजनीतिमा कार्टेलिङ तोडियो’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको पक्षमा निजी क्षेत्र, भन्छन-‘राजनीतिमा कार्टेलिङ तोडियो’



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेसँगै सामाजिक संजालमा त्यसको पक्ष र विपक्षमा टिकाटिप्पणी सुरु भएको छ । कांग्रेसकै नेता कार्यकता तथा सामाजिक संजालमा अन्य व्यक्तिले नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेर गलत गरेको टिप्पणी गरेका छन् भने व्यवसायीहरुले भने व्यवसायिक क्षेत्रमा सफल व्यक्तिलाई मन्त्री बनाउनु जायज भएको बताएका छन् ।

देउवा सरकारले स्वास्थ्य राज्य मन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेसँगै राजनीतिक पार्टीमा योगदानको कदरभन्दा पनि पैसामा खरिदबिक्री हुने गरेको, व्यवसायीलाई राज्यको ढुकुटीको जिम्मा दिएर दोहन गर्न लागेको, राजनीतिक दलहरुमा लामो समयसम्म खटिने कार्यकर्ताभन्दा पनि पैसा हुने व्यापारीलाई काखी च्यापेर हिडेको जस्ता आरोप लगाएका छन् । तर, व्यवसायीहरुले भने त्यसको डिफेन्स गर्दै देशमा भ्रष्टाचार न्यूनीकरण गर्दै व्यवस्थित रुपमा राज्य संचालन गर्न आफ्नो क्षेत्रमा सफल उद्योगी व्यवसायीहरु मन्त्री हुनु जायज भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत बतास अर्गनाईजेसनका अध्यक्ष आनन्दराज बतासले राजनीतिक गर्ने व्यक्तिले मात्र राज्यसत्ता संचाल गर्नुपर्छ भन्ने सिण्डिकेट तोड्कैलागि पनि निजी क्षेत्रमा सफल व्यक्तिलाई मन्त्री बनाईनुपर्ने धारणा व्यक्त गरेका छन् । ‘राजनीति गर्नेले व्यवसाय गर्दा वाहवाह पाउने तर व्यवसाय गर्नेले राजनीतिमा प्रवेश गर्नै नहुने ?,’ फेसबुकमार्फत उनले भनेका छन्, ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट कुनै क्षेत्रमा हुनु हुँदैन तर यही बहानामा निजी क्षेत्रलाई राजनीतिमा निषेध गर्ने र सीमित वर्ग वा समुहको सिण्डिकेट कायम राखिरहने प्रचलन तोड्नु जरुरी छ ।’

यसैयरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यसमिति सदस्य एवं व्यवसायी विप्लपमान सिंहले व्यापारी मन्त्री भयो भनेर गाली गर्नेहरुलाई भतुवाको संज्ञा दिएका छन् । ‘व्यापारी मन्त्री भयो भनेर तथानाम गाली गर्ने भतुवाहरुको मुखमा बुझो लगाउन ४÷५ ओटा न भुतो न भविश्यते काम गरौं त उमेश दाई,’ उनले पनि फेसबुकमार्फत भनेका छन्, ‘सुधार चाहिए हामी आउन वा खट्न तयार छौं ।’ साथै उनले सुरुवात सरकारी अस्पतालबाट सुधार (दिल्ली मोडल) बाट गर्न समेत सुझाव दिएका छन् ।

यसैगरी उद्योगपति एवं नेपाली कांग्रेसकै सांसद विनोद चौधरीले पनि निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै बधाई तथा सफलताको शुभकामना दिएका छन् । साथै कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालयमा श्रेष्ठको उपस्थितिले दुरगामी प्रभाव पार्ने अपेक्षा गरेका छन् ।

यसैगरी पूर्व बैंकर राजीव सुब्बाले पनि उपयुक्त पात्र मन्त्रीमा नियुक्त भएको भन्दै उमेश श्रेष्ठलाई समर्थन गरेका छन् । ‘दुबै जना मन्त्री लायक हुन,’ उनले भनेका छन्, ‘तर अर्थमा हुनुपर्ने स्वास्थ्यमा र स्वास्थ्यमा हुनुपर्ने अर्थमा भएछ ।’ साथै उनले समाजबादी स्वास्थ्य र पुँजीबादी अर्थ बन्थ्यो कि भनेर प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL