काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले विद्युतीय सवारीसाधन (ईभी) को आयातमा नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार विभागका पछिल्ला तथ्यांकअनुसार, सो अवधिमा १३ हजार ५ सय ७८ युनिट ईभी कार, जीप र भ्यान नेपाल भित्रिएका छन्।
यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो। त्यस वर्ष ११ हजार ७ सय १ युनिट ईभी आयात भएका थिए।
विभागका अनुसार ५० किलोवाटसम्म क्षमताका ४ हजार ७ सय ३२ युनिट ईभी आयात भएका छन्, जसको कूल लागत ८ अर्ब ३१ करोड १४ लाख ८० हजार रुपैयाँ रहेको छ। यस श्रेणीबाट सरकारले ३ अर्ब ५९ करोड ५२ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
५१ देखि १०० किलोवाट क्षमताका ७ हजार ४ सय ३१ युनिट ईभी भित्रिएका छन्, जसको कूल लागत १८ अर्ब ६२ करोड ८ लाख १४ हजार रुपैयाँ छ। यो समूहबाट ११ अर्ब ८१ करोड २६ लाख ३९ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त भएको छ।
१०१ देखि २०० किलोवाट श्रेणीका १ हजार ३ सय ६२ युनिट ईभी आयात भएका छन्। तिनीहरूको कूल लागत ४ अर्ब ५३ करोड ४५ लाख ३० हजार रहेको छ भने त्यसबाट ३ अर्ब ८५ करोड ७ लाख ३९ हजार रुपैयाँ बराबरको राजस्व उठाइएको छ।
२०१ देखि ३०० किलोवाट क्षमताका ४२ युनिट ईभी पनि भित्रिएका छन्। तिनको कूल लागत २७ करोड ८४ लाख ८७ हजार रुपैयाँ छ भने राजस्व संकलन ४३ करोड ५१ लाख ८९ हजार पुगेको छ।
३०० किलोवाटभन्दा माथिका २ युनिट ईभी आयात भएका छन्, जसको लागत ८३ लाख २३ हजार र राजस्व ८८ लाख २६ हजार रहेको छ।
यस्तै, ५० किलोवाटसम्म क्षमताका अनएसेम्बल्ड ९ युनिट ईभी पनि आयात भएका छन्। ती सवारीसाधनको कूल लागत ६४ लाख १० हजार र राजस्व ३२ लाख १७ हजार रुपैयाँ रहेको विभागले जनाएको छ।
ईभीप्रतिको बढ्दो आकर्षण र सरकारको कर प्रोत्साहन नीतिका कारण यो क्षेत्रमा लगातार वृद्धि देखिएको हो।