Logo

महँगिएको कुखुराको मासुको मूल्य कहिले घट्छ ? व्यवसायी भन्छन-मूल्य घट्न अझैं २ देखि ३ महिना लाग्न सक्छ

महँगिएको कुखुराको मासुको मूल्य कहिले घट्छ ? व्यवसायी भन्छन-मूल्य घट्न अझैं २ देखि ३ महिना लाग्न सक्छ



काठमाडौं । पछिल्लो समय नेपाली बजारमा कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । गत भदौदेखि मंसिरसम्म घटेर प्रतिकिलो २ सय रुपैयाँसम्म झरेको कुखुराको मासुको मूल्य हाल शतप्रतिशतभन्दा बढीले बढेको छ । काठमाडौं उपत्यकामा ब्रोईलर कुखुराको मासुको मूल्य ४ सय रुपैयाँदेखि ४ सय ३० रुपैयाँसम्म कायम गरिएको छ ।

laxmi

जुन गत भदौ महिनाको तुलनामा २ सय ३० रुपैयाँले बढी हो । ब्रोइलर कुखुराको प्यारेन्ट ल्याएर चल्ला उत्पादन गर्ने नेपाली व्यवसायीहरुले लकडाउनको अवधिमा प्यारेन्ट ल्याउन नपाएपछि त्यसको असर हाल देखिएको बताउँदै आएका छन् ।

गत चैत्रदेखि भएको लकडाउनका बेला व्यवसायीहरुले बाहिरबाट प्यारेन्ट ल्याउन सकेनन् । भएका प्यारेन्टबाट उत्पादन गरिएका चल्ला पनि नष्ट गर्नुपर्ने अवस्था आयो । जसका कारण न प्यारेन्ट रहे भने न चल्ला नै उत्पादन हुन सक्यो। तर, लकडाउन खुकुलो भएपश्चात भने व्यवसायीहरुसँग पैसाको अभावका कारण प्यारेन्ट ल्याउन नसकिएको नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन् ।

विष्टका अनुसार लकडाउनमा व्यापार नहुँदा कुखुरा व्यवसायीहरुले आम्दानी गर्न सकेनन् र आम्दानी नभएपछि लकडाउन पछि प्यारेन्ट किन्न सकिएन । हाल केही व्यवसायीहरुले सीमित मात्रामा प्यारेन्ट भित्र्याएर चल्ला उत्पादन गरेका छन् । चल्ला उत्पादन पनि सीमित मात्रामा भएपछि चल्लाको मूल्यसमेत सोही अनुसार बढेको छ ।

लकडाउनताका सस्तो भएको चल्लाको मूल्य पछिल्लो समय आएर बढेको किसानहरु बताउँछन् । काठमाडौंको मुलपानीमा ब्रोईलर कुखुरा पालन गरिरहेका खगराज बराल केही समययता चल्ला र कुखुराको दानाको मूल्य बढेको बताउँछन् । ‘लकडाउन पछि सबैको मूल्य कमै थियो, चल्ला र दाना सस्तोमै पाईएको थियो,’ उनले भने, ‘पछिल्लो २ हप्तादेखि भने चल्ला र दानाको मूल्य मासुको मूल्य बढेझैं बढिरहेको छ।’

बरालले बिजखबरलाई दिएको जानकारीअनुसार गत भदौदेखि पुससम्मै चल्ला प्रतिगोटा ७० देखि ८० रुपैयाँमा पाईएको थियो भने चल्लालाई खुवाउने दाना जिरो प्रतिबोरा ३ हजार ५ सय रुपैयाँ मूल्यमा पाइन्थ्यो । तर, पछिल्लो महिना भने चल्लाको मूल्य बढेर प्रतिगोटा १०५ पुगेको छ भने दानाको मूल्य ३७ सय ५० देखि ३८ सयसम्म पुगेको छ । सस्तोमा चल्ला खरिद गर्न पाएका किसानहरु पछिल्लो महिना मालामाल भएको बरालले बताए ।

तर, अब चल्लाको उत्पादन सहज भएको र प्यारेन्ट पनि भरपुर आएका कारण अबको २ देखि ३ महिनामा कुखुराको मासुको मूल्य घट्न सक्ने बताउँछन् पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट । पुरानो मूल्यमा चल्ला लिएर नयाँ मूल्यमा बेच्न पाएका किसानले भरपुर फाईदा पाएको विष्टले बताए । चल्ला र दाना सस्तोमा पाएर हाल किसानहरुले ज्युँदो कुखुरा भरपुर फाईदामा बेच्न पाएका छन् ।

मूल्य बढ्नुअघि किसानहरुले ज्युँदो कुखुराको मूल्य प्रतिकिलो १ सय देखि १ सय ५० रुपैयाँसम्म पाउने गरेकोमा हाल यस्तो कुखुराको मूल्य किसानहरुले साढे २ सय सम्म पाउने गरेका छन् । नेपालमा बर्षेनी करिव ४ लाख मेट्रिक टन मासु खपत हुँदै आएको छ । त्यसको करिव ३५ प्रतिशत खपत कुखुराको मासुले धानेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL