Logo

कमिशनको खेलले बजारमा औषधिको कृत्रिम अभाव

कमिशनको खेलले बजारमा औषधिको कृत्रिम अभाव


बिजखबर संवाददाता
0
Shares

रक्षा रेग्मी ।

डाक्टरले विरामीलाई नेपाली औषधि सेवन गर्न सिफारिस नगर्दा बजारमा औषधि अभाव देखिएको छ । विरामीका लागि आवश्यक औषधि नेपाली बजारमा हुँदाहुँदै पनि डाक्टरले गलत प्रचारप्रसार गर्दा बजारमा औषधिको कृत्रिम अभाव हुन गएको नेपालका औषधि व्यवसायीहरुले बताएका छन् । ‘डाक्टरहरुले भारतीय कम्पनीबाट कमिशन लिएर विरामीलाई विदेशी औषधि मात्र सिफारिस गर्दै आएका छन्,’ एक औषधि व्यवसायीले भने, ‘जसका कारण विरामीहरु समस्यामा परेका छन् ।’ यदि डाक्टरले विरामीलाई नेपाली औषधि खान सिफारिस गर्ने हो भने उनीहरुका लागि आवश्यक नेपाली कम्पनीसँग रहेको उनको दावी छ ।

हाल अस्पताल तथा डाक्टरले औषधि अभावका कारण अस्पतालहरुले अप्रेसन सेवा समेत बन्द गर्नु परेको भन्दै गलत प्रचारप्रसार गरेको सम्बद्ध औषधि व्यवसायीहरु बताउँछन् । भारतीय नाकाबन्दीका कारण औषधि आयात नभएपनि उपभोक्ताले आत्तिनुपर्ने अवस्था नभएको उनीहरुको दावी छ । औषधि पाउनका लागि सामान्य अवस्थामा जस्तो सहज नभएपनि औषधि अभाव भने नभएको औषधि उत्पादकहरु बताउँछन् । ‘बजारमा भारतीय औषधि कम भएको हो तर सोही खालका नेपाली औषधि जति पनि पाइन्छन्,’ एक व्यवसायीले भने ।

व्यवसायीहरुका अनुसार नेपालमा आवश्यकमध्ये ८० प्रतिशत औषधि यँही उत्पादन हुन्छ । त्यसले गर्दा पनि भारतीय औषधि नआउँदैमा बजारमा हाहाकार हुने अवस्था नआउने प्रष्ट हुन्छ । यता औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल पनि डाक्टरले नै सिफारिस गर्ने निश्चित व्राण्डको औषधि नभए पनि त्यसका विकल्पका अन्य औषधिहरु उपलब्ध भएको दावी गर्छन् । ‘व्यापारीले पारदर्शी ढंगबाट व्यवसाय गरेमा औषधि अभाव हुने अवस्था छैन,’ उनले भने । अहिले बजारमा अभाव भनिएका मुटु तथा डाइवेटिजका औषधिहरु नेपाली उत्पादकहरुसँग भएको उनले जानकारी दिए ।

बजारमा विदेशीको सट्टामा नेपाली औषधि भएपनि डाक्टरहरुले नै कृत्रिम अभाव गराएको सो व्यवसायीको आरोप छ । ‘डाक्टरहरुले बिरामीलाई भारतीय ब्राण्ड मात्र प्रिफर गर्छन्,’ ती व्यवसायीले भने ‘सो औषधि उपलब्ध नभए अभाव भयो भनेर हल्ला गर्छन्, त्यसको विकल्पका नेपाली औषधि हामीसँग उपलब्ध छ ।’ भारतीय कम्पनीसँग कमिसन खाने हुनाले डक्टरहरुले त्यस्ता औषधि मात्र प्रिफर गरेको उनको आरोप छ ।

नेपालमा केही लाइफ सेभिङ ड्रग्स बाहेक अन्य औषधि उत्पादन हुने व्यवसायीहरु बाउँछन् । संकटको वेलामा नेपाली औषधि खान प्रिफर गर्दा आगामी दिनमा कमिशन गुम्ने खतराले सम्बन्धित डाक्टरहरुले नै कृतिम अभाव गराएका व्यवसायीहरुको आरोप छ ।

हाल भारतीय कम्नपीको विकल्पमा नेपाली कम्पनीहरुसँग जति पनि औषधि रहेको व्यवसायीहरुको दावी छ । ‘हामीसँग भारतीय कम्पनीले उत्पादन गर्ने जुनसुकै खालका औषधि छन् तर डक्टरले कमिशनको लागि नेपाली औषधि प्रिफर गर्दैनन्,’ एक व्यवसायीले भने । साथै, गुणस्तर र परिमाणमा समेत नेपाली औषधिहरु भारतीय कम्पनीको भन्दा अघि रहेको समेत उनीहरुको दावी छ ।

हाल नाम चलेका सिनियर डक्टरहरुले पनि नेपाली औषधि गुणस्तरिय नभएको भन्दै विरामीलाई प्रिफर गर्दैनन् । तर, नेपाली औषधिहरुले जिएमपी(गुड मेनुफ्याक्चरिङ प्राक्टिस) पाइसकेका छन् । हाल नेपालमा उत्पादित औषधिहरु विदेशमा समेत निर्यात हुन थालिसकेका छन् । यदि डाक्टरहरुले विरामीलाई नेपाली औषधि सेवन गर्न प्रिफर गर्ने हो भने सहज रुपमा पाइनुका साथै भारतीय औषधिभन्दा सस्तो समेत हुने व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरुका अनुसार भारतीय व्राण्डको औषधि अझै केही समय नआएपनि नेपाली कम्पनीले नै बजारको माग धान्न सक्ने छ बजारमा कुनै निश्चित व्राण्डको औषधि अभाव भएको होला त्यसको सवै विकल्प थुप्रै नेपाली औषधिहरु छन् । कच्चा पदार्थ भारतबाट ल्याउनुपरेकोले नाकाबन्दी अझै लामो चल्यो भने औषधि उत्पादनमा समस्या हुने व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL