काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको पूँजी बजारले ऐतिहासिक रेकर्ड कारोबार गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक विज्ञप्ति जारी गर्दै दोस्रो बजारमा हालसम्मकै उच्च कारोबार रेकर्ड कायम गरेको बताएको हो । बजारका अन्य प्रमुख परिसूचकहरूमा पनि गत आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको नेप्सेले जनाएको छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्र कारोबार भएको थियो । तर, २०८१/८२ मा सो कारोबार १८९.२३ प्रतिशतले वृद्धि भई २१ खर्ब २४ अर्ब ९१ करोड पुगेको छ । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै, अर्थात् १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, बजार पुँजीकरण पनि ३१.०५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१ को असार मसान्तमा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेकोमा २०८२ असार मसान्तसम्ममा उक्त पुँजीकरण बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो ।
नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सूचीकृत कम्पनी संख्या २७२ पुगेको छ । मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने ४ नयाँ कम्पनी प्रथम सार्वजनिक निष्कासनमार्फत सूचीकृत भएका छन् ।
उक्त आर्थिक वर्षमा प्रथम निष्कासनमार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनबाट ११ लाख २० हजार कित्ता सेयर, सरकार तथा स्थानीय तहलाई वितरण गरिएका ४ करोड ३२ लाख ५८ हजार कित्ता सेयर, सामुहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।