Logo

सेयर बजारमा बैंक आतंक, नाफा बुक गर्न कोल्याट्रलमा राखेको सेयर धमाधम बिक्रीमा

सेयर बजारमा बैंक आतंक, नाफा बुक गर्न कोल्याट्रलमा राखेको सेयर धमाधम बिक्रीमा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लगानीकर्ताले कोल्याट्रलमा राखेको सेयर बिक्री गरिदिन थालेका छन् । उच्च मूल्य हुँदा सेयर धितो कर्जा लिएका लगानीकर्ताले अहिले मुल्य घटेको अवस्थामा मार्जिन कल गर्दा थप रकम जुटाउन नसकेपछि बैंकहरुले आफुखुशी नै त्यसरी धितोमा राखेको सेयर बिक्री गरिदिन थालेका हुन् ।

laxmi

बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको अन्त्यमा नाफा बुक गर्नका लागि पनि लगानीकर्ताले त्यसरी धितोमा राखेका सेयर बिक्री गरेर असुलीलाई तिब्रता दिएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले त्यसरी धितोमा राखेका सेयर बिक्रीमा ल्याएकै कारण बजारमा बिक्री चाप आएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

लगानीकर्ताहरुले उच्च मूल्य हुँदा सेयर धितोमा राखेर कर्जा लिएको र अहिले मूल्य घटेको अवस्थामा मार्जिन कल गर्दा पनि रकम थप नगरेकाले सेयर नै बिक्री गरेर असुली गरिएको एक बैंकरले जानकारी दिए । ‘उदाहरणका लागि लगानीकर्ताहरुले कुनै कम्पनीको सेयर मुल्य ५ सय हुँदा सेयर धितो राखेर कर्जा लिएका थिए,’ ती बैंकरले भने, ‘सामान्यतय त्यस्ता सेयरको मुल्य २० प्रतिशतले घट्दा मार्जिन कल गरिन्छ तर अहिले ती सेयरको मुल्य २ सय रुपैयाँमा झरिसक्दा पनि ऋणीहरुले मार्जिन रकम थप नगरेकाले उनीहरुको सेयर बिक्री गरेर ऋण उठौतीमा लागेका हौं ।’

विशेषगरी बैंक तथा वित्तीय संस्थाले असार लागेपछि धितोमा रहेका सेयरहरु बिक्रीमा ल्याउन थालेका थिए । ऋणीले भनेको समयमा मार्जिन रकम थप तथा कर्जा नतिरेको र चालू आवको अन्तिम भएकाले पनि नाफा बुक गर्न बैंकहरुले कोल्याटरलमा रहेका सेयर बिक्री गर्न थालेका हुन् ।

यसैगरी ब्रोकरले पनि लगानीकर्ताको सेयर बिक्री गरेर असुलीमा लागेका छन् । घट्दो बजारमा कतिपय लगानीकर्ताले सेयर खरिद गरेर भुक्तानी नदिएको र त्यस्ता सेयर ब्रोकर आफैले बिक्री गरिदिएर आफ्नो पैसा उठौतीमा लागेका हुन् ।

सेयर बजार उच्च विन्दुमा पुगेको समय सेयर खरिद गरेका लगानीकर्ताको अहिले मूल्य ५० देखि ६० प्रतिशतसम्म घटिसकेको छ । तर, लगानीकर्ताले २५ प्रतिशत मात्रै मार्जिन रकम राखेर सेयर खरिद गरेको र हाल ज्यादै न्यून मुल्यमा सेयर आउँदा लगानीकर्ताले ब्रोकरको फोन समेत उठाउन छाडेका सम्बद्ध ब्रोकरहरुनै बताउँछन् । साथै फोन नउठाउने लगानीकर्ता उधारोमा खरिद गरेका सेयरको भुक्तानी गर्ने सम्भावना ज्यादै न्यून रहेकाले ब्रोकर आफैले त्यस्ता सेयर बिक्री गरिदिन थालेका हुन् । ‘हामीले लगानीकर्तालाई उनीहरुले खरिद गरेको सेयरको रकम भुक्तानी गरिदिन पटक पटक फोन गर्छौं,’ एक ब्रोकरले भने, ‘त्यसरी फोन गर्दा पनि लगानीकर्ताले रेस्पोन्स नगरेपछि बाध्य भएर हामीले उनीहरुको सेयर बिक्री गरिदिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL