Logo

भाडा भढी भएपनि लामो दूरीको सार्वजनिक यातायातमा छैन यात्रुको कमी, लामो बन्द पछि काठमाडौंबाट बाहिरिने बढे

भाडा भढी भएपनि लामो दूरीको सार्वजनिक यातायातमा छैन यात्रुको कमी, लामो बन्द पछि काठमाडौंबाट बाहिरिने बढे



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसका कारण लामो समय बन्द भएको लामो दुरीको सार्वजनिक यातायात सेवा संचालनमा आएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बसमा सिट क्षमताको ५० प्रतिशत यात्रु राख्ने र पुरानो भाडादरमा ५० प्रतिशत भाडा थपेर लामो दुरीका बस संचालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार यातायात व्यवसायीले बिहीबारदेखि देशभर लामो दुरीका सार्वजनिक सवारीसाधनहरु संचालनमा ल्याएका छन् ।

laxmi

यसरी धेरैपछि लामो दुरीका सार्वजनिक सवारीसाधन बढी भाडासहित चल्दा पनि काठमाडौं छोडेर बाहिर जाने यात्रुको भने कमी छैन । अर्थात ६ महिनापछि संचालनमा आएको लामो दुरीको सार्वजनिक सवारीसाधनमा बाहिर जाने यात्रुहरुले आजै (शुक्रबार)मात्रै २० ओटा बढी बस भरिने गरी टिकट बुकिङ गरिसकेका छन् ।

गोंगबु बसपार्कको व्यवस्थापन जिम्मा पाएको ल्होत्से बहुउद्देसीय प्रालीका महाप्रवन्धक सुनिल कुँबरका अनुसार आजै बेलुकासम्म यात्रु भरिएका १५ देखि २० बसहरु काठमाडौं बाहिर जाँदैछन् । ‘बस बाहिर जाने भएपछि यात्रुको भने कमी छैन,’ उनले भने, ‘हामीले २ सिटमा एक यात्रु राखेर टिकट काटिरहेका छौं, यसरी टिकट काट्दा आजै मात्रै १५ देखि २० बस बाहिर जान सक्ने देखिएको छ ।’

काठमाडौंबाट फर्किनेहरुको संख्या हिजोभन्दा आज बढिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । उनका अनुसार लामो रुटका यात्रुहरु हिजोभन्दा आज केही बढेका छन् । यस्तै काठमाडौं बाहिरबाट पनि काठमाडौं भित्रिने बसहरुको संख्या उत्तिकै मात्रामा बढी छ । तर हाल स्थानीय प्रशासनले नै निर्णय गर्न सक्ने भएपछि केही स्थानीय तहबाट भने गाडीहरु आउन पाएका छैनन । ‘कतिपय स्थानीय तहहरुमा अझै पनि निशेधाज्ञा लागु भईरहेकाले त्यस्ता स्थानीय तहबाट गाडी आउन कठिन भैरुहेको छ,’ उनले भने, ‘तर हामीले रोकिएको यात्रुबाहक बसहरु पठाउन र ल्याउन विभिन्न निकायसँग समन्वय र पहल गरिरहेका छौं ।’

यता स्थानीय प्रशासनकै कारण देशको पश्चिमबाट आजै मात्रै २ देखि अढाई सय गाडी र पूर्वबाट पनि सोही अनुसारकै संख्यामा काठमाडौं बस आईपुग्ने उनको भनाई छ । तर पश्चिमको सुर्खेतमा अझै निशेधाज्ञा भएकाले ५ गतदेखि मात्रै बस संचालन गर्न दिने निर्णय भएको ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवर बताउँछन् । यसरी विभिन्न स्थानबाट बसहरु आउने र काठमाडौंमा भएका गाडीहरु बाहिर जाने प्रक्रिया चलिरहेको उनको भनाई छ । काठमाडौंबाट टिकट काटेर बाहिर जाने यात्रुहरुका लागि विभिन्न सुरक्षा नीति अपनाएर टिकट काट्ने र बसमा चढ्ने व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL