काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन तथा बाँडफाँड गरिसकेको छ ।
अब कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्कासन गरेको हो । सोमध्ये ३० हजार ९५ कित्ता सेयर कर्मचारीहरुका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
यस आईपीओको निष्कासन बन्द छिटोमा साउन २९ गते हुनेछ भने ढिलोमा भदौ ९ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सो आईपीओमा न्यूनतम १० कित्ता रअधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कस्तो छ रेटिङ ?
आइपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८२ असार १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८३ असार १२ गतेसम्म बाहल रहनेछ ।
कम्पनीसम्बन्धी जानकारी
माबिलुङ्ग इनर्जी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित संस्था हो । यस संस्थाको रजिष्टर्ड रजिष्टर्ड कार्यालय ललितपुर वडा नं. १०, कुपण्डोलमा रहेको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्र संखुवासभा जिल्ला, मादि नगरपालिमा वडा नं.७ मा रहेको छ । यस कम्पनी निजी क्षेत्रका उद्यमिहरु मिलेर २०७१ माघ १२ मा नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा माबिलुङ्ग इनर्जी प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार संचालन गर्दै आएको थियो । पछि आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता विस्तार गर्ने हेतुले २०७६ फागुन १२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भई माबिलुङ्ग इनर्जी लिमिटेडको नाममा कारोबार संचालन गर्दै आएको छ ।
कम्पनीको पुँजीसम्बन्धी विवरण
हाल कम्पनीको अधिकृत पुँजी ४० करोड रुपैयाँ छ । जारी पुँजी ३८ करोड ५८ लाख २८ हजार रुपैयाँ छ । आइपीओ निष्कासपछि यस कम्पनीको चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात् ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ नै पुग्नेछ । आइपीओ निष्कासनपछि यस कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ५१.०००२ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४८.९९९८ प्रतिशत कायम रहनेछ ।
आयोजनासम्बन्धी विवरण
यस कमपनीले माथिल्लो पिलुवाखोला—३ खोला जलविद्युत आयोजना (४.९५ मे.वा.) निर्माण गरिरहेको छ । यसको आयोजना स्थल मादि र चैनपुर नगरपालिका संखुवासभा रहेको छ । पिलुवाखोला र सिखुवाखोलाको पानि प्रयोग गरेर आयोजना निमार्ण भएको हो । उक्त अयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ । हालसम्म यस आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीसम्बन्धी वित्तीय प्रक्षेपण
यस कम्पनीले २०८३–८४ सम्म पुँजी वृद्धिको कुनै योजना बनाएको छैन । आर्थिक वर्ष २०८२–८३ सम्म यस कम्पनीले ३ करोड ३४ लाख ५७ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३–८४ सम्म ४ करोड २० लाख ३२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८३–८४ सम्म प्रतिसेयर आम्दानी १० रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपणा कम्पनीले गरेको छ ।