काठमाडौं । जेनजी पुस्ताको उग्र प्रदर्शनका कारण ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी बाहिरिएका छन् । प्रदर्शन तीव्र बनेपछि रास्वपा सभापति रवि लामिछानेसहित कैदीहरू कारागारबाट बाहिरिएका हुन् ।
कारागारबाहिर प्रदर्शनकारीको ठूलो भिड पुग्दा प्रशासन निरीह बनेको थियो । त्यसपछि कैदीहरूले कारागार छाडेका हुन् । ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार हाल नख्खु कारागार पूर्ण रूपमा खाली भएको छ । “अहिले कारागारभित्र एक जना पनि कैदी छैनन्,” उनले बताए ।
सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार थप अराजक बनेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म २० भन्दा बढीको मृत्यु भइसकेको छ ।
जेनजी आन्दोलनकारीले राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका उच्च कार्यालयहरूमा आगजनी गरेका छन् । सरकारी संरचनाहरू ध्वस्त भएका छन् ।
यसैबीच, देशको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा गरिसकेका छन् ।