Logo

धितोपत्र बोर्डले भन्यो–अहिलेको बढाईले बजारमा दिगोपना आउँदैन, लगानीकर्ता भन्छन्, सेयर बजार ‘महाजुवाघर’ मा परिणत भयो

धितोपत्र बोर्डले भन्यो–अहिलेको बढाईले बजारमा दिगोपना आउँदैन, लगानीकर्ता भन्छन्, सेयर बजार ‘महाजुवाघर’ मा परिणत भयो



काठमाडौं । आईतबार प्रि ओपनिङको समय पहिलो सर्किट नजिक पुगेको नेप्से परिसुचक सोमबार खुल्न नपाई सर्किट लागेर २० मिनेटका लागि बजार बन्द हुन पुग्यो । बजारमा स्वतस्फूर्त बढाई भन्दा पनि समित पहुँचवालाले प्रि ओपनिङको समयमा १०/१० कित्ता सेयर कारोबार गराएर बजार बढाएका छन् ।

पछिल्लो समय सेयर बजारमा पहुँचवाला लगानकर्ताले ब्रोकर, बैंक तथा प्रविधिको प्रयोग गरेर नेप्से परिसुचक अनावश्यक रुपमा बढाएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘हिजो र आजको तथ्याङ्क हेर्ने हो भने न वास्तविक लगानीकर्ताले सेयर खरिद गर्न पाएका छन् न बिक्री गर्न पाएका छन्,’ ती लगानीकर्ताले भने, ‘सिमित पहुँचवाला लगानीकर्ताले आफ्नो स्वार्थमा १० कित्ता सेयर कारोबार गराएर बजार बढाएका छन् ।’

सेयर बजार सम्बन्धी नियामक निकाय, ब्रोकर तथा लगानीकर्ता सम्बन्धी संघसंस्थाले बजारमा १६ लाखभन्दा बढी लगानीकर्ता रहेको बताउँदै आएका छन् । तर हिजो र आज बजारमा भएको कारोबार हेर्नेहो भने ५० देखि १०० जना लगानीकर्ताले बजारमा तलमाथी गराईरहेका छन् । सोमबार बजार खुलेको ३ मिनेट मात्रै कोरोबार भएर दोस्रो पोजेटिभ सर्किट हानेर केही समयलाई बन्द भएको बजार त्यसपश्चात खुले लगत्तै उल्टो ५ प्रतिशतभन्दा बढीले गिरावट आउँद्यै घट्न पुगेको थियो । छाटो समयमै उच्च उतारचढाव हुने बजारमा साना तथा पहुँच नभएका लगानीकर्ताहरु मारमा पर्ने सम्भावना उच्च रहेको छ ।

बजारमा माग र पूर्तिको आधारमा नेचुरल ग्रोथभन्दा पनि सट्टेबाजीमा बजार बढाउने काम भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । सेयर बजारमा सट्टेबाजी हुनेभन्दै तत्कालित अर्थमन्त्री डा. बाबुराम भट्राईले नेप्सेलाई जुवा घरको संज्ञा दिएका थिए । तर पछिल्लो दुई दिनको गतिविधि हेर्दा पूँजी बजारमा महाजुवाघरमा परिणत भएको एक लगानीकर्ताले बताए । ‘जुवामा हार्न वा जित्नका लागि खालका थाप्नुपर्छ तर नेपालको पूँजी बजारमा आफ्नो खातामै भएको सेयर खरिदबिक्री गर्न नपाईकनै गुमाउने र कमाउने क्रम उच्च देखियो ।’

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर कारोबारका लागि अनलाईन प्रणाली ट्रेड म्यानेजमेण्ट सिस्टम (टीएमएस) ल्याएको छ । तर उक्त टीएमएम खुल्नै समय लाग्ने भएकाले पनि सामान्य लगानीकर्ताले सेयर खरिदबिक्री पाएका छैनन् । हालको बढाईमा ब्रोकर, सीडीएससी वा टीएमएस निर्मार्ता कम्पनी वाईकोसँग पहुँच लगानीकर्ताले मात्र बजारमा चलखेल गर्दै आएका सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् ।

यसैगरी नियमक निकाय नेपाल धितोपत्र बोर्ड पनि अहिलेको बजार बढाई दिगोपना नहुने बताउँछन् । ‘बजारको दिगोपना हुनका लागि नेप्से परिसुचक ६ प्रतिशतले सर्किट हानेर बढ्दा ३÷४ अर्बको सेयर कारोबार हुनुपर्छ,’ धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने, ‘बजार ६ प्रतिशतले बढ्दा ८÷१० करोड रुपैयाँको मात्र कारोबार हुनु समग्र लगानीकर्ताको लागि दुर्भाग्य हो ।’

साथै अहिलेको अवस्थामा कारोबार भएको दुई मिनेटमै सर्किट लाग्नेगरी बजार बढ्नुपर्ने कुनै कारण नभएको समेत उनले जानकारी दिए । ‘पहिला पनि सेयर बजार सुधारका लागि ५० प्रतिशत रहेको मार्जिन लेण्डिङको सिमालाई ६५ प्रतिशत पुर्याएकै हो तर त्यसबेला बजार बढ्नुको सट्टा घट्यो,’ उनले भने, ‘तर अहिले मौद्रिक नीतिले ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउँदैमा यसरी बजार बढ्नुको कुनै अर्थ रहँदैन ।’

जबसम्म बजारको कारोबार रकम बढेर धेरैभन्दा धेरै लगानीकर्ताको सहभागिता हुँदै तबसम्म नेपालको पूँजी बजारमा दिगोपना नआउने समेत बोर्डले जानकारी दिएको छ । साथै पछिल्लो समय १०/१० कित्ता कारोबार गराएर बजार बढाएकाले यस विषयमा समेत बार्डले अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL