Logo

एक लगानीकर्ता एक डिम्याट खाता !

एक लगानीकर्ता एक डिम्याट खाता !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई व्यवस्थित गर्न एक लगानीकर्ता एक डिम्याट (हितग्राही) खाताको अवधारणालाई अघि बढाएको छ । एउटै व्यक्तिको धेरै खाता हुँदा दुरुपयोग हुने गुनासो आएपछि बोर्डले एक व्यक्ति एक डिम्याट खाताको अबधारणालाई अधि बढाएको हो ।

एक व्यक्ति एक खाताको व्यवस्थालाई कार्यान्वयनमा ल्याएर कडाइका साथ लागू गर्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने विषमा छलफल भइरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् । ‘एक लगानीकर्ता एक हितग्राही खातालाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा सम्बद्ध सरोकारवालासँग छलफल भइरहको छ,’ उनले भने, ‘पहिलो चरणमा मर्चेण्ट बैंकर र सीडएस एण्ड क्लियरिङसँगको छलफल सकियो ।’

सेयर बजारमा हुने लगानी र लगानीकर्ताको वास्तविक पहिचालनका लागि पनि एक व्यक्ति एक खाताको अबधारणा आवश्यक भएको बोर्डले जानकारी दिएको छ । एउटै व्यक्तिको धेरै खाता हुँदा हकप्रद सेयरमा आवेदन दिँदा समस्या उत्पन्न हुनुका साथै साधारण सेयर निष्काशनमा पनि एउटै व्यक्तिले २/३ वटा आवेदन दिन सक्ने बोर्डको तर्क छ । उदाहरणका लागि धेरै खाताको संचालन गर्न पाउँदा एउटै व्यक्तिले सिताराम र सिता राम गरी दुई वटा हितग्राही खाता खोलेर लाभ लिन सक्ने समेत गिरी बताउँछन् ।

बोर्डले धितोपत्र सम्बन्धि निर्देशिका परिमार्जन गर्दै प्राकृतिक व्यक्तिले मात्र साधारण सेयरमा आवेदन दिन पाउने र आस्वा प्रणाली अन्तरगत साउन १ गतबाट न्युनतम १० कित्ता सेयर पर्ने ग्यारेन्टी गरेको छ । यसरी एउटै व्यक्तिले २÷३ वटा आवेदन दिएमा समस्या उत्पन्न हुने बोर्डको तर्क छ ।

केही समय अघि लगानीकर्ता पहिचानका लागि इम्भेष्टर्स आईडी बनाउने चर्चा चलेको थियो । तर, उक्त परिचयपत्र बनाउने विषयमा पनि त्यतिकै थन्किएकाले तत्कालका लागि व्यवस्थित गर्न एक व्यक्ति एक हितग्राही खाताको अवधारणालाई अघि बढाइएको गिरी बताउँछन् । साथै सो विषय पनि छलफलकै क्रममा रहेकाले टुङ्गो लाग्न अझै समय लाग्ने उनको तर्क छ ।

बोर्डले २०७२ साल माघदेखि हितग्राही खाताको व्यवस्था गरेको थियो । २०७३ माघसम्ममा डिम्याट खाता खोल्नेहरुको संख्या ७ लाख ४६ हजार ६ सय ६० पुगेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्र ३ लाख ५४ हजार ३ सय १ जनाले डिम्याट खाता खोलेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL