काठमाडौं । सारथी केबुल इन्डस्ट्रिज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) व्यवस्थापनका लागि सम्झौता गरेको छ। सम्झौतापत्रमा सारथी केबुलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ भित्रै आफ्ना जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने लक्ष्य राखेको छ। आईपीओबाट संकलन हुने रकम कम्पनीको आगामी विस्तार योजनामा प्रयोग गरिनेछ।
सारथी केबुलले नेपालमै पहिलोपटक भूमिगत तार उत्पादन सुरु गर्ने तयारी गरेको छ। कम्पनीले अत्याधुनिक प्रविधिसहित एलुमिनियम फर्नेस प्लान्ट जडान गर्ने योजना अघि सारेको छ। यसले आयातमा निर्भरता घटाउनुका साथै देशको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
आईपीओ सम्झौतालाई उल्लेखनीय मोडको रूपमा व्याख्या गर्दै अध्यक्ष भुसालले भने, ‘यो हाम्रो विद्युतीय पूर्वाधार आधुनिकीकरण अभियानको एउटा महत्वपूर्ण पाइला हो। भूमिगत तार उत्पादनको विस्तार नेपालमै पहिलोपटक हुन गइरहेको छ, जसले राष्ट्रिय आवश्यकता आन्तरिक उत्पादनबाट पूर्ति गर्न मद्दत पुर्याउनेछ।’
त्यस्तै, सिटिजन्स क्यापिटलका सीईओ श्रेष्ठले आईपीओबाट कम्पनीको उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि हुने बताउँदै भने, ‘यो आईपीओ लगानीकर्ताका लागि सुनौलो अवसर पनि बन्नेछ।’