Logo

स्वघोषित लगानीकर्ता संघसस्थाका स्वघोषित सिमित नेताको कब्जामा पूँजी बजार, अनुचित मागको सारथी बन्दै बोर्ड र नेप्से

स्वघोषित लगानीकर्ता संघसस्थाका स्वघोषित सिमित नेताको कब्जामा पूँजी बजार, अनुचित मागको सारथी बन्दै बोर्ड र नेप्से



काठमाडौं । भनिन्छ कुनै पनि संघसंस्थाले व्यक्ति हैन समुह वा समाजको नेतृत्व गर्छ । तर, नेपालको पूँजी बजारमा भने ठ्याक्कै त्यसको विपरित भएको छ ।

laxmi

यतिवेला नेपालका लगानीकर्ताका हकहितका लागि भन्दै खुलेका पूँजी बजार सम्बन्धी संघसंस्थाहरु सम्बद्ध लगानीकर्ताहरुको हकहित भन्दा पनि व्यक्तिगत स्वार्थ पूर्तिका लागि आन्दोलन तथा बजार बन्द गराउने कार्यमा तल्लिन देखिन थालेका छन् । लकडाउन पछि लामो समय बन्द भएको बजार खुलाउनुको सट्टा उनीहरुले धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई अनुचित दबाब दिँदै यो हप्ता बजार बन्द गराउन सफल भए ।

पूँजी बजारको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने लगानीकर्ताहरु बजार खुला गर्ने पक्षमा रहँदा धितोपत्र बोर्ड र नेप्सेले पनि तिनै स्वघोषित लगानीकर्ता संघसंगठनका नेताहरुलाई सर्वोपरी ठान्दै उनीहरुको मागमा सहमत हुँदै पूँजीबजारलाई तिलान्जली दिएका छन् । सरकारले पहिलो चरणको लकडाउन खुला गर्दै सबैजसो उद्योग व्यवसाय तथा पसलहरु संचालनमा ल्याउँदा पनि धितोपत्र बोर्डले भने पूँजीबजारको सिद्धान्तभन्दा बाहिर गएर आफ्ना व्यक्तिगत स्वार्थ पूर्तिका लागि खुलेका संघसंस्थाको स्वधोषित नेताहरुको मागलाई साथै दिँदै अर्को हप्तामात्र बजार खुला गर्ने निर्णय गर्यो ।
धितोपत्र सम्बन्धी कानुनमा हेर्ने हो भने पूँजी बजारका लगानीकर्ताहरुको संघसंगठन हुन्छ वा खोल्न पाईने छ भनेर कहिकतै उल्लेख छैन । अर्को कुरा सेयर बजार पेशा वा व्यवसाय हैन हो विशद्ध लगानी हो । यो व्यक्तिगत लगानी भएकाले यसका सामुहिक हित भन्ने नै हुँदैन ।

तर पछिल्लो समय लगानीकर्ताका हकहितका लागि भन्दै खुलेका यस्ता संघसंस्थाका नेताहरुले सम्बद्ध निकायहरुलाई अनुचित दबाब दिँदै सुचना चुहावट गरेर व्यक्तिगत स्वार्थ लिने गरेको पाइएको छ । साथै कतिपय पय लगानीकर्ता संघका नेताले म फलनो संस्थाको अध्यक्ष वा पदाधिकारी भन्दै ब्रोकरसँग उधारोमा सेयर किनेर लामो समयसम्म होल्ड गर्ने गरेको समेत एक ब्रोकरले जानकारी दिए ।

‘सेयर बजार विशुद्ध व्यक्तिगत लगानी भएकाले यहाँ लगानीकर्ताको हित भन्ने नै हुँदैन,’ एक ठूला लगानीकर्ताले भने, ‘अहिले बजार खुलेका लगानीकर्ता संघसंगठनका स्वघोषित नेताहरुले म फलानो संघका अध्यक्ष वा नेता हुँ भन्दै सम्बद्ध निकायलाई गैरकानुनी रुपमा दबाब दिँदै सुचना लिएर त्यसैको आधारमा आफुले अनुचित फाइदा उठाउँदै आएका छन् ।’

अहिले बजारमा जति पनि लगानीकर्ता सम्बन्धी संघसंस्था छन् तिनीहरुको दोस्रो बजारमा हुने सेयर कारोबार तथा पोर्टफोलियो समेत नगन्य मात्रामा भएको सम्बद्ध ब्रोकरहरु बताउँछन् । ‘बजार लगानीकर्ताको हकहितका लागि भन्दै खुलेका कुनै पनि संस्थाको अध्यक्ष वा पदाधिकारीको पोर्टफोलियो एकदमै सानो छ,’ एक ब्रोकरले भने, ‘उनीहरुको आन्दोलनका माग तथा वार्गेनिङ हेर्दा सुचनाको पहुँच बनाएर आफ्ना सिमित समुहले मात्र कमाउन खोजेजस्तो देखिन्छ ।’

पूँजीबजारका लगानीकर्ताका हकहितका लागि भन्दै नेपालमा केन्द्रस्तरमै ५ वटा संघसंस्था खुलेका छन् । तर ती संस्थाहरु आफैमा कति पारदर्शी छन्, त्यस्ता संस्थाका नेताहरु लगानीकर्ताहरुबाट अनुमोदित भएका वा चुनिएका हुन कि हैनन् ? ती संघसंस्थाले कति लगानीकर्ताको प्रतिनिधित्व गर्छन भन्ने प्रश्न उब्जिएको छ । अहिले छोटेलाल रौनियार नेतृत्वको नेपाल इन्भेष्टर्स फोरम, उत्तम अर्याल नेतृत्वको सेयर लगानीकर्ता संघ, राधा पोखरेल नेतृत्वको नेपाल पूँजी बजार लगानीकर्ता संघ, संरचना चौधरी नेतृत्वको नेपाल पूँजी बजार संघ र केही असन्तुष्ट पक्ष समावेश भएको दिपेन्द्र अग्रवाल नेतृत्वको सेयर लगानीकर्ता दबाब समुह ।


तर यी सबै संस्थामा लगानीकर्ताबाट अनुमोदित अध्यक्ष वा पदाधिकारी भन्दा पनि आफुखुसी संस्था गठन गरेर आफुले आफैलाई नेता मानेर संस्था संचालन गर्दै आएका छन् । अर्याल, पोखरेल, चौधरीले आफैले संस्था खोलेर अहिलेसम्म उनीहरु नै अध्यक्ष रहँदै आएका छन् । उनीहरुले सम्पूर्ण लगानीकर्तालाई समेटेर संस्था गठन गर्नुभन्दा पनि आफ्नो स्वार्थ मिल्ने समुह तथा परिवार भित्रका सदस्यहरु समावेश गरेर संस्था खोलेर स्वघोषित अध्यक्ष वा पदाधिकारी रहँदै आएका छन् । अन्य संस्थाको तुलनमा केही ठूला लगानीकर्ताहरु समेटेर नेपाल इन्भेष्टर्स फोरम गठन भएपनि उक्त संस्थाको नेतृत्व पनि लगानीकर्ताबाट चुनिएका व्यक्ति छैनन् ।

फोरमका तत्कालिन अध्यक्ष अम्बिकाप्रसाद पौडलले उक्त संस्थाको अध्यक्ष पदबाट राजीनामा दिएपछि रौनियारले स्वत अध्यक्ष पद सम्हाल्ने मौका पाएका हुन् । तर उक्त संस्थाले पनि पौडलेले राजीनामा दिएपछि नयाँ नेतृत्व चयनलाई वेवास्ता गर्दै आएको छ । यसैगरी बुटलव तथा सुदुर पश्चिममा पनि पूँजी बजार सुधाका लागि भन्दै आफुखुशी क्षेत्रिए स्तरमा लगानीकर्ता संघ स्थापना भएका छन् । यसरी लगानीकर्ताको हकहितका लागि भन्दै खुलेका कतिपय संघसंस्थाका आफ्ना सदस्यलाई जानकारी दिने वेवसाईट समेत संचालमा छैनन् भने भएकाको पनि अपडेट छैनन् ।

पछिल्लो समयले धितोपत्र बोर्ड तथा नेप्सेले यिनै स्वधोषित संस्थाले उठाएका अनुचित मागलाई सम्बोधन गर्दै उनीहरुले भनेकै आधारमा सेयर बजारमा विकृत्ति ल्याउने काम गरेका एक ठूला लगानीकर्ताले बताए । ‘अहिले ५ वटै संस्थाले हामीले १५ लाख लगानीकर्ताको नेतृत्व गछौं विभिन्न आन्दोलन तथा नियामक निकायसँग वार्तामा बस्दै आएका छन्,’ ती लगानीकर्ताले भने, ‘बोर्ड तथा नेप्सेले पनि सोही संघसंस्थाका नेतासँग वार्तामा बसेर निर्णय गर्दा पूँजी बजारका वास्तविक लगानीकर्ताको माग संवोधन हुन सकेको छैन ।’

नेप्से तथा बोर्डले अबका दिनमा त्यस्ता संस्थाको वैधानिकता, नेपालको जस्तो पूँजी बजारमा कति वटा लगानीकर्ता सम्बन्धी संघसस्था चाहिने हो ? त्यस्ता संस्थामा कति लगानीकर्ता सदस्य छन् भनेर छानविन गर्नुपर्ने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । नियामक निकायले स्वार्थ केन्द्रित सिमिति व्यक्तिहरुले खालेका संस्थाहरुका मागलाई आधार बनाएर वार्ता तथा छलफल गर्दा अहिले पूँजी बजारमा थप अन्यौलता आएको एक लगानीकर्ताले बताए । ‘अहिले कारोबारलाई अधार मान्ने हो भने ९० प्रतिशत लगानीकर्ताहरु यस्ता संघसंस्थाभन्दा बाहिर छन्,’ ती लगानीकर्ताले भने, ‘तर सेवोन तथा नेप्सेले भने १० प्रतिशत लगानीकर्ताहरु पनि नसमेटा संघसस्थाका स्वघोषित अध्यक्ष तथा पदाधिकारीसँग वार्ता तथा उनीहरुको माग सम्बोधन गर्दा अन्यौलता सिर्जना भएको हो ।’ पछिल्लो समय नेप्से यसैहप्ता बजार खुला गर्न तयारी अवस्थामा वसेपनि सेवोनले तीनै लगानीकर्ताको मागलाई आधार बनाउँदै अर्को हप्तामात्रै खुला गर्ने निर्णय गरिदियो ।

हाल बजारमा खुलेका संस्थामध्ये रौनियार नेतृत्वको इन्ष्टर्स फोरम र अर्याल नेतृत्वको सेयर लगानीकर्ता संघ जिल्ला प्रशानमा दर्ता भएको छ भने पोखरेल र चौधरी नेतृत्वको दुईवटा संघ कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारमा कम्पनीको रुपमा दर्ता भएको संस्थाले पूँजी बजारको हकहितका लागि भन्दै काम गर्नुनै गैर कानुनी भएको एक कानुन व्यवसायीले बताए । ‘कम्पनी रष्ट्रिारमा दर्ता भएका कम्पनीको उद्देश्य नाफा कमाउने भन्ने हुन्छ,’ ती कानुन व्यवसायीले भने, ‘हाल पूँजीबजारको हकहितका लागि खुलेका संस्थाको उद्देश्यमा नाफा गर्ने तर वितरण गर्ने उल्लख गरेको हुन्छ तर त्यसरी गरेको नाफा संस्थाभित्रकै पदाधिकारीले आफुखुशी रकम खर्च गर्दै आएका छन् ।’ त्यस्ता संस्थाहरुले लेटर प्याडमा समेत कम्पनी दर्ता नम्बर लेख्न छाडेर दर्ता नम्बर लेख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL