काठमाडौं । सवारी चालक अनुमति पत्र अब सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिने भएको छ। यस सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना र विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन्। अब सुरक्षण मुद्रण केन्द्रले क्युआर कोडसहितका विभिन्न सुरक्षा विशेषता भएका सवारी चालक अनुमति पत्र छपाइ गर्नेछ।
समझदारी अनुसार पहिलो चरणको छपाइ आगामी असार मसान्तसम्ममा सम्पन्न गरी विभागलाई हस्तान्तरण गरिनेछ। सवारी अनुमति पत्र छपाइमा पारदर्शिता र चुस्तता ल्याउन सुरक्षण मुद्रण केन्द्रसँग सहकार्य गरिएको हो।
यसअघि विकल्प खोज्ने क्रममा दुवै मन्त्रालयका सचिव र मन्त्रीबीच छलफल भएको थियो। यातायात मन्त्री देवेन्द्र दाहाल र सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा छलफलपछि सहकार्यको निर्णय भएको हो।
यसैबीच, तत्काल अनुमति पत्र नपाएका सेवाग्राहीका लागि नागरिक एपमा डिजिटल अनुमति पत्रको व्यवस्था गरिएको छ। ट्राफिक प्रहरीले अब सोही एपमार्फत नियमन तथा जरिवाना संकलनको काम गरिरहेको छ।