Logo

नर्भिक अस्पतालमा आधुनिक आइभिएफ सेन्टर संचालनमा, अत्याधुनिक उपकरणसहितको सेवा सुरु

नर्भिक अस्पतालमा आधुनिक आइभिएफ सेन्टर संचालनमा, अत्याधुनिक उपकरणसहितको सेवा सुरु



काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ ।

laxmi

बुधबार एक समारोहका बीच अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको हो । अस्पतालका संस्थापक अध्यक्ष बसन्तकुमार चौधरीकी पत्नी मीना चौधरी, अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी तथा डा. नूतन शर्माले संयुक्त रुपमा रिबन काटेर आइभिएफ सेन्टरको उद्घाटन गरेका थिए ।

चर्चित बरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट आधुनिक सेवा प्रवाह गर्नेछ ।

डा. शर्माका अनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिइने उनले जानकारी दिए । ‘देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । नर्भिकको आइभिएफ सेन्टरमा आएपछि आवश्यक कुनै पनि जाँच गर्न कतै जानुपर्दैन । सबै खालको सेवा यही उपलब्ध छ ।’ डा. शर्माले भने–‘नर्भिकको आइभिएफ सेन्टर देशकै अत्याधुनिक र धेरै सुविधा उपलब्ध भएको सेन्टर पनि हो ।’

प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिईसकेका छन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL