Logo

अर्थमन्त्री डा. युवराज खतिवडासँग नाडाको भेट, सुस्ताएको अटोमोवाइल व्यवसायलाई लक्षित गर्दै नयाँ कार्यक्रम ल्याउने आश्वासन

अर्थमन्त्री डा. युवराज खतिवडासँग नाडाको भेट, सुस्ताएको अटोमोवाइल व्यवसायलाई लक्षित गर्दै नयाँ कार्यक्रम ल्याउने आश्वासन



काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटमा फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याबारे छलफल गरेको नाडाले जानकारी दिएको छ ।

नाडाका अध्यक्ष दुलालले अटोमोवाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनको समस्या, नाडाले भिसीटिएसका सम्बन्धमा देखा परेको समस्याहरुको निराकरणका लागि छिट्टै प्रशिक्षण कार्यक्रम गर्न लागेको बताए । सोही क्रममा अध्यक्ष दुलालले काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढिलाईबारे बारे जिज्ञासा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो पोखेका छन ।

भेटमा उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो पोखेका छन । छलफलमा महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखा परेका समस्या तथा चुनौति, हेवि इक्युपमेण्टस तथा कमर्सियल सवारी साधनहरुको व्यवसायमा देखा परेका समस्याहरु प्रस्तुत गरेका थिए ।

मन्त्री डा. खतिवडाले भारतबाट आउने भाडाका गाडिहरुको विषयमा बोल्दै अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने सुझाव सकारात्मक रहेको बताएका छन । उनले उच्च प्रविधिका विद्युतीय सवारी साधनहरुलाई सरकारले उच्च प्राथमिकता दिने बताउँदै बैंकहरुले लिने व्याज बिशेष गरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने बताएका छन ।

सवारी साधनको व्यवसाय विशिष्ट किसिमको भएको भन्दै नेपाल विश्व व्यापार संङ्गठनको सदस्य भएको हैसियतले सवारी साधनहरुमा लाग्ने करको दरमा पुर्नविचार गर्न लागेको मन्त्री खतिवडाले बताए । साथै उनले सुस्ताएको अटोमोवाइल व्यवसायलाई उठाउन व्यवसायीहरुले महशुस गर्ने गरी कार्यक्रम ल्याउने समेत जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL